मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिकटकबाट म्युजिक भिडियोमा उदाएका अनुहारहरू !

टिकटकबाट म्युजिक भिडियोमा उदाएका अनुहारहरू !


काठमाडौं । नेपालमा पछिल्लो समय टिकटक प्रयोगकर्ता बढेका छन् । हरेक क्षेत्रका व्यक्तिमाझ टिकटक लोकप्रिय छ । आमसर्वसाधारण, खेलाडी, कलाकार, राजनीतिज्ञलगायतको यसमा उपस्थिति छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली भित्रिएसँगै चर्चा थप चुलिएको छ ।

सुरक्षाको कारण देखाएर विभिन्न देशहरूले लोकप्रिय चिनियाँ एप टिकटकमा प्रतिबन्ध लगाएका छन् । नेपालमा भने यसको प्रयोग अझ व्यापक भइरहेको छ ।

यसले अवसरको ढोका खोलिदिएका थुप्रै उदाहरण छन् । केही टिकटक प्रयोगकर्ताले म्युजिक भिडियोमा ‘ब्रेक’ पाएका छन् । टिकटकमा १४/१५ सेकेन्डको भिडियो राख्दा पाएको चर्चाले नै अवसरको ढोका खुलेको हो ।

पिन्सी र प्रिज्मा
‘ट्‌विनी गर्ल्स’ नामबाट टिकटकमा लाखौं फलोअर्स कमाएका जुम्ल्याहा दिदीबहिनी जोडी हुन्, प्रिन्सी र प्रिज्मा । यो एपमा भित्रिएको छोटो समयमै उनीहरू धेरै फलोअर्स र लाइक पाउने प्रयोगकर्ता बने ।

उनीहरूको चर्चा टिकटकमा मात्रै सीमित भएन । नेपाली म्युजिक भिडियोमा पनि उनीहरू छाउन थालेका छन् । यी जुम्ल्याहा दिदीबहिनी टिकटकमा जस्तै म्युजिक भिडियोमा पनि सँगै नै देखिन्छन् । ‘ट्‌विनी गर्ल्स’लाई टिकटकमा हालसम्म ६६ लाखले पछ्याएका छन् । पाँच करोड ८० लाख बढीको लाइक छ ।

उनीहरूले एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । जसमध्ये गायक प्रमोद खरेलको ‘झुमा झुमा’, शिशिर भण्डारीको ‘हाम्रो माया जिन्दावाद’, सागर लम्सालको ‘बाजा बजाउँदै’ र अनिता चलाउनेको ‘यस्तो बनोस् मेरो तिज’लगायत छन् ।

दीपा-दमन्ता
अर्का जुम्ल्याहा दिदीबहिनी दीपा र दमन्ता पनि टिकटकबाटै उदाएका स्टार हुन् । उनीहरू टिकटकमा ‘दीपादमन्ता’ नामबाटै चर्चित छन् ।

टिकटकबाट पाएको लोकप्रियताकै कारण हालै यी दिदीबहिनी नेपालको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टारर्स नेपाल’को पहिलो संस्करणमा छानिएका थिए । भलै, उनीहरू शोको अन्तिम राउन्डसम्म पुग्न सकेनन् । उनीहरूलाई यस शोमा पनि उत्तिकै रुचाइएको थियो ।

म्युजिक भिडियोको हकमा भने ‘अमिलो निम्बु’ र ‘दिल खोलेर भन’ बोलको गरी एकाध गीतमा मात्रै उनीहरू देखिएका छन् । यी जुम्ल्याहा दिदीबहिनीको टिकटक फलोअर्स हालसम्म २५ लाख छन् । चार करोड १८ लाखले लाइक गरेका छन् ।

सुधीर श्रेष्ठ
टिकटकको अर्का चर्चित प्रयोगकर्ता हुन्, सुधीर श्रेष्ठ । श्रीमती रोशनी श्रेष्ठसँगको सहकार्यमा दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठका चलचित्रका गीतमा छोटो प्रस्तुति दिएर उनी चर्चित बनेका हुन् ।

टिकटकको छोटो नृत्य र अभिनयले सुधीरलाई म्युजिक भिडियोमा अवसर मिल्यो । सुधीरले अभिनय गरेका चर्चित म्युजिक भिडियोमा वसन्त सापकोटा र रचना रिमालको ‘सुनन पियारी’, एलिना चौहान र सुवास पुरीको ‘कुरा काट्ने मान्छेले’ छन् ।

उनलाई पाँच लाख ११ हजारले बढीले फलो गरेका छन् । टिकटकमा लाइक भने तीन करोड २३ लाखले गरेका छन् ।

रेश्मा घिमिरे
‘टिकटक क्‍विन’का नामले परिचित रेश्मा घिमिरे पनि म्युजिक भिडियोमा छलाङ मारेकी टिकटक स्टार हुन् । विशेषगरी उनको हाउभाउका कारण उनलाई फलो गर्नेको संख्या धेरै छ ।

सम्भवतः म्युजिक भिडियोमा आएकी उनी पहिलो टिकटक स्टार हुन् । पछिल्लो समय भने म्युजिक भिडियोमा देखिन छाडेकी छिन् ।

कालीप्रसाद बास्कोटाको गीत ‘इन्स्टाको फोटो’बाट म्युजिक भिडियोमा फिर्चड भएकी रेश्माले ‘कल्लाई थाहा छैन’, ‘छमछम पाउजु’, ‘निदाउँ के सपनीमा’, ‘धुतुरी धुतुरी बाजा बजाई’लगायतमा अभिनय गरेकी छिन् ।

टिकटकमा उनलाई १२ लाखले पछ्याएका छन् । उनको जम्मा लाइक दुई करोड ८४ लाख छ ।

मन्जिल बस्‍नेत
म्युजिक भिडियोमा अवसर पाएका कमै पुरुष टिकटक स्टारमध्ये मन्जिल बस्नेतको नाम पनि आउँछ । गोरो वर्ण र मीठो हाँसोका साथ अनुहारको हाउभाउले मन्जिलले टिकटकमा थुप्रै फिमेल फ्यानहरू कमाएका छन् ।

मन्जिल नामबाट टिकटकमा सक्रिय उनलाई दुई लाख ६३ हजार बढीले पछ्याएका छन् । ६ हजार ३०० ले लाइक गरेका छन् ।

टिकटकबाट आम्दानी
टिकटक सन् २०१६ मा सुरु भएको म्युजिकल्ली नामको एपको विस्तारित फर्म हो । यो नेपालमा मात्रै नभई अन्य मुलुकमा पनि त्यत्तिकै लोकप्रिय छ ।

सुरुवातमा युवावर्ग माझ मात्रै परिचित यो एप अहिले विभिन्‍न उमेर समूहका सामाजिक सन्जाल प्रयोगकर्ताहरूबीच पनि चर्चित छ । टिकटक प्रयोगकर्ताहरू टिकटकमा बनाएका आफ्ना भिडियोहरू फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सन्जालमा पनि सेयर गर्ने गर्छन् ।

पहिले नै भएको भिडियोमा ‘लिप सिङ’ मात्रै गर्नुपर्ने सुविधाका कारण पनि यसमा प्रयोगकर्ताहरू आकर्षित भएका हुन् । स्पेसल इफेक्ट्स र फिल्टर पनि यसको विशेष फिचर हो । सन् २०१९ को एक अध्ययनानुसार विभिन्न माध्यममार्फत यो एप ७३८ मिलियनपटक डाउनलोड गरिएको थियो ।

विगत केही महिनायता अमेरिका, बेलायत, स्पेन, फ्रान्स, जर्मनी र इटालीमा रहेका टिकटक प्रयोगकर्ताहरूलाई टिकटकले पैसा दिन थालेको छ । यसका लागि प्रयोगकर्ता १८ वर्षभन्दा माथिको हुनुपर्नेछ । साथै, उसलाई १० हजारले पछ्याएको हुनुपर्नेछ र एक महिनाभित्र हालेको उसको भिडियो १० हजारले हेरेको हुनुपर्नेछ । टिकटक अकाउन्ट टिकटक क्रियटर अकाउन्टका रुपमा स्वीकृत भएको पनि हुनुपर्नेछ ।

नेपालमा भएका प्रयोगकर्ताहरूलाई भने यो सुविधाको व्यवस्था भइसकेको छैन । तर, टिकटकमा लाइभ आएबापत भ्युअर्सहरूले स्वेच्छाले पठाएको (क्‍वाइन) का आधारमा भने केहीले थोरै आम्दानी गरेका छन् ।