- बीपी कोइराला
हामीहरु आठ वर्षसम्म हिन्दुस्तानमा बसेर अब छिट्टै नेपाल फर्कन लागेका छौं। यो निर्णय लिनुभन्दा पहिले धेरै साथीहरुसँग छलफल गरिएको थियो। काठमाडौंबाट आएका हुन् वा सुदूरपश्चिमबाट आएका हुन्, मुलुकभित्र रहेका तरुण, हाम्रा पुराना साथीहरु, अनेक प्रमुख साथीहरुसँग छलफल गरेर यो निर्णय लिइयो।
साँच्चै भनौं भने हामी नेपाली कांग्रेसका साथीहरूले, सदस्यहरुले जस्तो परिस्थितिमा काम गर्नुपरेको छ, त्यस परिस्थितिमा योभन्दा बढी विचारविमर्श र गर्ने अरु कुनै उपाय थिएन। हामीहरू कुनै सम्मेलनमा एकत्रित भएर यो निर्णय लिन पनि सक्दैनथ्यौं।
तर मैले मेरो राजनीतिक जीवनमा यस निर्णयलाई जति महत्त्व दिएँ त्यति नै महत्त्व साथीहरूको विचार जान्नका लागि पनि दिएँ। विचारको आदानप्रदान भयो र मैले साथीहरुका बीचबाट म स्वदेश जानुपर्छ भन्ने पक्षमा एउटा सहमति पाएँ।
त्यसमा सक्रिय कार्यकर्ताहरूको एउटै मत थियो। केही साथीहरुले चाहिँ स्वदेश जाँदा मलाई व्यक्तिगत खतरा हुन सक्छ भन्ने सोचे। तर अधिकांश साथीहरूको मनमा यो निर्णय निक्कै सामयिक हो, धेरै उचित र कान्तिकारी हो।
अब प्रश्न उठ्छ मैले जुन साथीहरुलाई भेटेर परिस्थिति अवगत गराएँ, विचारविमर्श भयो। आफ्नो दृष्टिकोण स्पष्ट पारें। उनीहरुलाई त यस सम्बन्धमा कुनै शंका वा दुविधा नहोला तर धेरै साथीहरु र मेरा देशवासीहरु जोसँग विचारविमर्श गर्ने मौका मिलेन उनीहरूको मनमा लाग्न सक्छ हामीले फेरि नेपाल फर्कने निर्णय किन लियौं?
त्यसको जवाफ दिनुभन्दा पहिले हामी आजभन्दा आठ वर्ष पहिले किन हिन्दुस्तान आयौं? हिन्दुस्तान आउने कारण के थियो भन्ने प्रश्नको पनि जवाफ दिनुपर्छ। त्यसबखत हामी हिन्दुस्तान आउनुका तीनचारवटा कारण थिए।
१. हामीहरु यहाँ शरणार्थी भएर आएका थिएनौं। भगौडा भएर, देशको शासनदेखि डराएर सरकारको यन्त्रणाबाट भागेर पनि आएका थिएनौं। हामीहरु यहाँ राजनीतिक काम गर्न भनेर आयौँ। हामी क्रन्तिकारी हौं। त्यहाँ नेपालको व्यवस्थाविरुद्ध के काम गर्न सकिन्छ भन्ने विचार गर्दा हामीलाई के लाग्यो भने ‘नेपालभित्र त भूमिगत आन्दोलन छँदै छ, हाम्रो संस्था बनाउने काम पनि भइरहेको छ, निर्णय गर्नु पर्ने काम बाँकी छ ।’
त्यसका लागि हामीलाई सुरक्षित स्थानमा एउटा हेडक्वार्टर चाहिएको थियो। त्यसैले नेपालभित्र भइरहेको भूमिगत कार्यक्रमलाई समन्वय गर्न र अर्को युनिटसम्म सम्बन्ध स्थापित गराउन, सबैमा एउटा सामूहिक विचार पुर्याउन र छलफलको माध्यम बन्न एउटा सानो सेन्टर भन्नुहोस् वा हेडक्वार्टर भन्नुहोस्, त्यसको आवश्यक थियो। त्यो सधैँभरि प्रहरीको नजरमा रहेर सम्भव थिएन। त्यसो हुँदा जस्तोसुकै भूमिगत रुपमा रहेर काम गरे पनि त्यो सम्भव नभएको हुनाले देशबाहिर आउनुपर्यो।
२.बाहिर आउँदा कुन ठाउँ उपयुक्त हुन्थ्यो? मध्य लन्डनमा गएर त त्यो काम गर्न सम्भव थिएन। भौगोलिक दृष्टिबाट सबैभन्दा नजिक हिन्दुस्तान वा तिब्बत छ। तर तिब्बतमा त्यसो गर्न सम्भव छैन। त्यसो हुनाले हिन्दुस्तान र नेपालमा आवतजावत गर्न सजिलो छ र कुनै पनि नेपाली हिन्दुस्तान आउन जान सक्ने, त्यसका लागि राहदानी आवश्यक नपर्ने र यहाँको राजनीतिक वातावरण पनि प्रजातान्त्रिक भएकाले हामीहरुलाई हिन्दुस्तानमा सुविधा थियो। हिन्दुस्तानको संविधान, संसद् र स्वतन्त्र प्रेसले गर्दा मलाई काम गर्न यहाँ एउटा पृष्ठभूमि उपलब्ध थियो। त्यहाँ प्रजातान्त्रिक प्रणाली नभएको हुँदा र हामीहरु पनि आफ्नो मुलुकमा प्रजातन्त्र र प्रजातान्त्रिक अधिकारहरुका निम्ति लड्ने भएको हुनाले यहाँको वातावरण हाम्रो निम्ति उपयुक्त थियो।
३. त्यसबाहेक मलाई त्यहाँ रहँदा अन्तर्राष्ट्रिय सम्बन्धहरु राख्न सक्ने तेस्रो सुविधान पनि थियो। दिल्ली वा बनारसमा बसेर म बाहिरका प्रेसहरु, बाहिरका राजनीतिक समर्थक, प्रजातान्त्रिक पक्षका अन्तर्राष्ट्रिय समर्थकहरुसँग सम्बन्ध राख्न सक्थेँ । तिनीहलाई आफ्नो दृष्टिकोण भन्न सक्थेँ । हिन्दुस्तानको प्रजातान्त्रिक वातावरणले गर्दा एउटा मुख्य कुरा के थियो भने सरकार पक्षले हामीलाई मद्दत नगरे पनि हिन्दुस्तानको संसद्का विभिन्न पार्टीहरु वा बाहिरका मानिसबाट हामीलाई सहानुभूति वा सहयोग प्राप्त हुन सक्थ्यो। हिन्दुस्तानको सरकारले हामीलाई मद्दत गर्न गाह्रो पथ्र्यो । यहाँको सरकार त राजालाई नै खुसी पार्ने प्रयत्नमा थियो। नेपालमा एउटा ठूलो प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्नुको साटो एउटा व्यक्तिलाई आफ्नो खल्तीमा राख्न पाए सजिलो हुन्छ भन्ने उनीहरुको विचार थियो। हिन्दुस्तान सरकारको यस्तो नीति भएकाले मद्दत थिएन।
४. चौथो, कारणलाई मेरो व्यक्तिगत कारण भन्नुपर्छ । हिन्दुस्तानको स्वाधीनताको लडाइँमा मेरो निक्कै योगदान थियो । किनभने म केटाकेटीमै स्कुल पढ्दादेखि नै हिन्दुस्तानको स्वाधीनताको लडाइँमा धेरैचोटि जेल गएँ। मैले धेरै किसिमको यातना सहेँ। त्यसले गर्दा एउटा ठलो समुदाय मेरो मित्र वर्ग बनेको थियो। हिन्दुस्तान स्वाधीन हुनुअघि बनेका मेरा मित्रबाट समेत मलाई सहयोग मिल्ला भनेर हामी यहाँ आएका थियौँ ।
यसरी यी चारवटा कारण, भौगोलिक कारण, यहाँको प्रजातान्त्रिक वातावरणको कारण, म अन्तर्राष्ट्रिय सम्बन्ध राख्न सक्छु भन्ने कारण र मेरो व्यक्तिगत कारणले हामी हिन्दुस्तान आएका थियौँं । अब हामीहरु फर्कनुको मुख्य कारणचाहिँ एउटै छ। त्यो मुख्य कारण के हो भने नेपालमा पनि नयाँ घटनाहरु हुन थालिरहेका छन्। यो कुरा मैले आजदेखि होइन, बनारसमा बसेका साथीहरुलाइै एक वर्षअघिदेखि सधैँ भन्दै आएको छु।
हामा लागि, हाम्रो जीवनका लागि, राष्ट्रिय अस्तित्वका लागि नेपाल राष्ट्रको अस्तित्वका लागि, नेपाल राष्ट्रका लागि सन् ७६ को अन्तिम भाग र ७७ धेरै महत्त्वपूर्ण समय हुन्छ भन्ने चेतावनी मैले उनीहरुलाई दिइरहेको छु । त्यसमा हामीले बडो चनाखो भएर राजनीति गर्नुपर्छ।
मैले जे भनेको थिएँ त्यो त एउटा भविष्यवाणी गरेको जस्तो भयो। त्यो कुरा भन्ने अहिले मौका छैन, तपाईंहरुसँग एकसाथ बसेर छलफल हुन सक्यो भने पछि भनौंला। एउटा संकट आउँछ भन्ने मैले ठानेको थिएँ। र, यो संकट केवल नेपालको निम्ति मात्र आउँछ भनेको थिइनँ। एकडेढ वर्ष भयो, यो संकट भारतीय उपमहादीप भनिने पूरै दक्षिण एसियामा आएको छ।
अब यस क्षेत्रमा कुनै स्थिरता छैन, कुनै पक्षमा पनि स्थिरता छैन। त्यसो हुँदा यहाँ कुनै न कुनै किसिमको भूकम्प गइरहन्छ। बंगलादेशमा मुजिबर रहमान सत्तामा हुँदै कनै न कुनै किसिमको उथलपुथल हुन्छ भनेर मैले ६ महिना पहिले नै भनेको थिएँ।
गोरखपुरमा सिक्किमको विषयमा मेरो एउटा निकै विवादग्रस्त प्रेस सम्मेलन भएको थियो नि। तपाईंहरुलाई थाहा होला। त्यस प्रेस सम्मेलनमा र त्यहाँका दुई तीन वटा ठाउँमा मैले सम्बोध गरेँ। एक डेढ वर्ष वा दुई वर्ष पहिलेको कुरा हो, उनीहरूको रोटरी क्लबलाई मैले सम्बोधन गरें। त्यहाँका पत्रकारलाई पनि सम्बोधन गरेको थिएँ।
त्यसबेला निकै विवाद उत्पन्न भयो। मलाई हिन्दुस्तानी पत्रकारले आक्रमण गरे। नेपालभित्रका केही व्यक्तिहरुले पनि आक्रमण गरे। तर एउटा हिन्दुस्तानी पत्रकारले मलाई प्रश्न गरेका थिए, ‘सिक्किमका बारेमा तपाईं के भन्नुहुन्छ?’
त्यसको जवाफमा मैले भनें, ‘हिन्दुस्तानले त्यो कारबाही किन गर्नुपर्यो भन्ने म बुझ्दिनँ किनभने सिक्किममा पूरा हिन्दुस्तानी पल्टनै थियो। सिक्किमको जनसंख्या एक लाख तीस हजार छ। त्यति त हिन्दुस्तानी पल्टन नै त्यहाँ थियो। त्यसैले यहाँ त्यस्तो कारबाही किन गर्नुपर्यो भन्ने मैले बुझिनँ। हुन सक्छ कुनै कारण पर्यो होला या अरु कुनै हिन्दुस्तान विरोधी तत्त्वले कुनै कारबाही गरे होलान्। त्यसको सामना गर्न हिन्दुस्तानले त्यो कारबाही गर्नुपर्यो होला। तर हिन्दुस्तान विरोधी तत्त्व अब झन् चुप लागेर बस्दैनन्। बंगलादेशमा वा कुनै न कुनै ठाउँमा तिनीहरुले पनि कारबाही गर्छन्।’
म के भन्न खोज्दै थिएँ भने हिन्दुस्तानले सिक्किममा त्यो कारबाही गरेर नेपालमा, बंगलादेशमा, यो पूरै क्षेत्रमा अस्थिरताको स्थिति उत्पन्न गर्यो। त्यसको केही दिनपछि बंगलादेशमा कु भयो। यो त भविष्यवाणी गरेको जस्तो भयो। मानिसहरु छक्क परे। मेरो भन्नुको तात्पर्य दक्षिण एसिया भनिने सम्पूर्ण क्षेत्रमा अस्थिरताको वातावरण छाएको छ भन्ने हो।
एउटा अर्को कुरो पनि तपाईंलाई भन्न चाहन्छु। भियतनामबाट अमेरिकीहरुले पछि हटेपछि अब के हुन्छ भन्ने प्रश्न उठेको थियो। हिन्दुस्तानका ठूलाठूला दिग्गज राजनीतिज्ञ र मेरा अन्तर्राष्ट्रिय साथीहरुलाई मैले अब यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अर्थात् रुस र अमेरिका बीचको प्रतिस्पर्धा दक्षिण एसिया वा भारतीय उपमहाद्वीपमा हुन्छ भनेको थिएँ।
मेरो कुरामा कसैले ध्यान दिएनन्। तपाईंहरुले पढ्नुभयो होला नि दुई चार महिना पहिले भएको कोलम्बो सम्मेलनमा महाराजधिराजबाट नेपालको प्रतिनिधित्व भएको थियो। त्यस सम्मेलनमा उनीहरुले पनि यो कुरा उल्लेख गरेका छन्। उनीहरुले भनेका छन्, ‘भियतनामबाट अमेरिकीहरु हटिसकेपछि अब अन्तर्राष्ट्रिय संघर्षको अखडा यो भूभाग भइरहेको छ, यो दक्षिण एसिया भइरहेको छ।’
मलाई लाग्छ, म एक डेढ वर्षदेखि भविष्यवाणी गरिरहेको छु। बंगलादेशमा के हुन्छ भनेको थिएँ त्यो पूरा भयो। यो भूभाग अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अखडा हुन्छ भनेर त्यसभन्दा पहिले नै मैले भनेको थिएँ। डेढ वर्षपछि आएर मैले भनेकी कुरालाई आफ्नो कोलम्बो सम्मेलनको अभिलेखमा उनीहरुले समावेश गरेका छन्।
सम्पूर्ण भूभागमा अस्थिरताको वातावरण छाएको छ भन्नुको तात्पर्य यही हो। अब अस्थिरताको विषयमा जहाँसम्म बंगलादेशको कुरा छ त्यो त मैले भनिरहनु पर्दैन। सैनिक विद्रोह भयो फेरि अर्को कु भयो। यो कु दोहोरिइरहेको छ। एउटा राज्यव्यवस्था आउँछ, अर्कोले सरकार पल्टाउँछ। पाकिस्तानमा पनि कुनै स्थिरता छैन। अस्थिरतामाथि अस्थिरता थपिँदै छ।
हिन्दुस्तानमा लागू भएको यो संकटकाल पनि यहाँ अस्थिरता छैन भन्ने कुराको प्रमाण हो। संकटकाल भन्ने बित्तिकै नामैले नै अस्थिरता वा अस्थायित्वको प्रमाण हो। त हिन्दुस्तानमा पनि त्यस्तै भइरहेको छ। नेपालमा त झन् अस्थिरता छ। त्यहाँ न राजनीतिक स्थिरता छ, न आार्थिक स्थिरता छ न अरु कुनै क्षेत्रमा स्थिरता छ।
यो सम्पूर्ण क्षेत्रमा ठूलो अस्थिरताको वातावरण छ। हाम्रो देश यही भूभागमा परेको छ। अस्थिरताको यस समयमा यस क्षेत्रका हिन्दुस्तान, पाकिस्तान, बंगलादेश, सिक्किम त हिन्दुस्तानमा मिलिहाल्यो, भुटान, नेपाल, सिलोन जस्ता देशको आपसी सम्बन्ध निश्चित भइसकेको छैन।
हिन्दुस्तान र नेपालको सम्बन्ध, हिन्दुस्तान र पाकिस्तानको सम्बन्ध, हिन्दुस्तान र बंगलादेशको सम्बन्धमा कुनै गहिरो डोब बनिसकेको छैन, एउटा आधिकारिक सम्बन्ध बनेको छैन। बलियो भयो भने थिचिदिने, कमजोर भयो भने पछि हट्ने किसिमको व्यवहार भइरहेको छ। कुनै स्वीकृत नियम र सम्बन्धको स्थापना भएको छैन। यसकारण पनि अस्थिरता बढिरहेको छ।
अब यी सब कुरा छोडौं, नेपालको कुरा गरौं भन्नुहुन्छ भने हिन्दुस्तान र नेपालमा ठूलो द्वन्द्व चलिरहेछ। यसबेला हिन्दुस्तान र नेपालबीच ठूलो कटुता उत्पन्न हुनु नै राजाको सबैभन्दा ठूलो कूटनीतिक असफलता भएको छ। राजाबाट भनिन्छ, हिन्दुस्तानबाट हामीलाई खतरा छ, हामीलाई यसो यसो गर्यो।
हिन्दुस्तान चाहिँ हामी नेपालीहरुलाई दुःख दिन थालिरहेकोको छ। हामीलाई आर्थिक नाकाबन्दी गर्न थालिरहेको छ। अरु अरु किसिमबाट पनि दुःख दिइरहेको छ। हाम्रो राहदानी जारी गर्न थालिरहेको छ। यो केवल शाब्दिक मतभेद मात्रै नभएर, हिन्दुस्तान त कारबाहीमै उत्रिन थालिरहेको छ। यसले गर्दा अस्थिरता झन् उपस्थित भइरहेको छ। राजाले गर्न खोजिरहेको काम गर्न हिन्दुस्तानले दिँदैन, हिन्दुस्तानले गर्न खोजिरहेको काम हाम्रा राजाले रोक्न खोज्छन्।
नेपाल र भारतबीच यस किसिमबाट एउटा ठूलो चेपाचेप चलेको छ। त्यसो हुँदा नेपालमा एउटा नयाँ शक्ति सम्बन्ध विकसित हुँदै छ। त्यति मात्र होइन नेपाल कमजोर भएको हुनाले नेपाल सबै अन्तर्राष्ट्रिय षड्यन्त्र र दबाबको अखडा भइरहेको छ। हिन्दुस्तानमा भन्छन्, ‘कमजोर स्वास्नी सबैकी भाउजू।’ यसको अर्थ हिन्दुस्तानमा भाउजूहरुसँग ठट्टा गर्न सकिन्छ, अलिकति यताउति गर्न सकिन्छ। त्यस्तै नेपाल कमजोर भएको हुनाले यसलाई यसै गर्छन् कि गर्दैनन्।
नेपालमा कस्तो स्थिति छ भने को नेपाली हो, देशभक्त नागरिक हो भन्ने जान्न सकिएको छैन। कोही चीनवादी होला। अब तपाईंहरु नै विचार गर्नुहोस्, म स्वदेश जाने कुरामा चीनवादी खुसी छन् रे। भारतवादी खुसी छैनन् रे। एउटा चीनवादीले त केसम्म भन्यो भने ‘भारत विरुद्ध बोल्छौ भने हामीहरु सहयोग गर्छौं। भारतका सम्बन्धमा तटस्थ रहन्छौ भने हामी पनि तटस्थ रहन्छौं र भारतको समर्थन गर्छौ भने हामीहरु पनि विरोध गर्छौं।’
अर्थात् उनीहरू म स्वदेश जाने कुरालाई नेपालका सम्बन्धमा विचार गर्दैनन्। चीन र भारतको संघर्षमा मेरो कस्तो भूमिका हुन्छ सोच्छन्। एउटा राजावादीले त केसम्म भनेछ भने ‘भारतलाई खुबसँग गाली गर्छ भने हामी ऊ स्वदेश आउने कुराको समर्थन गर्छौं गर्दैन भने गर्दैनौं।’ मानौं, नेपालीहरु सबै जना अमेरिका वा चीन वा भारतको दलाल जस्तो भइरहेका छन्। हाम्रो यस्तो अवस्था छ।
सबैभन्दा मुख्य कुरो हिन्दुस्तान र नेपालमा जुन किसिमको राजनीतिक घटनाक्रम विकास भइरहेको छ। त्यसमा हामीहरु हिन्दुस्तानमा बसेर अब काम लागेन। त्योभन्दा पनि मुख्य कुरो नेपालमा जुन एउटा राष्ट्रिय सङ्कट उपस्थित भएको छ, त्यहाँ जुन एउटा घटना भइरहेको छ, यसबेला राजाको आत्मविश्वास जसरी घट्दै गएको छ। राजाले मलाई मारी दिनसक्छन्, सबैलाई जे पनि गरिदिन सक्छन्।
तर राजाले हिन्दुस्तानसँग मुकाबला गरेर यो काम सम्भव हुन सक्दैन। हिन्दुस्तान अब कारबाहीमा उत्रिएको हुनाले राजाको आत्मविश्वास कम भयो। जतिजति राजाको आत्मविश्वास कम भयो चीनका लागि पनि राजाको उपाधि यता उतिउति कम भयो। त्यसो हुँदा राजालाई चीनको पनि उत्तिको समर्थन हुन सक्दैन। अन्तर्राष्ट्रिय कारणले भन्नुहोस् या राष्ट्रिय कारणले भन्नुहोस् प्रजातन्त्रवादीहरुलाई अहिले एउटा ठूलो मौका उपलब्ध भएको छ। त्यो मौकालाई हामीले गुम्न दिनुहुँदैन यसो भनेर हामीले यो निर्णय गरेका हौं।
(बीपी कोइराला भारत निर्वासनको आठ वर्षपछि २०३३ पुस १६ गते नेपाल फर्किएका थिए। यो सामग्री प्रदीप गिरी, विश्वेश्वरप्रसाद कोइराला, राजनीतिक अभिलेखबाट साभार गरिएकाे हाे।)
प्रतिक्रिया