मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म नाङ्गै छु

म नाङ्गै छु


शुलभराज बराल


तिनीहरू फेरि आउँछन् 
देशभक्तिको नारा लगाउँछन् 
आकासमा उडी हिँड्ने पन्छी भगाउँछन् 
आकाशवाणी जसरी हराउँछन् 
तिनीहरू फेरि आउँछन् 
हामीलाई बन्दुक बोकाउँछन् 
सूर्य र चन्द्रमाको हत्या गर्न लगाउँछन् 
क्रान्तिको वनभोज खुवाउँछन् 
क्रान्ति र शान्तिको वाचा जो गराउँछन् 
तर तिनीहरू फेरि आउँछन् 
कालो कोट लगाउँछन् 
कालो अक्षर कालोपाटीमा लेखाउँछन् 
हाम्रो मन कालो बनाउँछन् 
सडकमा कालोपत्रे खन्याउँछन् 
नयाँ मार्ग बनाएर देखाउँछन् 
तर तिनीहरू फेरि आउँछन् 
हामीलाई मात्ने चिज खुवाउँछन् 
भविष्यको प्याला पिलाउँछन् 
र छन्दक बनाउँछन् 
हामीलाई वारि छाडी 
तिनीहरू नदीपारि जान्छन् 
तर तिनीहरू फेरि आउँछन् 
हामीलाई किर्तनमा बोलाउँछन् 
परलोकको साक्षात्कार गराउँछन् 
धर्मलाई कबाबजसरी सेकाउँछन् 
नयाँ शिलालेखमा हाम्रो नयाँ नाउँ लेखाउँछन् 
हाम्रो नाउँ रामेश्वोर थियो 
अहिले हाम्रो नाम एस्थर हो 
परमेश्वरले दिएको नयाँ नाउँ 
हाम्रो गाउँलाई कछाडिया गाउँ भन्थे 
अचेल परमेश्वरको गाउँ भन्दछन् 
तिनीहरू फेरि आउँछन्
हामीलाइ होली वाइन पिलाउँछन् 
कठपुतली जसरी हामीलाई हिलाउँछन् 
हाम्रो नजन्मिएका सन्तानलाई
नयाँ नाँच नचाउँछन् 
तिनीहरू फेरि आउँछन् 
हाम्रा सम्बन्धहरू भाँचिदिन्छन् 
हाम्रो विधान च्यातिदिन्छन्
हामीलाई सच्याउँछन् 
हाम्रो घाँटी अँठ्याउँछन्
हाम्रो धोती र कमिज माग्छन् 
हाम्रो धोती र कमिज पट्याउँछन्
उनीहरूको दराजभित्र चाबी लगाएर राख्छन् 
र हामीलाई कोट–पाइन्ट र टाई झिकेर दिन्छन् 
मलाई यो कपडा लाउन आउँदैन 
नाङ्गो बस्न पनि लाज लाग्छ
तिनीहरू फेरि आउनचाहिँ आउँछन् 
तिनीहरू नआउँदै 
कोही एक सरो दौरा–सुरुवाल लिएर आए नि हुने 
म नाङ्गै छु, म नाङ्गै छु, म नाङ्गै छु, म नाङ्गै छु !