मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० नायिका : टिकटकमा कसको कस्तो उपस्थिति ?

१० नायिका : टिकटकमा कसको कस्तो उपस्थिति ?


म्युजिकल्ली नामक एपको विस्तारित फर्म टिकटकको लोकप्रियता दिन दुई गुणा र रात चौगुना जसरी बढिरहेको छ । एपमा उपलब्ध भिडियोमा ‘लिपसिङ’ मात्रै गरे पुग्ने र नयाँ–नयाँ फिल्टर तथा स्पेसल इफेक्टले यसको लोकप्रियतालाई अझै बढाएको हो ।

टिकटकमा १५ सेकेन्डदेखि एक मिनेटको भिडियो बनाएर म्युजिक भिडियोको पर्दामा देखिएका अनुहारहरूमा त यो एप लोकप्रिय छ नै । चलचित्रको पर्दामा जमेका दर्शकका प्रिय कलाकारहरू पनि यसमा उत्तिकै आकर्षित छन् ।

आफ्नो चलचित्रको प्रोमोसनमा जाँदा होस् वा आफ्नो गीत र जीवनसाथीसँग कतै घुम्न जाँदा होस् अथवा पारिवारिक जमघट नै किन नहोस्। उनीहरू ती क्षणलाई टिकटक भिडियोमा कैद गरिहाल्छन् । टिकटकमा सक्रिय नेपाली १० अभिनेत्रीहरू क्रमशः फलोअर्सका आधारमा ।

वर्षा राउत
अभिनेत्री वर्षा राउत टिकटकमा जति सक्रिय छिन्, उनको फलोअर्स पनि त्यही मात्रामा छन् । हाल उनलाई नौ लाख ३९ हजारभन्दा धेरैले पछ्याएका छन् । नेपाली अभिनेत्रीहरूमध्ये उनी सबैभन्दा धेरै फलोअर्स भएकी अभिनेत्री हुन् ।

अभिनेत्री वर्षाले हालसम्म २७० वटा भिडियो अपलोड गरेकी छिन् । जम्मा एक करोड ५८ लाखले लाइक गरेका छन् । वर्षाको टिकटक अकाउन्टमा परिवार, साथीभाइ, श्रीमान् सन्जोग कोइरालादेखि गीत र प्रोमोसनल भिडियोहरू देख्न सकिन्छ । वर्षाको टिकटक अकाउन्ट भेरिफाइड अकाउन्ट हो । 

आँचल शर्मा 
‘आँचलुज’ नामबाट टिकटकमा सक्रिय अभिनेत्री आँचल शर्मालाई हालसम्म छ लाख ८९ हजारभन्दा बढीले फलो गरिसकेका छन् । उनले जम्मा २६ जनालाई फलो गरेकी छिन् । चलचित्र र म्युजिक भिडियामा सक्रिय उनी टिकटकमा पनि उत्तिकै सक्रिय छिन् । आँचल शर्माको टिकटक अकाउन्ट टिकटकले भेरिफाइ गरिसकेको छ ।

२४७ वटा टिकटक भिडियो अपलोड गरिएकामा जम्मा लाइक एक करोड नौ लाखले गरेका छन् । उनको टिकटक अकाउन्ट हेर्ने हो भने पछिल्लो समय उनी अंग्रेजी गीतहरूमा बढी टिकटक बनाउन थालेकी छिन् । यस्तै, उनको संवाद र डान्सिङ नम्बरमा पनि धेरै टिकटक भिडियोहरू हेर्न सकिन्छ । विवाहपश्चात् उनी श्रीमान् उदीप श्रेष्ठसँगको भिडियो पनि अपलोड गर्छिन् । 

प्रियंका कार्की 
पाँच लाख ८४ हजारभन्दा धेरै फलोअर्स रहेको अभिनेत्री प्रियंका कार्कीको टिकटक आकाउन्टबाट भने जम्मा ३९ जनालाई फलो गरिएको छ । प्रियंकाले पोस्ट गरेका भिडियोहरूमध्ये फन्नी क्लिपहरू धेरैले मन पराएका छन् ।

उनले अहिलेसम्म १३१ वटा भिडियो पोस्ट गरेकी छिन् । जसमा उनकी आमासँग बनाएको हास्यास्पद संवादको भिडियोहरू धेरैले हेरेका छन् । उनको जम्मा भिडियोमा ८५ लाखले लाइक गरेका छन् । उनले २०१८ देखि टिकटक भिडियो बनाउन थालेकी हुन् । प्रियंकाको टिकटक अकाउन्ट पनि भेरिफाइड अकाउन्टमै पर्दछ । 

पूजा शर्मा
चञ्चले स्वभावकी अभिनेत्री पूजा शर्माको टिकटक अकाउन्टमा चार लाख ५४ हजारभन्दा बढीले फलो गरेका छन् । उनको अकाउन्टबाट भने २४ जनालाई मात्रै फलो गरिएको छ । उनले हालसम्म १५७ वटा भिडियो पोस्ट गरेकी छिन् । पूजाको टिकटक भिडियोहरू धेरैजसो उनको नयाँ म्युजिक भिडियो छायांकनको क्रमका देखिन्छन् । केही उनका चलचित्रको प्रोमोसनको पनि रहेका छन् । उनका १५७ वटा भिडियोमा जम्मा ७६ लाखले लाइक गरेका छन् । 

स्वेता खड्का     
गएको डिसेम्बरमा दोस्रो विवाह बन्धनमा बाँधिएकी अभिनेत्री स्वेता खड्का पनि अन्य अभिनेत्रीहरू जस्तै उत्तिकै टिकटकमा सक्रिय छिन् । उनको टिकटक अकाउन्टलाई दुई लाख ९७ हजारभन्दा बढीले पछ्याएका छन् भने उनले जम्मा १७४ जनालाई फलो गरेकी छिन् ।

पछिल्लो केही साताको उनको टिकटक अकाउन्टका भिडियो हेर्ने हो भने धेरैजसो उनका श्रीमान् र वैवाहिक समारोहको भिडियोहरू देख्न सकिन्छ । उनको अहिलेसम्म पोस्ट भएका भिडियोमा जम्मा ६४ लाखले लाइक गरेका छन् । 

नीता ढुंगाना 
पछिल्लो समय चलचित्रको पर्दामा त्यति नदेखिएकी अभिनेत्री नीता ढुंगाना टिकटकमा भने उत्तिकै सक्रिय छिन् । १० अभिनेत्रीहरूमध्ये नीताले सबैभन्दा धेरै भिडियो पोस्ट गरेकी छिन् । जम्मा ६९६ वटा भिडियो पोस्ट गरेकोमा लाइक भने ४५ लाखले गरेका छन् । उनलाई हालसम्म दुई लाख ८३ हजारभन्दा बढीले फलो गरेका छन् । उनले ३२१ जनालाई फलो गरेकी छिन् ।

केकी अधिकारी 
नायिका केकी अधिकारीले हालसम्म ३८ वटा भिडियो अपलोड गरेकी छिन् । उनलाई एक लाख २८ हजारले फलो गरेका छन् । उनले राखेको भिडियोबाट जम्मा चार लाख ६४ हजार लाइक पाएकी छिन् । ‘जिन्दगी जस्तो आउँछ, त्यसैगरी बाँच्नु’ भन्ने भनाइ उल्लेख गरेको उनको टिकटक अकाउन्टबाट १६ जनालाई फलो गरिएको छ । 

वर्षा सिवाकोटी 
कोरोनाले सिर्जना गरेको तनावको स्थितिमा आफ्नो कम्फोर्ट जोनबाट बाहिर निस्किेर अभिनेत्री वर्षा सिवाकोटी गएको मेदेखि टिकटक परिवारमा आवद्ध भएकी हुन् । टिकटक अकाउन्ट बनाउनुको यही कारण बताउँदै उनले पहिलो टिकटक भिडियो बनाएकी हुन् ।

सात महिनाभित्रै वर्षालाई ८७ हजारभन्दा धेरैलै फलो गरिसकेका छन् । उनले भने २१ जनालाई फलो गरेकी छिन् । हालसम्म ७७ वटा भिडियो अपलोड गरेकोमा जम्मा ११ लाख लाइक आएको छ । 

स्वस्तिमा खड्का 
चलचित्र र म्युजिक भिडियोका पर्दामा निकै सक्रिय स्वस्तिमा खड्का टिकटकमा भने पछिल्लो केही समययता मात्रै सक्रिय भएकी हुन् । उनको स्वस्तिमा खड्का अफिसियल नामक टिकटक अकाउन्टमा हालसम्म ३८ हजारभन्दा धेरैले फलो गरेका छन् । ३० वटा मात्रै भिडियो पोस्ट भएकोमा जम्मा लाइक तीन लाख ८० हजारभन्दा धेरै छ । उनको टिकटक अकाउन्ट हेर्दा श्रीमान् तथा निर्देशक÷अभिनेता निश्चल बस्नेतसँगलगायतका भिडियोहरू देख्न सकिन्छ । 

रेखा थापा
नेपाली चलचित्र जगतकी हिरोको उपमा पाएकी अभिनेत्री रेखा थापालाई ११ हजार बढीले फलो गरेका छन् । सन् २०१८ सेप्टेम्बरदेखि टिकटकमा जोडिएकी रेखाको पहिलो भिडियो उनको चलचित्र मालिकाको गीत ‘हल्का माया के माया’मा रहेको छ । हालसम्म ३८७ वटा पोस्ट भएको उनको भिडियोको जम्मा लाइक दुई लाख रहेको छ ।

सेलिब्रिटीसँगै यो एपमा आम नागरिक पनि उत्तिकै सक्रिय छन् । अन्य सामाजिक सञ्जालमा जस्तै सहजै समान पहुँचका कारण इन्टरनेट प्रयोगकर्ताहरू यसमा पनि रमाइरहेको देख्न सकिन्छ । टिकटक अकाउन्टमा लिप्सिङ र नयाँ भिडियो बनाएकै भरमा धेरैले आफूलाई आम नागरिकबीच आफ्नो चिनारी पुर्याउन सफल भइसकेका छन् । उनीहरूका फलोअर्स सेलिब्रेटीसरह नै रहेका छन् भने टिकटक सेलिब्रिटी बनेकै कारण धेरै अवसर पनि पाएका छन् । – बारह्खरी