मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर मौसम बद्ली : आज पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

देशभर मौसम बद्ली : आज पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना


काठमाण्डौ – पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको छ । धेरैजसो हिमाली जिल्लामा हिमपात भएको छ । दार्चुला, मुगु, हुम्ला, जिरीलगायतका ठाउँमा हिमपात भइरहेको मौसमविद्ले बताएका छन् । 

दार्चुलाको व्यास, अपी हिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भू-भागमा हिमपात भएको छ । यस्तै, हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिजो बिहानदेखि नै हिमपात हुँदा घरबाहिर निस्कनसमेत कठिनाइ भएको छ । 

हिमपातका कारण चिसो बढेपछि बाहिर निस्कन र दैनिक कामकाज गर्न समेत नसकेको हिल्सा सीमा सुरक्षामा खटिएका हिल्सा बीओपीका इन्चार्ज सुरज केसीले जानकारी दिनुभयो।हिमपातका कारण दार्चुलाको सञ्चार सेवा समेत बन्द भएको छ ।

घाम नलाग्दा  सौर्य उर्जाबाट सञ्चालित टावरमा ब्याट्री चार्ज हुन नपाउँदा टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । पश्चिमी वायुको प्रभावकै कारण केही ठाउँमा वर्षासमेत भएको छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै गण्डकी प्रदेशको म्याग्दीमा वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार म्याग्दीमा ७ दशमलव ४ मिलीमिटर पानी परेको छ । अन्य जिल्ला प्यूठान, दाङ, गुल्मी, काभ्रे, दोलखा, भोजपुर, उदयपुरमा पनि पानी परेको छ । 

आज पनि हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । 

यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही ठाउँमा र लुम्बिनी, वाग्मती र गण्डकी  प्रदेशका एक/दुई ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । अहिले काठमाण्डाै उपत्यकाका केही ठाउँमा फाट्टफुट्ट पानी परिरहेकाे छ । हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह छ । 

पश्चिमी वायुको प्रभाव पर्सिसम्म नै रहने मौसमविद्ले बताएका छन् । यो प्रणाली हटेपछि  देशभरकै अधिकतम र न्यूनतम तापक्रम घटी चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट जोगिन पनि मौसमविद्ले सुझाव दिएका छन् ।