मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लेखराज भट्टको आरोप – ३३ वर्ष प्रचण्डले खल्तीबाट पार्टी चलाए

लेखराज भट्टको आरोप – ३३ वर्ष प्रचण्डले खल्तीबाट पार्टी चलाए


काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवम् नेकपा ओली समूहका स्थायी कमिटी सदस्य लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले ३३ वर्ष खल्तीबाट पार्टी चलाएको बताएका छन्। 

कैलालीको धनगढीमा प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘३३ वर्ष खल्तीबाट पार्टी चलाउनुभयो। हामीलाई त अपमान, हिनताबोध कहिले भएन। हामीले असहमति त कहिले नै गरेनौं,’ उनले भने।

२६ भदौमा प्रधानमन्त्रीले सरकारको कामलाई अघि बढाउने जिम्मा र प्रचण्डलाई कार्यकारीको हैसियतले महाधिवेशनको तयारी गर्ने अधिकार दिएको भए पनि उनले त्यो अधिकार पार्टी फुटको तयारीमा लगाएको आरोप लगाए।

‘उहाँले घर भत्काउने काम गर्नुभयो। मैले गद्धारी गर्यो भन्छन्,’ उनले भने,‘अहिले हाम्रो लिगेसी भनेको नेकपाको हो। त्यसको नेतृत्व हो। म त्यही हिसाबले नेतृत्व र मूलधारमै छु।’ दुई पार्टीको एकता हुँदा र दुई अध्यक्षबीच सहमति अनुरुप दाहालले नै सहमति तोडेको उनको आरोप छ। 

‘अहिले निर्माणको समय हो। तर, उहाँ जहिले पनि ध्वंशमा लाग्नुभयो,’ उनले भने,‘१० वटा सरकार अहिलेसम्म भत्काइसक्नु भएको छ। उहाँ निर्माण गर्ने होइन, जहिले भत्काउने खेलमा लाग्नुभयो।’

सरकारले राम्रो काम गरिरहेका बेला नेताहरुमा छटपटी भएर पार्टीलाई विभाजनको तहसम्म पुर्याएको उनको भनाइ छ।  दाहालले सहिद परिवार, वेपत्ता, घाइते अपाङ्गलाई कहिले नसम्झेको उनले बताए।

‘अहिले माओवादी एक हुनुपर्छ भनिरहनुभएको छ। मोहन वैद्यलाई पार्टीबाट अपमानित गरेर फुट्न वाध्य पार्दा उहाँको लिगेसी कहाँ गएको थियो,’ उनले भने,‘हामीलाई लालगद्धार भनिँदै छ। पहिला लालगद्धार उहाँ हो। त्यसपछि हामी होउँला।’