मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड–१९ संक्रमितलाई ५ महिना छैन डर ?

कोभिड–१९ संक्रमितलाई ५ महिना छैन डर ?


रोयटर्स । कोभिड-१९ बाट संक्रमित भइसकेका मानिसले कम्तीमा पनि पाँच महिनासम्म इम्युनिटी प्राप्त गर्न सक्ने बेलायती स्वास्थ्यविद्हरुको नयाँ अनुसन्धानले देखाएको छ। तर, सँगसँगै शरीरभित्र एन्टिबडी भए पनि ती संक्रमितहरुले आफूभित्रको भाइरस अरुलाई फैलाउन सक्ने पत्ता लागेको हो ।

पब्लिक हेल्थ इंग्ल्यान्ड (पीएचई) का वैज्ञानिकहरुको प्रारम्भिक खोजका अनुसार भाइरसबाट संक्रमित भइसकेपछि कोरोनाको एन्टिबडीज हुने व्यक्तिमा पुनः संक्रमणको जोखिम अत्यन्तै कम या दुर्लभ हुने गर्छ । यसमा ६ हजार ६१४ जना पूर्वसंक्रमितको अध्ययन गर्दा ४४ मात्र त्यस्ता दुर्लभ ‘केस’ फेला पारिएको हो ।

तर, अर्कोतर्फ यही अध्ययनले सन् २०२० मा महामारीको सुरुवातमा संक्रमित भएका मानिसहरु अहिले फेरि यो रोगमाझ संवेदनशील बन्न पुगेको पनि चेतावनी दिएको छ । स्वास्थ्यविद्हरुले कोरोनाबाट संक्रमित भइसकेपछि बिरामीले प्राप्त गर्ने ‘प्राकृतिक इम्युनिटी’ का बाबजुद उनीहरुले सार्स-कोभ-२ भाइरस नाक र घाँटीमा बोकिरहेको हुने हुँदा थाहा नपाइ अरुलाई सार्न सक्ने भएकाले सबैलाई सतर्क रहन भनेका हुन् ।

पीएचईकी वरिष्ठ मेडिकल सल्लाहकार सुसन होप्किन्सले भनेकी छन्, “हामीलाई अब के थाहा भयो भने जो पहिले भाइरसबाट संक्रमित भएका थिए, उनीहरुको शरीरमा विकसित एन्डिबडीजले तिनलाई पुनः संक्रमणबाट बचाउनेछ । तर, यसमा धेरै कुरा अझै निश्चित छैन । किनकि, हामीलाई सो सुरक्षा कतिन्जेल रहनेछ भन्ने थाहा भइसकेको छैन । त्यसैले एकपटक कोभिडले बिरामी परिसकेपछि फेरि संक्रमित नहुनेमा हामी ढुक्क भएर बस्ने गरे पनि अरुलाई सर्न सक्ने जोखिमबारे चाहिँ सचेत रहनुपर्छ ।”

‘साइरेन’ नामक यो अध्ययनमा बेलायतभरका दशौँ हजार स्वास्थ्यकर्मीलाई सहभागी गराइएको थियो । उनीहरुको गत जुनदेखि नै नियमित कोरोना परीक्षण गरिएको हो भने शरीरको एन्टिबडीजबारे पनि निरन्तर तथ्यांक लिइएको छ । यसमा जुन १८ र नोभेम्बर २४ का बीच वैज्ञानिकहरुले ६ हजार सहभागीमा ४४ सम्भावित पुनः संक्रमण र ४२ अनुमानित संक्रमण फेला पारेका हुन् । यसले पुनः संक्रमणबाट ८३ प्रतिशत सुरक्षा हुनेको प्रतिनिधित्व गर्दछ ।

हाल अनुसन्धानकर्ताहरुले यो अनुसन्धान जारी राख्ने र सहभागीहरुको लगातार परीक्षण गरिरहने बताएका छन् । जसपछि प्राकृतिक इम्युनिटी ५ महिनाभन्दा लामो समय रहन सक्छ/सक्दैन भन्ने जानकारी दिलाउनेछ । तर, उनीहरुले फेरि पनि इम्युनिटी भएका मानिसहरुले उच्चस्तरमा आफूसँग भाइरस बोकी अरुमा फैलाउन सक्ने चेतावनी दिएका हुन् । यसकारण नै संक्रमित भइसकेकाहरुले ठीक भएपछि पनि सावधानीका उपाय अपनाइरहन महत्त्वपूर्ण मानिएको छ ।