मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशमा उत्तरायणी पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा उत्तरायणी पर्व मनाइँदै


डोटी – सुदूरपश्चिम प्रदेशवासीले अर्को प्रमुख चाड उत्तरायणी पर्व मनाउन थालेका छन । यहाँका नौवटै जिल्लाका महिलाले बिहानैदेखि पर्व मनाउन थालेका हुन् । विषेशगरी यो पर्व सुदूरपश्चिममा महिलाले मनाउने चलन रहेको छ ।

डोटीसहित सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, बैतडी तथा दाुर्चलाका स्थानीयवासीले आ–आफ्नो पायक पर्ने ठाउँमा जम्मा भएर खाना पकाइ खाने तथा दिनभरि सुदूरपश्चिमेली देउडा खेल खेल्ने र रमाइलो गरी उत्तरायणी पर्व मनाउने गर्दछन् । 

परापूर्वकालदेखि यहाँका पहाडी जिल्लामा प्रत्येक माघ महिनाको ३ गते याे पर्व धुमधामका रुपमा मनाउँदै आएका छन् । यो पर्वको दिन विवाह भएर गएकी छोरीबहिनी बोलाएर दान दक्षिणा दिएर उत्तरायणी मनाइने डाँडा अर्थात ठाउँमा खाना खुवाउने तथा छोरी आफ्नो घर जाँदा सेल रोटीहरु पकाएर दिने चलन रहेको स्थानीयवासी बताउँछन् । 

सुदूरपश्चिम प्रदेशको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर, घोल्तडा, सिलगढी आसपासका डाँडाकाडाँमा आज बिहानैदेखि उत्तरायणी पर्व मनाउनेहरु नयाँ लुगा तथा पहिरनमा सजिएका देखिन्छन् । उनीहरुका पहिरनका कारण यहाँका डाँडाकाडाँ नै सुन्दर र राताम्मे भएका देखिएका छन् । 

उनीहरुले खानामा मासको पिठोको बटुक, सुदूरपश्चिमको मासबाट बनेको प्रख्यात दाल डुुप्का, भात, सेलरोटी पकाउँदै सबै एकै ठाउँमा बसेर खाना खाने तथा आगन्तुक पाहुनालाई पनि खुवाउने चलन रहेको छ । 

उत्तरायणीका दिन गाउँभरिका सबै स्थानीयवासी एकै ठाउँमा खाना खाने चलन छ । आजकै दिन यहाँका महिलाले रनपुतला खेल पनि खेल्ने गर्दछन् । महिलाका मार्मिक पिरव्यथा झल्काउने र माइतीको प्रगतिका लागि कामना गर्ने नाच हो, रनपुतला । छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिकरूपमा पङ्क्तिबद्ध भएर विवाहित महिलाले बिरहका गीत गाउँदै आजका दिनमा पनि रनपुतला खेल खेल्ने गर्दछन् । 

पुतलीझैँ सिङ्गारिएका महिलाले दिउँसो बेहुलाबेहुलीको एउटा जोडी बनाएर कार्पेटमा बोकेर नजिकैको पँधेरोमा लैजाने चलन छ । स्थानीय लोकलयमा गीत गाउँदै नाच्दै पँधेराबाट बेहुला बेहुलीलाई उत्तरायणी मनाउने ठाउँमा ल्याएर विभिन्न देउडा, झेउरा र भारी डेउडा खेल खेल्दै रमाउने गर्दछन् । – उज्यालो