मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घामले पोल्यो, अब रुखको छाहारीमा आउँछौँ भन्ने दिन आए : गगन थापा

घामले पोल्यो, अब रुखको छाहारीमा आउँछौँ भन्ने दिन आए : गगन थापा


काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस सडकमा रहे पनि आँखा सर्वोच्च अदालततर्फ रहेको बताएका छन्। संसद् विघटनविरुद्ध ललितपुरको महांकाल कांग्रेस समितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले अदालतलाई प्रभावित गर्ने र धम्काउन नहुने भन्दै प्रधानमन्त्री केपी ओलीको धम्कीबाट अदालत डराउन नहुने बताए।

उनले अदालतको निर्णय मान्नेहरुले अहिले विवेक पुर्‍याएर निर्णय गर्नुपर्ने बताइरहेको तर प्रधानमन्त्री ओलीले धम्काउने काम गरिरहेको बताए। उनले अदालतलाई संविधानको धाराले जन्माएको भन्दै त्यही धारामा टेकेर अदालतले निर्णय गर्नुपर्ने बताए। 

‘प्रधानमन्त्रीको यो कदमलाई संवैधानिक भन्ने एउटै आधार छैन। संसद् विघटनको निर्णयलाई खारेज गरे हुन्छ,’ थापाले भने, ‘ढुक्क हुनुस्, संसद् आउँछ। संसद् आएपछि पनि निर्वाचनमा जाने नै हो।’ उनले नेकपाले पाएको जनमत टुक्रिइसकेको अवस्थामा नयाँ जनमतका लागि निर्वाचनमा जानुपर्ने बताए। तर, त्यसको बाटो के हुने भन्ने मूल विषय भएको उनको भनाइ छ। 

‘नेकपाको जनमत टुक्रिएको छ। नयाँ जनमतका लागि चुनावमा जानुपर्छ। तर संविधान जोगाएर जाने कि भत्काएर जाने भन्ने मूल विषय हो,’ उनले भने, ‘हामी संविधान जोगाएर निर्वाचनमा जान्छौं। त्यसका  लागि संघर्ष गरिरहेका छौं।’

उनले कांग्रेस हरदम, हरपल चुनावको तयारीमा रहेको बताए। ‘हामीले सँधै निर्वाचनको तयारीमा छौँ। त्यसका लागि तयार रहनुहोस्, टोलटोल जानुहोस्,’ उनले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘हामी संविधान जोगाउँछौं, निर्वाचनमा जान्छौं र सिंहदरबारमा बसेर हिजोका गल्ती नदोहोराई जनभावनाअनुसार काम गर्छौँ।’

उनले नेकपा फुटिसकेको भन्दै चुनाव चिह्न कसले पाउँछ भन्ने आफूहरुको सरोकारको विषय नभएको बताए। ‘नेकपा फुट्यो फुट्यो। अब चुनाव चिह्न कसले पाउँछ भन्ने हाम्रो सरोकारको विषय होइन। तर अब जनताले भन्नेछन् घामले धेरै पोल्यो, अब रुखको छहारीमा आउने हो,’ उनले भने।