मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोभिड १९ को पहिलो सङ्क्रमण पुष्टि भएको एक वर्ष पूरा

नेपालमा कोभिड १९ को पहिलो सङ्क्रमण पुष्टि भएको एक वर्ष पूरा


काठमाण्डाै – नेपालमा कोरोना भाइरसको पहिलो सङ्क्रमण पुष्टि भएको एक वर्ष पूरा भएको छ । चीनको वुहान युनिभर्सिटीमा अध्ययन गरेर फर्किएका ३२ वर्षीय पुरुषमा गएको वर्षको माघ १० गते कोरोना पुष्टि भएको थियो ।

एक वर्षको अवधिमा नेपालमा दुई लाख ६९ हजार एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ भने एक हजार नौ सय ९४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको छ ।

सङ्क्रमण पुष्टि भएका मध्ये दुई लाख ६३ हजार सात सय ३४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा तीन हजार चार सय ५२ जना सक्रिय संक्रमित छन् भने उनीहरु मध्ये एक सय ४७ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार पनि नेपालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण फैलदै गर्दा खुल्ला सीमा, परीक्षणका लागि प्रयोगशाला तथा किटको अभाव, स्वास्थ्य सामाग्री खरिदको भ्रष्टचार काण्ड लगायतका कारण सङ्क्रमण र त्रास बढे पनि विस्तारै अवस्था सामान्य हुँदै गएको छ ।

सङ्क्रमण नियन्त्रणका लागि सरकारले गएको चैत ११ गतेदेखि साउन छ गतेसम्म एक सय २० दिन देशव्यापी लकडाउन र त्यसपछि विभिन्न ठाउँमा निषेधाज्ञा लगाएको थियो । पछिल्लो समय परीक्षण, उपचार तथा खोप लगायत महामारी नियन्त्रणका काममा सरकारले लय समातेको छ ।

नेपालमा कोरोना नियन्त्रणको काममा स्वास्थ्यकर्मीहरुको योगदान विशेष रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक वर्षको अवधिमा सात हजार सात सय पाँच जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ भने ११ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् ।

नेपालमा यसअघि विभिन्न सरुवा रोगको सङ्क्रमण फैलने गरेको भए पनि नियन्त्रणमा देशव्यापी महत्व पाएको थिएन । कोरोना महामारी फैलिएपछि भने भौतिक संरचना निर्माण, स्वास्थ्य उपकरण तथा दक्ष जनशक्ति तयार लगायतका काममा धेरै प्रगति भएको छ ।