मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म माउन्ट केटु चढेको भए फर्कन पाउँदिन थिएँ : प्रधानमन्त्री

म माउन्ट केटु चढेको भए फर्कन पाउँदिन थिएँ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ सफल आरोहण गरेर फर्किएका १० नेपालीहरुलाई बधाई दिएका छन् ।  

प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा जीवन नै जोखिममा राखेर शिखर आरोहण गरेकोमा व्यक्तिगत तर्फबाट मात्र नभै समग्र नेपालीको तर्फबाट धन्यवाद दिएको बताएका छन् ।

“नेपाल बहादुर लडाकुको मात्र देश नभएर साहसीहरुको देश हो भनेर पुष्टि भएको छ,” कार्यक्रममा बोल्दै उनले भने “विश्वमा जति पनि साहसिक काम छ अब त्यो नेपालीहरुलाई छाडिदिए हुन्छ ।”

पर्वतारोहीहरु सीधै अग्ला पहाड नचढी धेरै अभ्यासपछि मात्र आरोहण गर्ने भएकोले यो एक प्रकारको साधना भएको प्रधानमन्त्रीले बताए । “हामीलाई त जुन पनि हिउँको थुप्रो उस्तै हो ।

जो कोहीलाई हिमालको दुःख थाहा हुँदैन । हिमाल चढ्ने बेलामा चुचुराको नजिकबाटै फर्कन पनि पर्न सक्छ । हरेका पाइलामा गाह्रो हुन्छ, तब न आरोही,” उनले ठट्यौली पारामा भने “नत्र भने त म पनि जान्थेँ नि ।

तपाईँहरु दश जना हुनुहुँदो रहेछ । म पनि सहभागी भएको भए एघार जना हुन्थ्यौँ ।” उनले देशको प्रधानमन्त्री नै हिमाल चढेको भए त नेपालको परिचय नै छुट्टै हुने बताए । 

तर आफूले त्यो दुस्साहस गरेको भए आफु फर्कन नपाउने बताउँदै उनले भने, “शिखर आरोहण जो सुकैबाट हुने कुरा हैन । म चढेको भए नाम हुन्थ्यो, तर म फर्किन सक्ने थिइनँ । त्यसैले जो पनि शिखर आरोहण गर्न सक्दैनन् ।” – बारह्खरी