मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनजना पूर्वप्रधानमन्त्री ‘बुढेसकालमा लौरो टेकेर हिँडे : प्रधानमन्त्री ओली

तीनजना पूर्वप्रधानमन्त्री ‘बुढेसकालमा लौरो टेकेर हिँडे : प्रधानमन्त्री ओली


चितवन । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले तीनजना पूर्वप्रधानमन्त्रीले ‘बुढेसकालमा लौरो टेकेर हिँडेको’ टिप्पणी गरेका छन् ।

शनिबार चितवनको भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपाललाई इंगित गर्दै बुढेसकालमा लौरो टेकेर पार्टी ध्वस्त र देश बर्बाद गर्न हिँडेको आरोप लगाए ।

ओलीले पार्टी फुटाउन उनीहरु लागेको भन्दै पार्टी फुटेको नभई केही मान्छे मात्र बाहिरिएको बताए । ‘‘सभाको चारैतिर हेर्नुस् । दायाँ हेनुर्स, बायाँ हेर्नुस् । यताकाले उताकोलाई हेर्नुस,’’ उनले भने ।

पार्टीभित्रको पिलो निचोरिएर आफैँ गएको बताउँदै उनले पार्टी फुट्दैमा वजन नघट्ने बताए । यस क्षेत्रका विघटित प्रतिनिधिसभाका तीन सांसद् प्रचण्ड, सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेललाई इंगित गर्दै उनले भने, ‘‘यत्रो जनसभामा तपाइँका सांसद् खोई ? उनीहरुलाई तपाइँहरु चाहिँदैन ? उनीहरुलाई नचाहिएपछि तपाइँलाई पनि आवश्यक छैन ।’’

भरतपुर महानगरपालिकाले प्रधानमन्त्री ओलीको आजको कार्यक्रम बहिष्कार गरेको विषयलाई उप्काउँदै उनले भने, ‘‘तपाइँको मेयर खोई कहाँ जानुभयो ? मतपत्र च्यातेर अलि–अलि भोट दिएर जित्याइदिएको थियो नि ! मेयर पिकनिक खान जानुभयो होला ।’

उनले प्रचण्डलाई व्यंग्य गर्दै राम माडीको अयोध्यामा जन्मेको भन्न डर मानेको बताए । ‘‘उहाँ त्यही क्षेत्रको सांसद्, किन रामचन्द्र अयोध्यामा जन्मेको भन्न डराएको ? यो कस्तो राष्ट्रवादी ?,’ उनले भने । मयूर बन्न मयूर नै हुनुपर्ने उनले बताए । ‘‘मयुरको प्वाँख लगाएर मात्र मयूर बनिँदैन, त्यो मयूर हुँदैन । त्यही चरो मात्रै हुन्छ,’’ उनले भने ।

अहिले माडीमा रामको विशाल मूर्ति बनिसकेको, सीताको बन्दै गरेको, लक्ष्मण र हनुमानको मूर्ति बनाउने तयारी भएको समेत बताए । प्रधानमन्त्रीले ओलीले तोकिएकै मितिमा चुनाव हुने दाबी गरे । ‘‘चुनाव हुन्छ, तोकिएकै मितिमा हुन्छ । तलमाथि हुँदैन । अन्योलमा नहुनुस्,’’ उनले भने ।