मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मान्छे देखाउने होड !

मान्छे देखाउने होड !


काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ । त्यसयता दुवै समूहले छुट्टाछुट्टै भेला, सभा गर्दै आएका छन् ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सभा गर्न नेकपाका दुवै समूह सक्रिय छन् । दुवै समूहले आफ्नो पक्षमा माहोल सिर्जना गर्ने प्रयास गरिरहेका छन् । सभामा सहभागीको संख्यालाई विशेष महत्व दिइएको नेताहरुका भाषण र क्रियाकलापले दर्शाउँछ ।

नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार कैलालीको धनगढीमा विरोधसभा गर्‍यो । सभामा ठूलो संख्यामा मानिस सहभागी भए । नेकपाका नेता विष्णु रिजालले सो सभाको २२ सेकेन्डको छोटो भिडियो सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गरेका छन् । जसमा ठूलो संख्यामा मानिस उपस्थित भएको देखाइएको छ ।

‘‘नेकपाका सुदूरपश्चिम इन्चार्ज तथा प्रखर राष्ट्रवादी नेता डा. भीम रावलले फेरि एकपटक आफूलाई अब्बल नेता, कुशल संयोजनकर्ता र जनतामा लोकप्रिय व्यक्तित्वका रूपमा प्रमाणित गर्नुभएको छ,’’ सो पोस्टमा रिजालले लेखेका छन् ।

यस्तै, नेता भीम रावलले पनि ‘ऐतिहासिक बृहत् विरोध जनप्रदर्शन र जनसभा’ भन्दै सहभागीलाई धन्यवाद दिएका छन् । सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतका नेताहरुले बोलेका थिए । नेता नेपालको आधिकारिक फेसबुक पेजमा ‘जागेको सुदूरपश्चिम’ भन्दै सो सभाका तस्बिरहरु पोस्ट गरिएको छ । प्रचण्डको आधिकारिक फेसबुक पेजमा पनि सभाका तस्बिरहरु पोस्ट गरिएको छ । साथै, दुवै अध्यक्षका फेसबुक पेजमा भिडियो पनि राखिएको छ ।

भेलालाई सम्बोधन गर्नेक्रममा प्रचण्ड र नेपाल दुवैजनाले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताए । आफूहरु नै आधिकारिक नेकपा भएको जिकिर उनीहरुले गरे ।

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली पनि शनिबार चितवन पुगेका थिए । भरतपुरमा आयोजित सभालाई उनले सम्बोधन गरे । उक्त सभाको तस्बिर र भिडियो पनि सहभागीको संख्या दर्शाउने गरी महत्वका साथ पोस्ट गरिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त कार्यक्रमको तस्बिर ट्वीटरमा पोस्ट गर्दै लेखेका छन्, ‘‘चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको सम्बोधन सुन्न जनसागर उर्लियो ! प्रधानमन्त्रीले भन्नुभयो– अब सच्चा प्रतिनिधि छान्नुहोस् ।’’

सभामा ओलीले नेकपा फुटेको नभई केही मान्छे मात्रै बाहिरिएको जिकिर गरेका थिए । ‘‘सभाको चारैतिर हेर्नुस् । दायाँ हेनुर्स्, बायाँ हेर्नुस् । यताकाले उताकोलाई हेर्नुस्,’’ उपस्थितको संख्यातर्फ लक्षित गर्दै उनले भनेका थिए ।

प्रचण्ड–नेपाल समूहले शुक्रबार विराटनगरमा विरोधसभा गरेको थियो । सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले आफ्नो समूहसित बहुमत भएको दाबी गरे । उनले ‘टेलिभिजनबाट बोलेर नभई सडकमा आएर जनमत हेर्न’ ओली समूहलाई भनेका थिए ।

यसअघि, काठमाडौंमा गरिएका प्रदर्शनहरुमा पनि ठूलो संख्यामा मानिस भेला गराइएको थियो । प्रचण्ड–नेपाल समूहले ‘सडकमै बहुमत देखिने’ जिकिर गर्दै आएको छ । ओली समूहले भने प्रथम अध्यक्ष भएको पार्टी र उसका गतिविधि नै आधिकारिक हुने दाबी गर्दै आएको छ ।

मुलुकमा पछिल्लो समय कोरोना संक्रमण र कोरोनाका कारण हुने मृत्युदरमा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । यद्यपि, निरन्तर सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्को सुझाव छ ।

जनस्वास्थ्यविद् समीरमणि दीक्षितले यही जनवरी २३ तारिखमा ट्वीटरमा लेखेका छन्, ‘‘ अबदेखि मास्क लगाउने, दूरी कायम राख्नुको महत्वजस्ता जनस्वास्थ्यका मापदण्ड पालनाबारे अनुरोध गर्न छाडुँजस्तो लाग्यो । प्रदर्शनहरु भइरहेकै छन् । रात्रि क्लबमा भिडभाड झनै बढेका छन् । अब खोपलाई द्रुतगतिमा अघि सारौँ र आश गरौँ कि धेरैभन्दा धेरै जोखिम समूहमा पुग्छ ।’’ – बारह्खरी

तस्बिरः माधव नेपालको फेसबुकबाट ।