मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सकारात्मक सोच क्यान्सरको पहिलो औषधि’

‘सकारात्मक सोच क्यान्सरको पहिलो औषधि’


काठमाडौं । क्यान्सरसम्बन्धी जनचेतनाका लागि राखिएको एउटा कार्यक्रम । हलभरि उस्तैजस्ता देखिने फरक मानिसहरु । ‘‘हामीले आजको कार्यक्रममा एकजना डीएसपी साबलाई विशेष अतिथिको रुपमा बोलाएका छौं,’’ कार्यक्रम प्रस्तोताले उद्घोष गरिन् । अतितिको मन्तव्य सुन्न सबैका कान ठाडा भए । तर नेपाल प्रहरीका डीएसपी वासुदेव पाठक त्यहाँ कुनै नियम–कानुनका बारेमा व्याख्या गरिरहेका थिएनन् । प्रसंग थियो, क्यान्सरलाई जित्नेहरुको ।

वि. सं. २०७० साल वैशाख । खाना खाने क्रममा अड्किने, घाँटी सुक्खा हुने समस्या लिएर अस्पताल पुगेका थिए, वासुदेव पाठक । रोग पहिचानका क्रममा उनलाई एडिनो कार्सिनोमा अर्थात घाँटीको क्यान्सर भएको पत्ता लाग्यो । क्यान्सर पहिचान हुँदै गर्दा पाठक प्रहरी इन्स्पेक्टर पदमा थिए र शान्ति मिसनमा लाइबेरिया जाने तयारीमा थिए । आफूलाई क्यान्सर भएको थाहा पाएको दिन उनलाई जीवनमा भूकम्प गएजस्तो भयो । ३७ वर्षको उमेरमा मृत्युको करिब नजिकै पुगेको अनुभूति भयो । मध्यमवर्गीय परिवारका पाठकलाई उपचारमा लाग्ने खर्चको चिन्ताले अर्को तनाव थप्यो ।

परिवारको दरिलो साथले उपचारका लागि भारतको नयाँदिल्ली पुगे । शल्यक्रिया र किमोसहित ६ महिनाको उपचारपछि घर फर्कँदा पाठकको खुसी धेरैबेर टिक्न पाएन । कारण, उनकी आमालाई क्यान्सरले नै गलाइसकेको थियो । यहीबीचमा आमाले संसार त्यागिन् । तर, पाठकले आत्मविश्वास र धैर्यतालाई विलकुलै त्यागेनन् ।

यता, शान्ति मिसनले उनलाई कुरिरहेको थियो । निको भएको तीन महिनामा नै सुडान जाने छनोटमा परे उनी, सँगै बढुवाको तयारी पनि । संगठनले उनलाई बढुवाका लागि योग्य ठह¥यायो । तीन चरणमा भएको बढुवामा पाठक पहिलो चरणमा बढुवा भए, डीएसपी पदमा । अन्ततः एउटा अदम्य साहस बोकेको योद्धासँग क्यान्सरजस्तो ज्यानमारा रोग पनि हा¥यो । अहिले पाठक जीवनसंगिनी पुजाश्री पाख्रिन र छोरा नैवेद्यका साथ खुसी अनि सुखी जीवनयापन गरिरहेका छन् । उनी भन्छन् “क्यान्सर भएको दिनदेखि उपचारमा निरन्तर पैसा गुमाएँ, ज्यानको तौल गुमाएँ । तर, जीवनप्रतिको सकारात्मक सोच कहिल्यै गुमाइनँ । कोही क्यान्सरका बिरामी विचराको पात्र नहुन म जित्छु भन्ने आत्मविश्वास नै क्यान्सरलाई जित्ने मानसिक औषधि हो । मलाई यही औषधिले लामो जीवन जिउने ऊर्जा थपेको छ ।”

डली गुरुङ
नेपाली मोडलिङमा चासो राख्ने धेरैले सुनेको नाम हो, डली गुरुङ । तर, डली क्यान्सर सर्भाइभर हुन् भन्नेचाहिँ थोरैले मात्र थाहा पाएको हुनसक्छ । सन् २०१७ मा उनलाई तेस्रो चरणको ठूलो आन्द्रा कोलोन क्यान्सर पहिचान भएको थियो । मोडलिङ, कोरियोग्राफी र आफ्नै व्यवसायलाई रफ्तार दिइरहेकी उनलाई आफू रोगी कहिल्यै महसुस भएन । बरु, परिवारका सदस्यलाई उल्टै क्यान्सरबाट मरिँदैन भनेर सम्झाउनुपर्ने अवस्था आएको थियो ।

नेपालमा नै क्यान्सरको सफल उपचार हुन्छ भन्ने राम्रोसँग थाहा पाएकी उनले नेपालमै उपचार गर्ने निर्णय गरिन् । शल्यक्रियादेखि थेरापीको चरणसम्म आइपुग्दा डलीलार्ई उही गन्तव्यमा तर नयाँ बाटोबाट यात्रा गरिरहेको महसुस हुन्थ्यो । आफूलाई गरिएका हरेक उपचारको अनुभव संगाल्न चाहन्थिन् उनी । यही क्रममा उनले किमोथेरापी अवधिको फोटोसेसन पनि गराइन् । सम्झनाका लागि डायरी लेख्थिन् । यिनै अनुभवहरु संगालेर डलीले ‘माइ क्यान्सर जर्नी’ नामक पुस्तक पनि प्रकाशित गरिन् । १२ वटा किमोथेरापी गरिरहँदा डली कहिल्यै बिरामी झैँ बेड रेस्टमा बसिनन् । प्रत्येक किमोथेरापी सकियो कि घुम्न पुगिहाल्थिन् ।

दुई वर्षको निरन्तर उपचारपछि अहिले आफ्नै व्यवसाय र समाजसेवामा फर्किएकी छिन् । उनको बारेमा थाहा नहुने जो कसैले आँकलन गर्न सक्दैन कि डली क्यान्सर सर्भाइभर हुन् भनेर । क्यान्सर हुनुअगागिको उनको सामाजिक सक्रियता कति पनि घटेको छैन, यो चार वर्षको अवधिमा । बरु, झनै नयाँ काम गर्ने जोश थपिएको अनुभव सुनाउँछिन् उनी । डलीलाई क्यान्सर पहिचान भएको दिनदेखि कहिल्यै मरिन्छजस्तो लागेन ।

“मानिसहरु भन्थे, तेस्रो चरणमा पुगेको क्यान्सर लागेका मनिसहरु बाँच्दैनन् । तर, मलाई मर्छुजस्तो एक दिन पनि लागेन । म लड्न सक्छु, म पुनर्जीवन पाउँछु भन्ने भाव मात्रै आइरह्यो सधैँ । अन्ततः मेरो आत्मबलले मलाई जित्यो र मैले क्यान्सरलाई ।”

कसरी जितिन्छ क्यान्सरलाई ? 
डली गुरुङ र वासुदेव पाठकजस्ता हजारौँ क्यान्सरका बिरामी यतिखेर पुनर्जीवनमा रमाइरहेका छन् । पछिल्लो समय विश्वभर नै मृत्युको दोस्रो कारक बनिरहेको क्यान्सरको जोखिम जति बढ्दो छ, निको हुनेको संख्या पनि त्यति नै उत्साहजनक छ । चाहे ती सेलिब्रेटी उच्च पदका व्यक्तिहरुदेखि सामान्य पृष्ठभूमिका व्यक्तिहरु किन नहुन् ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्र शेखर अमात्य भन्छन्, ‘‘सकारात्मक सोच र बलियो आत्मबल भएका बिरामीमा औषधिले प्रभावकारी काम गर्छ । उनीहरु कमजोर आत्मबल भएका बिरामीभन्दा धेरै छिटो निको भएको हामीसँग प्रशस्तै रेकर्ड छन् । क्यान्सर निको हुने विभिन्न उपचारमध्ये व्यक्तिको सकारात्मक सोच पहिलो सर्त हो । त्यसमा परिवारको हेरचाह, सपोर्ट अनि सकारात्मक सामाजिक व्यवहारले महत्वपूर्ण भूमिका खेल्छ । डा. अमात्यको भनाइलाई विभिन्न अध्ययनहरुले समेत पुष्टि गरिसकेका छन् ।

मेडिकल भाषामा क्यान्सरको उपचार भएको पाँच वर्षसम्म व्यक्ति स्वस्थ रहे उनीहरुलाई रोग निको भएको ‘क्योर स्टेज’ मानिन्छ । सबैभन्दा धेरै निको हुने सम्भावना भएको स्तनको क्यान्सर निको हुने सम्भावना ८० देखि ९० प्रतिशत हुन्छ । त्यस्तै, पेटको ३०, आन्द्राको ६० प्रतिशत हुन्छ । डा. अमात्य र क्यान्सरबाट पुनर्जीवन पाएकाहरुको यो अनुभवलाई आधार मान्ने हो भने क्यान्सर अब जित्नेहरुको रोग बनिसकेको छ । – बारह्खरी