मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व क्यान्सर दिवस : यी बलिउड सेलिब्रेटी, जसले क्यान्सरलाई जिते

विश्व क्यान्सर दिवस : यी बलिउड सेलिब्रेटी, जसले क्यान्सरलाई जिते


मुम्बई । आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस । यो रोगबाट केही बलिउड कलाकारहरु पनि पीडित भए । केही बलिउड सेलिब्रेटीले क्यान्सरलाई जितेका छन् भने केही बलिउड सेलिब्रेटीले यसैका कारण ज्यान गुमाए ।

गत वर्ष मात्रै क्यान्सरकै कारण अभिनेता ऋषि कपुर र इरफान खानको निधन भएको थियो ।क्यान्सरविरुद्ध जित हासिल गर्न सफल बलिउडकर्मीहरु यस प्रकार छन् ।

सञ्जय दत्त
यस सूचीको शीर्ष स्थानमा हालै क्यान्सरलाई जितेका अर्थात चिकित्सकीय भाषामा ‘क्यर’ भएका अभिनेता सञ्जय दत्त पर्दछन् । सञ्जयलाई गत वर्ष मात्रै फोक्सोको क्यान्सरबारे थाहा भएको थियो । कोरोनाकालमा आफ्नो यस रोगबारे थाहा पाएका सञ्जयले मुम्बईकै अस्पतालमा यसको उपचार गराए । मुम्बईमा पहिलो चरणको उपचार गराएर अमेरिकामा थप उपचारका लागि जाने योजना थियो । यद्यपि, मुम्बईमै यसको सफल उपचार गराएर उनी अहिले पुनः चलचत्रि छायांकनमा फर्किसकेका छन् ।

सोनाली बेंद्रे
९० दशककी सुन्दर अभिनेत्री सोनाली बेंद्रेलाई दुई वर्षअघिमात्रै मेटास्टेटिक क्यान्सर भएको थियो । यो क्यान्सरमा क्यान्सरका सेल शरीरको अन्य भागमा फैलिने गर्दछ । सोनालीले लामो समयसम्म विदेशमा उपचार गराइन् । हाल उनी पूरै स्वस्थ भइसकेकी छिन् ।

अनुराग बसु
पछिल्लो समय सक्रिय रुपमा निर्देशनमा रहेका अनुराग बसु कुनै समय ब्लक क्यान्सरका बिरामी थिए, जुन कुरा कमैलाई मात्रै जानकारी छ । अनुराग लामो समयसम्म योसँग लडिरहे र धेरैपटकको उपचारपछि अहिले उनी क्यर भइसकेका छन् । उनको निर्देशनमा बनेको पछिल्लो चलचित्र ‘लूडो’ गत वर्ष मात्रै रिलिज भएको थियो ।

मनीषा कोइराला
९० दशककी सफल अभिनेत्री मनीषा कोइरालालाई गर्भाशय क्यान्सर भएको थियो । उनले यसबारे सन् २०१२ मा थाहा पाएकी थिइन् । त्यसपछि उनको उपचार अमेरिकामा गरियो । अहिले उनी स्वस्थ भइसकेकी छिन् भने क्यान्सरबारे जनचेतना फैलाउनमा अग्रसर छिन् ।्

राकेश रोशन
चलचित्र निर्माता तथा अभिनेता ऋतिक रोशनका बुवा राकेश रोशनलाई सन् २०१९ जनवरीमा घाँटीको क्यान्सर भएको पत्ता लाग्यो । थाहा पाएलगतै उपचार सुरु गरेका कारण उनी वर्ष २०१९ भित्रै यसलाई जितेर ‘क्यान्सर फ्रि’ जिन्दगी बाँचिरहेका छन् ।

ताहिरा कश्यप
अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यपलाई सन् २०१८ मा अर्ली स्टेजको ब्रेस्ट क्यान्सर भएको थियो । उनले लगत्तै यसको उपचार गराइन् र अहिले उनी क्यान्सरमुक्त जीवन बाँचिरहेकी छिन् ।