काठमाण्डाै – नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका हुन् ।
कांग्रेसले बलात्कार र हत्याका सबै घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन पनि माग गरेको छ । विज्ञप्तिमा भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो हप्ता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, पीडितकाे शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको छ भनिएको छ ।
बलात्कारका घटना बढ्नु चिन्ताको विषय भएको कांग्रेसको भनाइ छ । जिम्मेवार तहबाट विकसित देशहरूमा पनि यस्तै हुन्छ भन्ने गैरजिम्मेवार जवाफले सरकारको उदासिनता प्रकट गरेको भन्दै कांग्रेसले महिलामाथि हिंसा, बलात्कार तथा हत्याका अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुकता बनाउन सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया