मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेश : अढाई वर्षपछि प्रदेशको नामबारे अर्को बहस

सुदूरपश्चिम प्रदेश : अढाई वर्षपछि प्रदेशको नामबारे अर्को बहस


धनगढीः तत्कालीन ७ नम्बर प्रदेशको नाम सुदूरपश्चिम राखिएको करिब अढाई वर्षपछि त्यसमाथि औचित्यको बहस पुनः सुरु भएको छ। 

राज्य पुनर्संरचनाका क्रममा साबिकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई प्रदेश नम्बर ७ का रुपमा कायम गरियो। संघीयता कार्यान्वयनका क्रममा गठन हुने प्रदेशसभाबाट नामाकरणको टुङ्गो लगाउने गरि राज्य पुनर्संरचना आयोगले १ देखि ७ नम्बर प्रदेशको  खाका बनाउँदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई प्रदेश नम्बर ७ का रुपमा कायम गरियो। 

तर तत्कालीन ७ नम्बर प्रदेशको प्रदेशसभाले भने विकास क्षेत्र हुँदाको पुरानो नामलाई नै निरन्तरता दियो। २०७५ असोजमा प्रदेशसभाबाट दुई तिहाई मतबाट नामाकरण प्रस्ताव पारित गरेको थियो।

‘पहिलो गाँसमा ढुङ्गा’

सुदूरपश्चिम नाम काठमाण्डौको नजरमा सुदूर देखिए पनि स्वयं ७ नम्बर प्रदेशबाट कसरी सुदूर देखियो भनेर लेखक तथा वरिष्ठ पत्रकार कनकमणि दीक्षित टिप्पणी गर्छन्।

‘सम्भावनाहरुको खोजीमा पहिलो गाँसमा ढुङ्गा परेको छ। त्यो हो खुशीसाथ राखिएको प्रदेशको नाम। सुदूरपश्चिम त केन्द्रिकृत शासकहरुले राखेको नाम पर्यो। सोही नामलाई नयाँ व्यवस्थामा समेत स्वीकार गर्नु गम्भीर विषय हो’ दीक्षितले भने।

तर प्रदेशसभा सदस्यहरुले भने सुदूरपश्चिम नाम उपयुक्त र सर्व स्वीकार्य हुने भएकोले राखिएको बताउने गरेका छन्। ‘प्रदेशको नामाकरण गर्दा धेरै नामहरुमा छलफल गरिएको र सबैभन्दा सजिलो र व्यवहारिक हिसावले लेख्न, बोल्न, बुझ्न र लोकप्रिय नाम सुदूरपशिचम नै देखिएकोले सो नाम राखिएको हो’,  सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशीले भने। 

सांसद जोशीले अगाडि थपे, ‘पहिलेदेखि नै प्रयोगमा आएको नाम र पहिचान समेत बनाइ सकेको सुन्दर सुदूरपश्चिमको नाममा अभियान समेत गरिएको, कलाकार, साहित्यकार गीत संगीत र बोलीचालीमा लोकप्रियता समेत सुदूरपश्चिम शब्दले पाइसकेको हुनाले प्रदेशको नाम सुदूरपश्चिम राखिएको हो।’

प्रदेश सभा सदस्यलगायतका नेताहरुले नाममा के नै छ र भन्ने गरेको भएपनि प्रदेशको नाम अर्थपूर्ण नराखिएको भनेर सर्वसाधारण प्रदेशवासीले असन्तुष्टि राख्दै आएका छन्।

विज्ञहरू के भन्छन्? 

पहिचान र गौरव बोध गराउन नामाकरण गरिदा ऐतिहासिक, पौराणिक र सेतीकाली भूखण्डको मौलिक आयामहरको वेवास्ता गरेको भनाइ यो क्षेत्रका अध्येताहरले छ। अर्थहीन दिशा बोधक सुदूरपश्चिम शब्दलाई प्रदेशको नाम राख्नु गलत भएको महेन्द्रनगरका मानशखण्ड अध्येता आचार्य घनश्याम लेखक बताउँछन्।

‘हाम्रो प्रदेशको तथाकथित सुदूरपश्चिम सबैभन्दा खराब नाम राखिएको छ। प्रदेशको नाम सुदूरपश्चिम हुनुहुँदैन। प्रदेशको मौलिक नाम वेद, पुराण र शास्त्रहरुमा समेत उल्लेख भएको मानशखण्ड हुनुपर्छ। यो हाम्रो पहिचना पनि हो। प्रदेश सभाका सदस्यहरुले गलत गरो छन्। यो गल्ती एक न एक दिन सच्याउनु आवश्यक छ।’

प्रदेश सभाका सदस्यहरुले आफ्ना पार्टीका नेताहरलाई सोधेर ७ नम्बर प्रदेशको नाम सुदूरपश्चिम राखिएको आरोप समेत लगाउने गरिएको छ। जनअभिमतको ख्यालै नगरी प्रदेश सभाबाट हचुवाको भरमा प्रदेशको नाम सुदूरपश्चिम राखिएको टिप्पणी गर्छन् धनगढीका महाकाव्यकार मनिराम जोशी।

‘सुदूरपश्चिम नामको न इतिहास छ, न कुनै पुराण, नत संस्कृतिसँग नै यो शब्द जोडिएको छ। गर्व गर्न सकिने नाम मानशखण्ड हो तर किन र कुन कारणले सुदूरपश्चिम राखियो त्यो बताइएको छैन।’-दिनेशखबर