मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नैतिकता भए ओलीले सर्वोच्चको फैसला सुन्नेबित्तिकै राजीनामा दिनु पर्थ्यो : रावल

नैतिकता भए ओलीले सर्वोच्चको फैसला सुन्नेबित्तिकै राजीनामा दिनु पर्थ्यो : रावल


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दाबी गरेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ।

आइतबार रिपोर्टर्स क्लबमा नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको बताए। उनले भने ,‘अदालतबाट प्रतिनिधिसभा पनर्स्थापना भैसकेको छ। तर उहाँले प्रधानमन्त्रीबाट म हट्दिन भन्नु असंवैधानिक हो। केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता तानाशाह र सैनिक शासकबाहेक संसारमा कोही पनि देखेको छैन।’

रावलले आफूहरुको मुख्य लडाइँ भनेको लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि भएको प्रतिक्रिया दिए। उनले भने, ‘लोकतान्त्रिक मान्यताको रक्षा हुने कि नहुने भन्ने नै हाम्रो मुख्य प्रश्न हो। देशलाई नेतृत्व गर्छु भन्ने व्यक्ति यति अनैतिक बन्न मिल्छ ? उहाँले त फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्दथ्यो।’

उनले नेकपाको विधान र संसदीय दलको विधानअनुसार आफूहरु अघि बढेको पनि स्पष्ट पारे। रावलले केपी ओलीको त गणपुरक संख्या नै नपुग्ने जिकिर गरे। उनले भने, ‘बहुमतले गरेको निर्णय मात्रै आधिकारिक हुन्छ। केन्द्रीय कमिटीले निर्देशन दिएअनुसार हुन्छ। पार्टीको विधान र संसदीय दलको विधानबाहेक उहाँहरुको कुरा स्थापित हुँदैन।’ 

रावलले अहिले आफूहरुको मुख्य विषय प्रधानमन्त्री ओलीमाथि भएकोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कारबाही नगर्ने सुनाए। उनले भने, ‘अहिले प्रधानमन्त्रीमाथिको प्रसँग छ। केबल प्रधानमन्त्रीजीले असंवैधानिक र अलोकतान्त्रिक काम गर्नुभयो र अदालतको यत्रो फैसला गर्दा पनि म त प्रधानमन्त्री नै रहिरहन्छु भनेर बोल्ने काम गर्नुभो। यो त उहाँले लल्कार्ने काम हो।’

सांसदहरु खरिदबिक्रि सुरु भयो अरे नि भनेर सोधिएको अर्को प्रसंगमा रावलले भने,‘देशको प्रधानमन्त्रीले, सांसद किनबेच सुरु भयो भन्नु देशको अपमान हो। लोकतन्त्रको अपमान हो। हाम्रो त दिमागमा पनि त्यस्तो आउँदैन। तर, ओलीको दिमाग नै त्यस्तो छ।’