मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसमा महाधिवेशन र सत्ताको तयारी सँगसँगै, सभापतिका उमेदवार को कस्ता ?

कांग्रेसमा महाधिवेशन र सत्ताको तयारी सँगसँगै, सभापतिका उमेदवार को कस्ता ?


काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनपछि खुम्चिएको अवस्थामा रहेको कांग्रेसलाई अहिले भ्याइ नभ्याइ छ ।

कांग्रेसका शीर्ष नेताहरु आगामी महाधिवेशनबाट नेतृत्वको तयारीमा लागेका छन् भने सभापतिसहितका केही नेताहरुको भूमिका दोहोरो छ । अर्थात् उनीहरु सत्ता साझेदारको तयारीका लागि पनि दैनिक छलफलमा व्यस्त छन् ।

भदौको पहिलो साता काठमाडौंमा कांग्रेसको चौधौँ महाधिवेशन हुँदैछ । महाधिवेशनमार्फत सभापतिका लागि १२ जना नेताहरू आकांक्षी देखिएका छन् ।

कस्ता छन् त कांग्रेस नेतृत्वको तयारीमा रहेका नेताहरू ?

शेरबहादुर देउवा 

सभापतिका आकांक्षीमध्येका एक हुन् शेरबहादुर देउवा । १३ औँ महाधिवेशनबाट उनी सभापति चुनिएका हुन् । फेरि पनि पार्टीको नेतृत्वको लागि उनले तयारी गरिरहेका छन् ।

सभापति देउवा ०५८ सालमा पार्टी विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति भइसकेका हुन् । ०५६ सालदेखि नै कांग्रेसको सभापतिमा प्रतिस्पर्धा गर्न थालेका देउवा १५ वर्षपछि नेतृत्वमा स्थापित भएका हुन् । 

०५२ सालमै प्रधानमन्त्री बनिसकेका देउवा अहिलेसम्म ४ पटक प्रधानमन्त्री भइसकेका छन् । फेरि प्रधानमन्त्री बन्ने लाइनमा रहेका देउवा ‘पावर प्रयोग’मा अब्बल मानिन्छन् ।  

रामचन्द्र पौडेल 

कांग्रेसको कार्यवाहक सभापतिसम्म भइसकेका वरिष्ठ नेता रामचन्द्र पौडेल गत १३ औँ महाधिवेशनमा पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने उमेदवार थिए । 

तर, ५० प्रतिशत भन्दा माथि मत भएपछि मात्र विजयी हुने कांग्रेसको वैधानिक व्यवस्थाले दोस्रो चरणको चुनावमा जाँदा पहिलो चरणबाट बाहिरिएका नेता कृष्ण सिटौला प्यानलले शेरबहादुर देउवालाई समर्थन गरिदिएपछि दोस्रो चरणमा हारेका थिए । 

०५१ सालमै सभामुख बनेका पौडेल सभामुखबाट बाहिरिएपछि कांग्रेसका अधिकांस सरकारमा मन्त्री भएका छन् । पटक पटक पदमा रहँदासमेत भ्रष्टाचार र अपचलनको आरोप नखेपेका पौडेल पैसा बाँड्न नसक्ने र पद बाँड्न पनि उदार नभएको नेताका रुपमा चिन्छन् ।

कांग्रेसका एकखाले कार्यकर्ताले भने पौडेललाई ‘सानो छाती भएको नेता’का रुपमा अर्थ्याउने गरेका छन् । 

कृष्णप्रसाद सिटौला 

नेपाल सरकारको उपप्रधानमन्त्रीसम्म बनेका कृष्ण सिटौला कांग्रेसमा मनोनीत महामन्त्रीसम्म भएर काम गरेका छन् । शक्तिशाली नेताको निकट हुने र उसका सबै जिम्मेवारी सम्हाल्ने नेता सिटौला ‘मास लिडर’को अभ्यासमा भने १३ औँ महाधिवेशन देखि मात्र आएका हुन् ।

१३ औँ महाधिवेशनमा सभापतिको प्रत्यासी बनेर पहिलो चरणबाट बाहिरिएपछि शेरबहादुर देउवालाई समर्थन जनाएका सिटौला अहिले भने महाधिवेशनको मिति तय हुनुअघिनै  देउवाको विकल्पको खोजीमा लागेका हुन् । 

पार्टीभित्रको प्रतिपक्ष कमजोर भएका कारण देउवाको विकल्प तयार हुन नसकेको बुझाइमा रहेका सिटौला अहिले पनि रामचन्द्र पौडेललाई समर्थन गर्ने पक्षमा भने देखिएका छैनन् । 

उनले ७० मुनीको पुस्ताले देउवाको विकल्प दिन सक्ने अवस्था निर्माण भएमा आफूले समर्थन जनाउने बताउने गरेका छन् । 

अर्जननरसिंह केसी

उमेरले ७० काटिसकेका अर्जुननरसिंह केसी गिरिजाप्रसाद कोइरालाकै पालामा सहमहामन्त्री र पार्टी प्रवक्ता भइसकेका नेता हुन् । 

१३ औँ महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका उनी पौडेलको प्यालनबाट लडेका डा. शशांक कोइरालासँग पराजित भएका थिए । 

केसी र उनका व्याचीसमेत रहेका यूवा नेता गगन थापा एउटै पदमा चुनाव लड्दा थापाकै कारण चुनाव हारेको केसी निकटकाहरुको विश्लेषण छ ।

डा. रामशरण महत

नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका डा. रामशरण महत नेपाली कांग्रेसको सहमहामन्त्रीसम्म भएका छन् । महत अर्थशास्त्रका विद्यावारिधिसमेत हुन् । 

लामो समयदेखि नेपाली कांग्रेसको केन्द्रीय समितिमा रहेका महत नेपालीमा सबैभन्दा लामो समय अर्थमन्त्री भएका व्यक्ति हुन् । अर्थ मन्त्रालय सम्हालिसकेका महतलाई नेपालको अर्थतन्त्र उदारीकरणतर्फ लगेको श्रेय जान्छ ।

विपक्षीहरुबाट सधैँ आलोचनाको तारो हुने गरेका महतको पार्टीभित्र पनि अर्थ मन्त्रालय सम्हाल्दा देशलाई वीपीको समाजवादी धारबाट बाहिर लगेको आरोप लाग्ने गर्छ । 

तर, अर्थशास्त्रका विद्यार्थी तथा आर्थिक नीति बुझेकाहरुबाट भने महत प्रायः प्रशंसित हुने गर्छन् ।कांग्रेसका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलपछिका वरिष्ठ मानिन्छन् ।

विमलेन्द्र निधि 

७० वर्ष मुनिको उमेर समूहमा प्रतिस्पर्धी बन्दै गरेका उपसभापति विमलेन्द्र निधि देउवालाई सभापति बनाउँदाको सर्तअनुसार अहिले सभापतिमा उमेदवारी दिन लागेका छन् । 

एकपटकका लागि सभापति बन्न सहयोग गरे अर्कोपटक आफू प्रतिस्पर्धामा नआउने देउवाको प्रस्तावपछि ‘एकपटकका लागि’ भन्ने सर्तमा  देउवालाई सभापति बनाउन मियो बनेर काम गरेका निधिले अहिलेसम्म देउवाबाट सर्त स्वीकार्ने आश्वासन पाएका छैनन् । 

“यसपटक देउवालाई सभापति बनाउन हामी कोही पनि आकांक्षी नबनौँ, अर्को पक्षबाट जो आउँछ उसलाई महामन्त्री बनाएर महाधिवेशनमा जाऔँ,” निधिले त्यसवेला प्रस्ताव गरेका थिए ।

निधिले त्यसबेलाको कुराकानीमा पटक–पटक दाहोर्‍याएर ‘एक पटकका लागि सभापतिमा देउवालाई जसरी पनि जिताउन लागेका छौैँ भनेका थिए । 

पार्टीमा निर्णायक भूमिका निर्वाह गरेका निधि यसपटक देउवाले सर्त पालना गर्नुपर्ने अडानमा रहे पनि त्यसको पालना नभए उनीविरुद्ध नै उमेदवारी दिने तयारीमा छन् ।

डा. शशांक कोइराला
१३ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका डा. शशांक कोइराला कांग्रेसका संस्थापक तथा कांग्रेसलाई विचार र संगठनको ढाँचामा हिँडाउने बीपी कोइरालाका कान्छा छोरा हुन् । नेपालको राजनीतिक इतिहासमा सबैभन्दा अग्लो छवि बनाएका बीपी कोइरालाका छोरा शशांकमा धेरै कांग्रेसहरु बीपीकै छाया देखिरहेका छन् ।

‘आफूले नेतृत्व हस्तान्तरण गर्दा बीपीको छोरालाई नै गर्ने’ शेरबहादुर देउवाको बचन लागु हुने आशामा रहेका कोइरालाले त्यही विश्वासका कारण आफनो कार्यकालभर देउवासँग द्वन्द्व गरेनन् ।

प्रकाशमान सिंह 

७० वर्ष मुनिको पुस्तामा बढी जिम्मेवारी सम्हालिसकेका प्रकाशमान सिंह लौहपुरुष गणेशमान सिंहका छोरा हुन् । नागरिकस्तरमा समेत ०४६ सालको जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको सम्मान भएकाले धेरै कांग्रेस नेताहरु सम्मानपूर्वक चाक्सीबारी पुग्ने गर्छन् । 

प्रकाशमान पनि गणेशमानकै छाया देख्नेहरुको एउटा समूह सभापति नै प्रकाशमान बन्नुपर्ने भन्दै अभियानमा छन् भने सिंह पनि सभापतिको उमेदवार बन्ने तयारीमा छन् ।  

नेविसंघको काठमाडौं सभापतिदेखि कांग्रेसको काठमाडौं सभापतिसमेत भएका सिंह त्यसपछि केन्द्रीय सदस्य भएका थिए । कांग्रेस फुटेका बेला देउवाको पार्टीमा उपसभापतिसम्म बनेका सिंह एकतापछि भने देउवाको प्यालनमा रहन सकेनन् । 

१२ औँ महाधिवेशनमा सुशील कोइराला प्यालनबाट महामन्त्री निर्वाचित भएका सिंहले अहिलेसम्म नेपाल सरकारको उपप्रधानमन्त्रीसम्म सम्हालेका छन् । 

डा. शेखर कोइराला 

७० मुनिको पुस्ताबाट सभापतिको प्रत्यासी बनेकामध्ये सबैभन्दा जेठो उमेरका डा. शेखर कोइराला उमेरले ६९ को डिलमै पुगेका छन् । कांग्रेसमा नोना आमा नेपाली कांग्रेस र कोइराला परिवारको राजनीति सम्हाल्ने महत्वपूर्ण व्यक्तित्व हुन् । उनै नोना आमाका कान्छा छोरा शेखर अहिले कोइराला परिवारको शाख जोगाएको कतिपय कांग्रेस नेताहरुको टिप्पणी छ ।

कोइराला परिवारमा अहिलेको पुस्ताका सबैभन्दा राजनीतिक व्यक्तिको पहिचान बनाएका कोइराला कांग्रेसका कार्यकर्तामा सबैभन्दा धेरै पुग्ने व्यक्ति हुन् । अघिल्लो महाधिवेशन सकिएकै दिनदेखि सभापतिको तयारीमा रहेका कोइरालाले विगत चार वर्ष भने नेतृत्वको विरुद्ध आफूलाई पार्टीभित्रको प्रतिपक्षका रुपमा उभ्याएका थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति भइसकेर राजनीतिमा हाम फालेका शेखर राजनीतिमा भने कांग्रेसको केन्द्रीय सदस्य र सांसदबाहेक कुनै पद लिएका छैनन् । 

शान्ति प्रक्रिया सुरु हुनुअघि गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रका रुपमा माओवादीसँग वार्ता गर्ने भूमिका खेलेका शेखर पद नलिएर पनि उच्चस्तरको राजनीतिक र कूटनीतिक सम्बन्ध बनाउनेमध्येका नेता हुन् । 

गगन थापा 

नेपाली कांग्रेस अहिले सबैभन्दा कम उमेरमा सभापति दाबी गर्ने नेता गगन थापा युवा पुस्ताले अत्यधिक आशा गरेका नेता हुन् । ३९ वर्षको उमेरमै कांग्रेसको महामन्त्री लडेका नेता थापा नेविसंघको राजनीतिदेखि नै सर्वाधिक चर्चा कमाएका नेता हु्न् ।

गणतन्त्र प्राप्तिका लागि भएको २०६२–०६३को जनआन्दोलबाट जनमानसमै स्थापित भएका नेता थापा नेविसंघको महामन्त्री र त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको अध्यक्ष हुँदा देखि नै चर्चामा छन् । 

०६४ सालको संविधानसभामा समानुपातिकतर्फबाट छिरेका थापा २०७० सालको निर्वाचनमा प्रत्यक्षतर्फबाट निर्वाचित भएका थिए । 

संविधानसभापछि रुपान्तरित संसदमा कृषि तथा जलस्रोत समितिको सभापतिको जिम्मेवारी सम्हालेका थापाले दोस्रो संविधानसभाले संविधान जारी गरिसकेपछि २०७३ सालमा स्वाथ्य तथा जनसंख्या मन्त्री बनेका थिए । 

मन्त्री हुँदा पनि राम्रो काम गरेका व्यक्तिमध्ये चिनिने थापा २०७४ सालमा काठमाडौं ४ बाट पुनः निर्वाचित भएका छन् । 

पार्टी नेतृत्व र नीतिका विषयमा निर्धक्क बत्रोल्ने थापा नेपाली कांग्रेसभित्र नेतृत्व पुस्तान्तरणको बहस मात्र चलाइरहेका छैनन् नेतृत्व पुस्तान्तरणका लागि धेरैले आशा बटुल्नसमेत सफल भएका छन् । 

सुजाता कोइराला 

कांग्रेसको केन्द्रीय सदस्य हुँदै अन्तर्राष्ट्रिय मामिला विभागको प्रमुख सम्हालिसकेकी नेतृ सुजाता कोइराला नेपाली कांग्रेसमा सबैभन्दा लामो समय सभापति भएका नेता गिरिजाप्रसाद कोइरालाकी एकमात्र सन्तान हुन् । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सबैभन्दा अग्लो राजनीतिक उचाइ बनाएका नेता कोइरालाकी पुत्री सुजाता कोइरालालाई भने पछिल्लो समय कांग्रेसको नेतृत्व तहले खासै भूमिकामा राखेको छैन । 

नेताहरुको खासै समर्थन नपाउने सुजाता गिरिजाप्रसादसँग जोडिएका कार्यकर्तामाझ भने आशालाग्दी व्यक्तिको पहिचानमा छन् । 

कल्याण गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय सभापति दाबी गर्दै गरेका ५५ वर्षीय कल्याण गुरुङ १२ औँ महाधिवेशनपछि कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य बनेका थिए । 

देउवा पक्षको नेपालगञ्ज महाधिवेनबाट नेविसंघ अध्यक्ष बनेका गुरुङ कांग्रेसका पूर्वकेन्दीय सदस्य तथा सांसद बसन्तकुमार गुरुङका जेठा छोरा हुन् । 

त्रिचन्द्र क्याम्पसबाट नेविसंघको राजनीति सुरू गरेका गुरुङ त्रिचन्द्र क्याम्पस स्ववियूमा २०४९ मा सचिव, नेविसंघ केन्द्रीय सदस्य, नेविसंघ सहमहामन्त्री हुँदै केन्द्रीय अध्यक्ष भएका थिए । – बारह्खरी