मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा दोस्रो चरणमा १ लाख १५ हजारले लगाए कोरोना विरुद्धको खोप

सुदूरपश्चिममा दोस्रो चरणमा १ लाख १५ हजारले लगाए कोरोना विरुद्धको खोप


धनगढीः सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप अभियानको क्रममा अहिलेसम्म १ लाख १५ हजार जनालाई खोप दिइसकिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। 

सुदूरपश्चिम प्रदेशमा दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान फागुन २३ गतेबाट सुरु भएको हो। दोस्रो चरणको अभियान सुरु भएको ७ दिनमै १ लाख १४ हजार ६ सय ५६ जनालाई खोप लगाइएको समाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए।

दोस्रो चरणको खोप अभियानका लागि सुदूरपश्चिम प्रदेशमा संघीय स्वास्थ्य मन्त्रालयबाट १ लाख २० हजार खोप मात्रै प्राप्त भएको हुँदा कैलाली बाहेकका जिल्लामा ६५ वर्षमाथिका नागरिकलाई मात्रै खोप दिइएको उनले जनाए। 

‘फागुन २३ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको खोप अभियानको समन्वय जिल्लास्थित स्वास्थ्य कार्यालयबाट भइरहेको छ,’ कार्कीले भने,  ‘९ वटै जिल्लामा स्वास्थ्य जनशक्ति, खोप लगाउने जनसंख्या र खोपको भण्डारण र व्यवस्थापनको सहजताको आधारमा ७ सय ३५ खोप केन्द्र सञ्चालनमा ल्याइएका छौँ।’   

प्रदेशमा ३ लाख ६३ हजारलाई २० दिनको अवधिमा खोप लगाउने लक्ष्य भेटाउन प्राविधिक हिसाबले सजिलो भएपनि खोप प्राप्त नभएको अवस्थामा भने सो लक्ष्य भेटाउन नसकिने देखिएको छ।

तर संघीय सरकारले खोपको व्यवस्थापन गरिरहेकोले प्रदेशका ५५ वर्षका सबै नागरिकलाई खोप लगाउन सम्भव भएको अधिकारीले दाबी गरेका छन्।

दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउन जेष्ठ नागरिकहरुको उत्साहपूर्ण सहभागिता रहेको अधिकारीहरुले बताएका छन्।

पहिलो चरणमा भने सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती तथा बैंकका कर्मचारी र पत्रकार लगायत ३० हजारलाई कोरोना विरुद्धको खोप लगाइएको थियो।

कोभिशिल्ड खोप एक पटक लगाइसकेको केही समयपछि दोस्रो डोज लगाउनु पर्ने भनिएको छ। 

तर दोस्रो डोजका लागि आवश्यक खोपको प्रबन्ध अझै नभइसकेको पाइएको छ। तर सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीकाअनुसार कोभिशिल्डको दोस्रो डोज १२ हप्ताभित्र सबैलाई लगाइसक्ने गरि थप खोप मगाउँने काम भइरहेको छ। 

माघमा खोप लगाएकाहरुलाई आगामी जेठ महिनाभित्र र फागुनमा लगाउनेहरुलाई असारमा दोस्रो खोप लगाउने गरी तयारी भइरहेको छ।

प्रदेशमा दोस्रो चरणमा ५५ वर्षमाथिका ३ लाख ६३ हजार जनसंख्यालाई खोप लगाउने योजना छ। खोप अभियान सन्तोषजनक भइरहेको बताइएको छ।

कोभिशिल्ड खोप लगाइसकेका व्यक्तिहरूले दोस्रो डोज पनि लगाउनु पर्ने हुन्छ। कोभिशिल्डको दोस्रो डोज १२ हप्ताभित्र लगाइसक्ने गरी खोपको प्रबन्ध मिलाउँने काम भइरहेको प्रदेश सरकारले जनाएको छ। – दिनेशखबर