मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधव नेपाल समूहले बनायो समानान्तर संरचना (सूचीसहित)

माधव नेपाल समूहले बनायो समानान्तर संरचना (सूचीसहित)


काठमाडौं । नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल समूहले समानान्तर संरचना बनाएको छ । आज बसेको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसे पछि काउन्टरमा समानान्त रसंरचना खडा गरिएको हो । 

प्रदेश नम्बर-१ को संयोजकमा भीम आचार्य, प्रदेश नम्बर-२ मा घनश्याम भुसाल, वाग्मती प्रदेश संयोजकमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश संयोजकमा सुरेन्द्र पाण्डे छन् । लुम्बिनी र कर्णाली प्रदेश संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश संयोजनको जिम्मेवारी भीम रावललाई दिइएको छ ।  

युवा संगठनको जिम्मेवारी रघु पन्त, विद्यार्थी संगठन विभाग प्रमुख गोकर्ण विष्ट, प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई बनाइएको छ । महिला विभाग प्रमुख अष्टलक्ष्मी शाक्य, वुद्धिजिवी विभाग प्रमुख प्रमेश हमाल, कानुन विभागको प्रमुखको जिम्मेवारी गोविन्द वन्दी र टीकाराम भट्टराईलाई दिइएको छ । 

यसैबीच, नेता नेपालले हिम्मतका साथ अगाडि बढनुपर्ने समय आएको बताएका छन् । अहिलेको अवस्थामा केही पार्टी नेता तथा कार्यकर्तामा निरासा छाउनसक्ने भन्दै उनले हिम्मतका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । 

“हाम्राबीचमा धेरै विवाद भए, अनेक अवस्था आए । हामी कहिले विचलित भएनौं । अहिलेको चुनौतीबाट आत्तिएका छैनौं र  आत्तिनु पनि हुन्न,” आफू पक्षधर केन्द्रीय कमिटीको बैठकलाई संबोधन गर्दै उनले भने, “अहिले अवस्था देखेर साथीहरूमा निरासा होला । केही होला की भन्ने डर पनि होला । तर, हिम्मतका साथ अगाडि बढनुपर्छ । जनताको अपेक्षा र विश्वास छ । सैद्धान्तिक सोच र धारणाबाट हामीले अगाडि बढ्नुपर्छ ।”

कसरी आन्दोलन अगाडि बढाउने भन्ने विषयमा पर्याप्त  चिन्तन मनन गरेर अगाडि बढनुपर्ने उनले बताए । कम्युनिस्ट पार्टीलाई बलियो बनाउने कोणबाट अगाडि बढ्नुपर्ने बताउँदै उनले भने, “गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने बेला आएको छ । हामी विचलित भएर हिड्ने होइन ।”

दुई ठूला पार्टीबीच एकता भएर अगाडि बढेको स्मरण गर्दै उनले अहिलेको अवस्थालाई कसरी सामना गर्ने त्यो नै अहिलेको मुख्य विषय भएको बताए ।