मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य मन्त्रालय भन्छ– लकडाउनको योजना छैन, नागरिकले अटेरी गरे भन्न सकिन्न

स्वास्थ्य मन्त्रालय भन्छ– लकडाउनको योजना छैन, नागरिकले अटेरी गरे भन्न सकिन्न


काठमाडौं– एक वर्षअघि आजकै दिन अर्थात् चैत १० गते नेपालमा कोरोना संक्रमितको संख्या दुई थियो। सरकारले कोरोना जोखिमको कारण देखाउँदै चैत ११ देखि चार महिनासम्म लकडाउन गर्‍यो। त्यसपछि पनि पटकपटक निषेध आदेश र लकडाउन घोषणा भए।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ। दुई लाख ७२ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन्। यस्तै तीन हजार १९ जनाको मृत्यु भएको छ। 

कुनै बेला दैनिक पाँच हजारसम्म संक्रमित थपिएका थिए। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दिनमा दैनिक बढीमा १५० जना संक्रमित थपिने गरेका छन्। नियन्त्रणका लागि दोस्रो चरणको खोप अभियान पूरा भइसकेको छ। यद्यपि विज्ञ भने जोखिम उच्च रहेको बताउँछन्। 

यति बेला भारतमा कोरोना संक्रमितको संख्या बढेको छ। त्यसैले सरकारले सीमावर्ती क्षेत्रमा कडाइ गरेको छ भने स्थानीय प्रशासनलाई उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट आउजाउ गर्ने नागरिकलाई आवश्यक स्वास्थ्य जाँच र क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन सबै प्रदेशका स्वास्थ्य निर्देशनालय तथा सीमा नाकाका हेल्थ डेस्कलाई निर्देशन दिएको छ।

यस्तै मुलुकभरका अस्पताल महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयको दाबी छ।

भारतका केही राज्यमा लकडाउन गरिएको छ। त्यसैले सर्वसाधारण फेरि लकडाउने हुने हो कि भन्ने चिन्तामा छन्। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने तत्काल लकडाउनको कुनै योजना नरहेको बताउँछन्।

उनी भन्छन्, ‘भारतमा संक्रमणको अर्को लहर सुरु भएको छ जसले गर्दा नेपालमा पनि पुनः कोरोना संक्रमण पहिलाकै गतिमा फैलिन सक्ने भएकाले सभा, जुलुस, र्‍यालीलगायतका गतिविधि नगर्न भनिएको हो। लकडाउनको योजना छैन।’ 

उनी सरकारले कोरोना नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेकाले नागरिकले पनि जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने बताउँछन्।

डा. गौतम भन्छन्, ‘संक्रमण रोकथाममा सहयोग गर्न सबै सरोकारवालालाई अनुरोध गरेका छौं। यति गर्दा पनि नागरिक अटेरी भएमा लकडाउनबारे सोच्नुपर्ने हुन्छ।’

नागरिक सचेत नभए कोरोना नियन्त्रणमा कठिन हुने उनी बताउँछन्। गौतम भन्छन्, ‘तीन करोड मानिसको पछिपछि लाग्न त सकिँदैन नि।’

विगतमा लकडाउनको असर भोगिसकेकाले त्यसको विकल्प खोज्नुपर्ने सुझाव विज्ञहरूको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले भने, ‘नाकामा आवश्यक पर्नेलाई एन्टिजिन परीक्षण सुरु गरिरहेका छौं।’ भारतबाट आएकालाई जनस्वास्थ्यका मापदण्ड पालना गरी होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ।’ 

संख्यात्मक रुपमा कोरोना संक्रमितको संख्या नेपालमा कम भए पनि जोखिम कायमै रहेको उनको भनाइ छ। 

भारतमा धेरै मानिसमा नयाँ भेरियन्टको शंका गरिएको छ। तर, त्यसबारे केही पुष्टि भइसकेको छैन। नेपालमा पनि त्यस्तो अवस्था आएमा जोखिम क्षेत्र हेरेर लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने निर्देशक पौडेल बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोला पनि यही अवस्थामा लकडाउन गर्नु नपर्ने बताउँछन्। जोखिम भने नघटेको उनको भनाइ छ। 

पछिल्लो समय अस्पताल पुग्ने बिरामीको अवस्थालाई हेर्दा नेपालमा पनि कोरोना संक्रमण फरक ढंगले फैलिएको हुन सक्ने उनको आशंका छ।