चितवन – चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज(सीएमसी) ले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको छ । याेसँगै काठमाण्डाै उपत्यकाबाहिर कलेजाे प्रत्याराेपण गर्ने सीएमसी पहिलाे भएकाे डाक्टरले बताएका छन् ।
भरतपुर महानगरपालिका १० घर भइ काठमाण्डाै बस्दै आउनुभएकी ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको चितवन मेडिकल कलेजका अध्यक्ष डाक्टर हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।
लामालाई उनकी ३४ वर्षीया छोरी उषाले कलेजो दिनुभएको हो । चैत ८ गते झण्डै १२ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको न्यौपानेले बताए । अहिले आमाछोरीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
कलेजो प्रत्यारोपणका लागि कलेजमा चार जना सर्जन, तीन जना क्रिटिकल केयर, तीन जना एनेस्थेसियोलोजिस्ट, १० जना विशेष तालिम प्राप्त नर्स छन् । चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गराउने धनकुमारी लामा नेपालमा आठौँ बिरामी हुनुहुन्छ । यसअगाडि त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा पाँच र मानव अङ्ग प्रत्यारोपण केन्द्रमा दुई जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ ।
कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर हरिशचन्द्र न्यौपानेका अनुसार कलेजो प्रत्यारोपणका लागि अलग्गै अप्रेशन कक्ष र आईसीयू तयार गरिएको छ । अहिले कलेजो प्रत्यारोपणका लागि २५ लाख रुपैयाँ खर्च लाग्ने डा. न्यौपानेले बताए ।
प्रतिक्रिया