काठमाडौं – सन् २०१४ देखि २०१७ को समरसम्म यूरोपियन फुटबलमा कसको दबदबा थियो ? उत्तर सहज छ- बार्सिलोना र रियल मड्रिड। यी दुई स्पेनिस क्लबमा यस्ता खेलाडी थिए, जसको चर्चा विश्वभर थियो नै। सँगै उनीहरुले मैदानमा अद्भूत खेल पस्कन्थे।
बार्सिलोनामा मेस्सी, स्वारेज र नेयमारको ट्रियो थियो। जसलाई ‘एमएसएन’को उपनामले चिनिन्थ्यो। चिरप्रतिद्वन्दी रियलसँग पनि यस्तै ट्रियो थियो। जहाँ थिए- रोनाल्डो, बेल र बेन्जिमा। रियलको ट्रियोलाई नाम दिइएको थियो–बीबीसी।
आज न बार्सिलोनासँग त्यो ट्रियो छ, न त रियल मड्रिडसँग नै। बार्सिलोनामा एमएसनका मेस्सी मात्रै बाँकी छन्। नेयमार पीएसजीमा छन् भने स्वारेज एट्लेटिको मड्रिडमा।
रियलको अवस्था पनि उस्तै छ। बीबीसीका बेन्जेमा मात्रै अहिले रियलमा छन्। रोनाल्डो युभेन्टसबाट खेलिरहँदा बेललाई रियलले लोनमा टोटनहम हट्सपर पठाएको छ। बार्सिलोनामा चर्चित एमएसन ट्रियो पुनः फर्कने सम्भावना छैन।
तर, रियलमा बीबीसी नि? प्रश्न मात्रै उठेको छैन। यो ट्रियो पुनः एकपटक सेन्टियागो बर्नबेउमा फर्कने संकेत समेत देखा परेका छन्।
यूरोपियन फुटबलमा अझै पनि रियलले राज गरेको छ। समानान्तर प्रदर्शन, बलियो रणनीति, जितको भोक र लगातार उपाधि अर्थात् रियल मड्रिड। सन् २०१८ मा लगातार तेस्रोपटक (समग्रमा १४औं) च्याम्पियन्स लिगको उपाधि जितेपछि सबैलाई लागेको थियो– रियलभन्दा बलियो अर्को छैन।
तर, कथा सधैं उस्तै कहाँ रहन्छ र? लगातार तेस्रो च्याम्पियन्स लिग सेन्टियागो बर्नबेउ भित्र्याएपछि प्रशिक्षक जिनेदिन जिदानले छोडे। जिदानसँगै भेट्रान फरवार्ड रोनाल्डोले समेत स्पेनको राजधानीलाई विदाइको हात हल्लाए। उनी युभेन्टस पुगे।
जिदानलाई जुलन लोपेटेगुईले प्रतिस्थापन गरे। रियलले जिदानको विकल्प त खोज्यो तर, रोनाल्डोको ? सहज कहाँ छ थियो र विश्वका सर्वोत्कृष्ट खेलाडी, क्लबका सर्वाधिक गोलकर्ताको प्रतिस्थापन खोज्न। त्यसैले त अहिले पनि रियलले रोनाल्डोको उत्तराधिकारी पाउन सकेको छैन।
लोपेटेगुईको नेतृत्वमा रियलले खराब प्रदर्शन गर्यो। उनलाई बर्खास्त गर्दै बी टिम सम्हालिरहेका सेन्टियागो सोलारीलाई जिम्मेवारी दिइयो। तर, अवस्था सुध्रिएन। त्यसैले त रियलले ९ महिनापछि पुनः जिदानलाई फर्कायो। तर, ९ महिनापछि क्लबमा जिदान फर्कँदा बेलको भविष्यमाथि कालो बादल मडारिन थाल्यो। खेल्नका लागि उनले ठूलै संघर्ष गर्नुपर्यो।
प्रशिक्षकको रुपमा जिदानको दोस्रो इनिङमा रियलले ला लिगा जित्यो। बार्सिलोनासँगको कडा टक्करका बीचमा रियलले उपाधि जितेको थियो। उत्कृष्ट खेल पस्कन नसक्दा समर्थकले धक फुकाएर खुसी मनाएनन्। अझ बेलले त मनाउने कुरै भएन।
च्याम्पियन्स लिगमा समेत रियलको उपस्थिति पछिल्लो तीन सिजन बिर्सनलायक छ। उसको यात्रा क्वाटरफाइनल माथि पुग्न सकेको छैन। बेल बेन्चमा थन्काउँदा जिदानमाथि आरोप लाग्ने गरेको थियो- उनले बेललाई सडाउने काम गरेका छन्। हुन पनि हो, केही खेलमा बाहेक पूरै सिजन उनले मौका पाएनन्। जिदान र बेलबीचको तिक्ततापूर्ण सम्बन्धकै कारण उनी पुरानो क्ल्ब टोटेनहम हट्सपर पुगेका छन्।
टोटनहमा उनी अहिले उत्कृष्ट फर्ममा फर्किएका छन्। चालू सिजनमा १० गोल र तीन एसिस्ट बेलको नाममा छ। टोटनहमका प्रशिक्षक जोसे माउरिन्होको भनाइ मान्ने हो भने अब बेललाई खेल्न समस्या छैन।
अब के त?
पछिल्लो केही दिनयता यूरोपियन फुटबलमा एउटा हल्ला चलिरहेको छ। त्यो के भने रियलमा पुनः बीबीसीको पुनरागमन। बेलले पुनः मड्रिड फर्कन चाहेको बताएपछि यो हल्ला झन् फैलिएको छ। अहिले वर्षको लोनमा टोटेनहममा खेलिरहेका उनको लोन अवधि जारी सिजन सकिएसँगै सकिन्छ।
‘इंग्ल्यान्डमा खेल्दा मलाई कुनै अप्ठ्यारो छैन,’ भविष्यबारे गरिएको प्रश्नमा बेलले भने, ‘एक वर्ष स्पर्सबाट खेल्ने मेरो योजना थियो। त्यसपछि पनि मेरो रियलमा एक वर्ष सम्झौता (सन् २०२२ सम्म) बाँकी रहन्छ। म अब रियल फर्किने तयारीमा छु। पछिल्ला केही वर्षमा अहिले सबैभन्दा उत्तम म्याच फिटनेसको अवस्थामा छु। अहिले फ्रेस छु र खेलमा फर्किसकेको छु।’
रियलबाट बाहिरिएपछि बेललाई फाइदा पनि भयो। फिट बने, खेल्ने थप अवसर पाए र आफूलाई सावित गरे।
अबको उनको ध्येय वेल्सबाट पनि राम्रो गर्ने हो। रियलबाट २५१ खेल खेलिसकेका उनको अर्को लक्ष्य हो– रियलमा थप योगदान गर्ने। उनले रियलबाट १०५ गोल गरेका छन् भने ६८ एसिस्ट गरिसकेका छन्।
बेलमात्रै होइन, रोनाल्डोसमेत पूर्वक्लब फर्कने चर्चा चुलिएको छ। पूर्वक्लबले बोलाए उनी स्पेनिस राजधानी फर्कने तयारीमा छन्। चालू सिजनमा ३४ खेलमा ३० गोल गरिसकेका उनी सिरी ए का सर्वाधिक गोलकर्ता सूचीमा पहिलो नम्बरमा छन्। तर, च्याम्पियन्स लिगमा लगातारको असफलताले उनी टुरिनमा दिक्क बनेको रिपोर्ट मिडियामा आइरहेका छन्। युभेन्टसमा उनले गत सिजन ४६ खेलबाट ३७ गोल त गरेका थिए। र, २०१८–१९ मा २८ गोल।
उनले गोल संख्यालाई हेर्ने हो भने रियलले पछिल्लो सिजनमा ९५ गोल गर्ने खेलाडी गुमाएको छ। रोनाल्डोको बहिर्गमनपछि रियलमा बेञ्जिमाले थप अवसर त पाए। तर लस ब्लांकोस रोनाल्डोको छायाबाट मुक्त हुन सकेको छैन। ‘म उनलाई जान दिने पक्षमा थिइनँ। किनभने उनी विश्वका उत्कृष्ट खेलाडी हुन्। उनले हामीलाई जितसम्म पुर्याएका छन्,’ रियलका कप्तान सर्जियो रामोसले रोनाल्डोको बहिर्गमनपछि भनेका थिए, ‘उनको बहिर्गमनपछि उनले पनि हारे, हामीले पनि हार्यौ। उनी निर्णयवान् खेलाडी हुन् जसले हामीलाई अझै सहयोग गर्न सक्नेछन।’
रोनाल्डोको पुनरागमनको सम्भावना कति छ? जिदान भन्छन्, ‘रानाल्डो फर्कने सम्भावना कायमै छ।’
रोनाल्डो टुरिन पुग्दा युभेन्टस र उनको महत्वाकांक्षा थियो- च्याम्पियन्स लिगको उपाधि। सन् १९९६ पछि पहिलोपटक च्यम्पियन्स लिग जित्ने युभेन्टसको योजनामा उनै रोनाल्डो रहनेछन्। रोनाल्डोको महत्वाकांक्षा थियो- तीन फरक देशका क्लबबाट च्यम्पियन्स लिग जित्ने। तर, तीन सिजनमा न युभेन्टसले सोचेको जस्तो भएको छ, न त रोनाल्डोको इच्छा पूरा भएको छ। चालू सिजनमा त युभेन्टसले पछिल्ला आठ वर्षदेखि लगातार जित्दै आएको सिरी ए को उपाधि पनि गुमाउने देखिएको छ। अहिले च्याम्पिन्यस लिगको असफलतासँगै सिरि ए मा समेत कमजोर प्रदर्शनपछि समर्थकले समेत रोनाल्डोमाथि रोष व्यक्त गर्न थालेका छन्। त्यसैले त भन्न थालिएको छ- आउँदो समरमा रोनाल्डोले युभेन्टस छोड्न सक्नेछन्।’
यदि यो अनुमान सत्य सावित बनेमा रोनाल्डो रियल फर्कने छन्। फर्ममा रहेका बेल स्पेनमा पुग्नेछन्। रामोसको सम्झौता कम्तिमा पनि एक वर्ष थपिने छ।
फेरि एकपटक रियलको त्यही लय, त्यही फर्म, पुरानै टिम, उस्तै खेल र जितको स्वाद रियल समर्थकले चाख्नेछन्। जुन स्वाद पछिल्लो समय सन् २०१८ मा युक्रेनको राजधानी किभमा भएको च्याम्पियन्स लिग फाइलनमा समर्थकले चाखेका थिए। सन् २०१७ मा वेल्सको मेलेनियर रंगशाला र सन् २०१६ मा इटालीको सानसिरोमा जितको स्वाद क्लब र समर्थकले मज्जैसँग लिएका थिए।
बीबीसीको ट्रियोले जितेको थियो- पाँच सिजनमा चार च्याम्पियन्स लिग उपाधि। जब बेल २०१३ को समरमा रियल आइपुगे। त्यसपछि यो ट्रियोले २०१८ को सिजनसम्म युरोपियन फुटबलमा राज गर्यो।
२०१३-१४, २०१५-१६, २०१६-१७ र २०१७-१८ मा यही ट्रियोले च्याम्पियन्स लिग जितेको थियो। यस्तै एक ला लिगा र चार क्लब विश्वकपको उपाधि समेत उनीहरुले जितेका थिए।
अनि हल्यान्ड र एमबाप्पे ?
आगामी सिजनमा रियल मड्रिड कस्तो होला ? के बीबीसीलाई एकसाथ देख्न पाइएला ? वा केलियन एम्बाप्पे वा इर्लिङ हल्यान्ड सेन्टियागो बर्नबेउ आउलान् ? यी प्रश्नको उत्तर कुर्न आगामी सिजनको सरुवा बजार कुर्नुपर्छ। तर, हल्यान्ड वा एम्बाप्पे अनुबन्ध गर्नु रियलको भविष्यका लागि फाइदाजनक हुन्छ। रोनाल्डो रियलका लिजेन्ड हुन्, गोल मेसिन पनि हुन्। तर, उनीमाथिको लगानी रियलका लागि दिर्घकालिन लगानी भने हुने छैन।
(मार्का, बीबीसी, नाइस्पोर्टस् प्रो र रोनाल्डोडटकमको सहयोगमा विनय ज्योती सापकोटाले तयार पारेको सामग्री)
प्रतिक्रिया