मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवीन्द्रराज जोशी : नेविसंघको साधारण सदस्यदेखि उद्योगमन्त्रीसम्म

नवीन्द्रराज जोशी : नेविसंघको साधारण सदस्यदेखि उद्योगमन्त्रीसम्म

सादा जीवन र उच्च विचारका अभ्यासकर्ता


सादा जीवन र उच्च विचारका अभ्यासकर्ता 

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्काघात भई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत् नेता जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ ।

जोशी नेपाल विद्यार्थी संघको साधारण सदस्य हुँदै नेपाली कांग्रेसको केन्द्रीय सदस्य र नेपाल सरकारको उद्योगमन्त्रीसम्म भए । सानो छँदादेखि नै सर्वमान्य नेता गणेशमान सिंहको सानिध्यमा हुर्कने अवसर पाएका जोशी कम उमेरमै महत्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्ति हुन् ।

बुवा गजेन्द्रराज जोशी र आमा गीता जोशीबाट २०१८ साल असार ३ गते काठमाडौंमा जन्मिएका जोशी १८ वर्षको उमेरदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आबद्ध भएर राजनीतिक आन्दोलनमा भाग लिएका थिए । ०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रियतापूर्वक भाग लिएका उनले त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिव र नेविसंघ काठमाडौंको अध्यक्ष भएर काम गरे ।

२८ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारी सम्हालेका जोशीले ०४४ देखि ०४८ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरेका थिए । ०४८ सालको बुटवल महाधिवेशनमा नेविसंघ अध्यक्षको प्रत्यासी बनेका जोशी कांग्रेस नेता एनपी साउदसँग पराजित भएपछि काठमाडौंको स्थानीय राजनीतिमा सक्रिए भएका थिए ।

प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो स्थानीय चुनावमा ०४९ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएका जोशीले मेयरमा निर्वाचित भएका पीएल सिंहसँग पाँच वर्ष स्थानीय जनप्रतिनिधि भएर ०५४ सालसम्म काम गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका जोशी संविधानसभाको ०६४ र ०७० मा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–८ बाट निर्वाचित भएका थिए ।

०७० सालको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका जोशीले नेपाल औषधि कम्पनी पुनःस्थापित गरेर चर्चा कमाएका थिए । जोशीले बन्द अवस्थामा रहेका उद्योग सञ्चालन गर्ने नीति मात्र ल्याएनन्, नेपाल औषधि लिमिटेडको सञ्चालन नै गरेपछि उनको चर्चा चुलिएको थियो ।

०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माणका लागि लगानी सम्मेलनको संयोजक भएर काम गरेका जोशीले १४ खर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता ल्याएपछि जोशीको कम बोल्ने र काम गरेर देखाउने नेताको पहिचान बनेको थियो । यद्यपि, पछि विभिन्न कारणले प्रतिबद्धताअनुरुप लगानी भित्रन भने सकेन ।

‘जनतासँग कहिल्यै टाढा बस्दिनँ र चुनाव हार्दिनँ’ भन्दै आत्मविश्वास देखाउने जोशी ०७४ को निर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्रको एकता र कम्युनिस्ट पार्टीको लहरका कारण ३५४ मतको झिनो मतान्तरबाट एमालेका जीवनराम श्रेष्ठसँग पराजित भए । जोशीले ‘चुनाव हार्दैमा नेताको जनताप्रतिको दायित्व सकिँदैन’ भन्ने मान्यता बनाएका थिए । पराजित भए पनि जोशी आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय भए ।

जोशीले कोरोनाभाइरसको संक्रमण चुलिएको समयमा कोरोना परामर्शका लागि जनस्वास्थ्यविद्सहितका डाक्टरहरुको टिम बनाए । ती डाक्टरहरुले परामर्श दिने सेड्युल बनाए र नागरिकलाई परामर्शका लागि सम्पर्क गर्न नम्बर सार्वजनिक गरिदिए । मास्क, स्यानिटाइजर र कोरोनाबारे जानकारीमूलक पर्चा बनाएर लकडाउनमै उनले आफ्नो क्षेत्रका नागरिकमा जनचेतना अभियान चलाएका थिए । भौतिक दूरी काम राख्दै घरदैलो अभियान नै चलाएर कोरोनाबाट त्रस्त मानिसमा आशा जगाए ।

जोशी ०६७ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय सदस्यको भूमिकामा आएका थिए । कांग्रेसका युवा के चाहन्छन् ? राजनीतिमा युवापुस्ता किन विकर्षित हुँदै छ ? युवाको कांग्रेसको राजनीतिमा अनिवार्य सहभागिताका लागि के गर्नुपर्छजस्ता बहस र छलफल चलाएर चर्चामा आएका उनी कांग्रेसमा युवाको सहभागिता सुनिश्चितताका लागि प्रस्ताव लैजान युवासँग शृंखलाबद्ध सुझाव संकलन गरिरहेका थिए । – बारह्खरी