मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाताका प्यारो थिए नेता जोशी

मतदाताका प्यारो थिए नेता जोशी


काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको ५७ वर्षको उमेरमा निधन भएको छ । एक्कासि मस्तिष्काघात भएर फागुन १४ गते अस्पताल भर्ना भएका जोशीको शुक्रबार निधन भएको हो ।

गत फागुन १४ राति १२ बजे बायाँ हात चल्न छाड्यो मलाई अस्पताल लैजाऊ भनेपछि परिवारले वीर अस्पताल पुर्‍याएको थियो । करिब दुई घण्टा वीर अस्पतालमा गरिएको उपचार प्रयासमा मस्तिष्काघात पुष्टि भएको थियो । वीर अस्पताल पुग्दासम्म परिवारका सदस्यसँग होसमै कुरा गर्दै पुगेका जोशी अस्पताल पुगेपछि भने बेहोस भएका थिए । सिटी स्क्यान गर्दा मस्तिष्काघात पुष्टि भएपछि नर्भिक पुर्‍याउँदा जोशीको अवस्था थप बिग्रएको थियो । उनलाई बान्ता भएको र  फोक्सोमा बान्ता छिरेको तथा मस्तिष्कमा भएको रक्तश्रावले निकास अवरुद्ध हुँदा पानी जमेका थियो ।

त्यही दिन जोशीको मस्तिष्कको अप्रेसन गरी पाइपबाट पानी निकास गर्दा १२० मिलिलिटर पानी निस्किएको थियो । अप्रेसनपछि स्वास्थ्यमा केही सुधार आएको भनिए पनि पाँच दिनपछि डाक्टरले जोशी पुन: कोमामा गएको जानकारी दिएका थिए । त्यसयता डाक्टरहरूले जोशीलाई बचाउन सक्ने सम्भावना न्यून भएको भन्दै उनको जीवन जोगिए पनि सामान्य जीवनमा फर्कने सम्भावना भने नरहेको बताएका थिए ।

पिता गजेन्द्रराज र आमा गीताका पुत्रका रुपमा उनी २०१८ असार ३ गते काठमाडौंमा जन्मिएका हुन् । उनी नेपाल विद्यार्थी संघको साधारण सदस्य, काठमाडौं जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै महामन्त्रीसम्म भएका थिए । २०४४ देखि २०४८ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरेका जोशी २०४८ सालको महाधिवेशनमा अध्यक्षको प्रत्यासी बनेका थिए । अध्यक्षमा एनपी साउदसँग पराजित भएपछि जोशी कांग्रेसको पार्टी राजनीतिमा क्रियाशील भएका थिए । 

नेपाली कांग्रेस काठमाडौंका सचिव भएर काम गरेका जोशी २०४९ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयर भएर काम गरेका थिए । काठमाडौं क्षेत्र नम्बर ८ बाट दुईपटक संविधानसभामा सदस्य  निर्वाचित भएका जोशी जनतासँगको सम्बन्धबाट सधैं प्यारो नेताको पहिचान बनाएका थिए ।

जोशीले १४औं महाधिवेशनमा कांग्रेसको महामन्त्री लड्न गृहकार्य गर्दै युवा अभियान चलाइरहेका थिए । कांग्रेसमा लागेका युवाहरू निराश भएको, नयाँ पुस्ता पार्टीसँग आकर्षित नहुने अवस्था बनिरहेको भन्दै कांग्रेसमा युवा आकर्षण र जोस भर्न केन्द्रीय समितिमा लैजान प्रस्तावसमेत तयार पारेर उनी बसेका थिए । तर जोशीले यो प्रस्ताव भने केन्द्रीय समितिसम्म पुर्‍याउन भ्याएनन् । उपचारकै क्रममा उनको आज काठमाडौंको नर्भिक अस्पतामा निधन भएको थियो ।