मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा, अझै केहीदिन रहने

विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा, अझै केहीदिन रहने


काठमाण्डाै – विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा देखिएको छ ।

विश्वभरका सहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमका अनुसार काठमाण्डौको एक्यूआई अहिले ४२१ रहेको छ । हिजोदेखि काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँको हावाको प्रदूषण अझै केही दिन रहने भएको छ ।

हिजो स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको हावाको प्रदूषण खतराको अवस्थाबाट अझै तल झरेको छैन । हिजो काठमाण्डाैमा एक्यूआई ४७० सम्म पुगेको थियो । हिजोको तुलनामा केही कम भएको देखिए पनि यो सुधार हुन अझै केही दिन लाग्ने वातावरण विभागले जनाएको छ । 

हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिन्छ । ३ सयभन्दा माथि पुग्नुलाई अति हानिकारक मानिन्छ ।

नेपालमा धेरैजसो जिल्लाहरुमा डढेलो लागिरहेको र तत्काल पानी पर्ने सम्भावनासमेत नरहेकाले अबको केही दिनसम्म वायुमण्डल सुधार हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डाै उपत्यकाको भक्तपुर, कीर्तिपुर, भैंसेपाटी, सिमरालगायतका ठाउँको एक्यूआई हिजोदेखि तीन सय नाघेको छ ।

हेटौँडा, विराटनगर, जनकपुर, धनगढी लगायतका ठाउँमा पनि हावाको प्रदूषण अत्याधिक बढेको छ । हावाको प्रदूषण मापन सूचक (एक्यूआई) सबैभन्दा धेरै काठमाण्डाैमा देखिएको छ । काठमाण्डाै उपत्यकामा एक्यूआई ३ सय नाघेको छ ।

हावाको प्रदूषणले क्यान्सरसमेत गराउन सक्छ

एक्यूआई ३ सय नाघ्नुलाई स्वास्थ्यका लागि निक्कै घातक मानिने र यस्तो अवस्थामा विपद् घोषणा गर्नुपर्ने वातावरणविद्हरुको भनाइ छ ।

अत्याधिक प्रदूषणमा क्यान्सरजन्य रसायनसमेत मिसिएको हुने भएकाले यस्तो बेलामा छातीको रोगमात्र नभएर क्यान्सरको जोखिमसमेत हुने छाती रोग विशेषज्ञरुले बताएका छन् । प्रदूषणका कणहरु श्वासप्रश्वास नलीको भित्तामा जम्मा भएमा दीर्घकालीन दमलगायत रोग लाग्नुका साथै क्यान्सरको खतरासम्म हुने छातीरोग विशेषज्ञको भनाइ छ । 

उपत्यकाको प्रदूषणमा गाडीको भूमिका ३० प्रतिशत, पूर्वाधार निर्माणको ५३ प्रतिशत र इँटाभट्टाको नौ प्रतिशत रहने गरेको छ । यस्तै बाँकी आठ प्रतिशत उद्योग–कलकारखाना, फोहोर जलाउँदा, घरभित्रको धुवाँ रहने गरेको वातावरण विभागले जनाएको छ । यसअघि गएको पुसमा पनि प्रदूषण निकै बढेको थियो । त्यसबेला पनि प्रदूषणका कारण मानिसहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएको थियो ।

प्रदूषणको असरबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणको असरबाट जोगिन अपिल गरेको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँको वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेको भन्दै घरबाहिर खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने जस्ता काम नगर्न अपिल गरेको हो । 

मन्त्रालयले बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ । मन्त्रालयले फोहर नजलाउन पनि अनुरोध गरेको छ । यस्तै घरबाहिर ननिस्कन, निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न र धुलो, धुँवा उड्ने पेसा, व्यवसाय केही दिनलाई रोक्न र अति आवश्यक नभइ गाडी नचलाउन भनेको छ ।