काठमाडौं – अण्डा प्रोटिनको प्रमुख स्रोत हो। बालबालिकालाई अण्डा खुवाउँदा मस्तिष्क तिखो बनाउन मदत गर्ने चिकित्सक बताउँछन्। यसका अन्य थुप्रै फाइदा छन्। त्यसैले त अधिकांशले दैनिकजसो अण्डा खान्छन्। तर अण्डाको उपभोग्यबारे तपाईंलाई थाहा छ?
नेपालमा सरकारको कुनै पनि निकायले अण्डाको उपभोग्य अवधिबारे मापदण्ड बनाएका छैनन्। त्यसैले तपाईंहामीले खाँदै आएको अण्डा अखाद्य पनि हुन सक्छ। यसबारे सरकारी निकाय नै बेखबर छन्।
पशु सेवा विभागका अनुसार नेपालमा वार्षिक एक अर्ब ६० करोड अण्डा उत्पादन हुन्छ। यस हिसाबले प्रत्येक नेपाली वर्षमा आवश्यक हुने ४८ वटा अण्डा नेपाली उत्पादनबाटै उपभोग गर्न पाइरहेका छन्।
नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर भएको घोषणा भइसकेको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पूर्वमहानिर्देशक योगेन्द्र गौचन अण्डाको उपभोग्य मापदण्डबारे कुनै पनि व्यवस्था नभएको स्वीकार गर्छन्।
उनी भन्छन्, ‘अण्डाको उपभोग्य मितिसम्बन्धी कुनै पनि मापदण्ड नहुनु हाम्रो कमजोरी हो। उत्पादक र थोक विक्रेताबाटै उपभोग्य मिति उल्लेख गर्नुपर्छ। यसका लागि सरकारी निकायले मापदण्ड बनाउनुपर्छ।’
उत्पादकबाटै यसको सुरुवात हुन सकेमा थोक विक्रेतादेखि खुद्रा विक्रेतासम्मका सबै व्यवसायी उपभोग्य मिति उल्लेख गर्न प्रोत्साहित हुने गौचन बताउँछन्।
के भन्छन् उत्पादक?
अण्डा उत्पादक पनि दुई सातासम्म अण्डा उपभोग गर्न मिल्ने बताउँछन्।
चिसो व्यवस्थापन गर्न सकेमा एक महिनादेखि ४५ दिनसम्म उपभोग गर्न मिल्ने भए पनि १५ दिनभित्रै अण्डा उपभोग गरिसक्नुपर्ने अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी बताउँछन्।
‘अण्डा उपभोग्य मिति अहिलेसम्म लेखेको चाहिँ छैन’, उनी भन्छन्, ‘सरकारले आवश्यक सहयोग गरेमा हामी उपभोग्य मिति लेख्न तयार छौं।’
मागअनुसार बजारमा उत्पादनको १५ दिनभित्रै उपभोग भइसक्ने भए पनि सरकारले मापदण्ड बनाउन अनिवार्य रहेको केसीको भनाइ छ।
कति दिनसम्म उपभोग गर्न मिल्छ?
पशु चिकित्सकका अनुसार सामान्यतया अण्डा १५ देखि २० दिनसम्म उपभोग गर्न लायक हुन्छ।
पशु सेवा विभागका चिकित्सक डा. मनोजकुमार शाही सामान्य तापक्रममा १५ देखि २० दिनसम्म अण्डा उपभोग गर्न मिल्ने बताउँछन्।
‘चिस्यान व्यवस्थापन गर्न सकियो भने लामो समय राख्न नसकिने होइन’, शाही भन्छन्, ‘सामान्यतया रुम टेम्प्रेचरमा १५ देखि २० दिनभन्दा बढी एकदुई दिनमै अण्डा बिग्रिहाल्छ।’
करिब २७ डिग्री सेल्सियस तापक्रमभन्दा कम तापक्रममा बढीमा २० दिनसम्म उपभोग गर्न लायक हुन्छ।
त्यसभन्दा बढी तापक्रम भएमा अण्डा चाँडो बिग्रिने शाहीको भनाइ छ। ‘बढी तापक्रम भयो भने प्रोटिन नास हुन्छ। गन्हाउन थाल्छ’, शाही भन्छन्।
पशु सेवा विभागका चिकित्सक डा. चन्द्र ढकाल अण्डा दुई सातासम्म उपभोग गर्न सकिने भए पनि त्यस विषयमा कुनै मापदण्ड नरहेको बताउँछन्।
मापण्ड निर्धारण विभागको क्षेत्राअधिकार नभएको ढकालको भनाइ छ। ‘गुणस्तर नियमन गर्ने कामचाहिँ विशेष गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो’, ढकाल भन्छन्, ‘खाद्य गुणस्तर केके आधारमा निर्धारण गर्ने भन्ने विषयमा विभागको संलग्नता रहन्छ।’
उनका अनुसार अण्डा उत्पादक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवम् वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अण्डाको गुणस्तर र उपभोग्य अवधिबारे बढी चासो दिनुपर्छ।
पन्छिँदै खाद्य प्रविधि विभाग
खाद्य वस्तुको गुणस्तर र मापदण्ड निर्धारण गर्ने मुख्य निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो। विभागले विभिन्न खाद्य वस्तुको गुणस्तरका विषयमा मापदण्ड निर्धारण गर्दै आएको छ।
तर, अण्डाका विषयमा आफ्नो क्षेत्राधिकार नभएको भन्दै विभागले पन्छिन खोजेको छ। विभागका महानिर्देशक उपेन्द्र राय माछा, मासु र अण्डाका विषयमा पशु सेवा विभागले काम गर्दै आएको बताउँछन्। अण्डाको गुणस्तर निर्धारण विभागको कार्य क्षेत्रभित्र नपर्ने उनको भनाइ छ।
‘कृषिले के गर्ने? खाद्यले के गर्ने भन्ने हाम्रा बोर्डर लाइन हुन्छन्’, राय भन्छन्, ‘पुराना ऐनअनुसार अहिलेसम्म पशु सेवा विभागबाट काम हुँदै आएको छ। यो पशु सेवा विभागकै क्षेत्राधिकार हो।’
खाद्य भन्नाले कृषि उपज र पशुउपज दुवै हुन्। तर केही ऐनकानुन कृषि विभागले र केही ऐनकानुन पशु सेवा विभागले कार्यान्वयन गर्दै आएका छन्।
‘हामीले खाद्य र दाना ऐन कार्यान्वयन गर्दै आएका छौं’, उनी भनछन्, ‘पशुका सरहरुले पशुजन्य उत्पादन मासुको माछाको मापदण्ड कार्यान्वयन गर्दै आएकाले अण्डाको उपभोग्य अवधि तोक्ने अधिकार उहाँहरूकै हो।’
पशु सेवा विभागका प्रवक्तासमेत रहेका चिकित्सक चन्द्र ढकाल भने अण्डाको उपभोग्य मिति तोक्ने कार्य क्षेत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकै रहेको दाबी गर्छन्।
प्रतिक्रिया