काठमाडौं । सन् १९९९ अक्टोबर ४ बालगोपाल महर्जनका लागि फुटबल जीवनको एक महत्वपूर्ण दिन थियो । उनले फुटबलमा लागेदेखि देशलाई घरेलु मैदानमा नै महत्वपूर्ण सफलता दिलाउने सोचेका थिए ।
सात देश सम्मिलित आठौँ सागमा नेपाल फाइनलमा पुग्यो । बंगलादेशसँग फाइनल खेल खेल्यो । घरेलु मैदानमा नेपालले नतिजा आफ्नो पक्षमा पार्न सकेन । नेपाल बंगलादेशसँग १–० ले पराजित भयो । सोही टिमको महत्वपूर्ण खेलाडी थिए, बालगोपाल महर्जन ।
महर्जन हाल प्रशिक्षकको भूमिकामा छन् । महर्जनकै नेतृत्वमा नेपाली टोलीले वि.सं. २०६४ सालपछि घरेलु मैदानमा पहिलोपटक उपाधि उचाल्यो । त्रिदेशीय फुटबलअन्तर्गत नेपालले फाइनलमा बंगलादेशलाई पराजित गर्दै उपाधि जित्यो ।
उक्त उपाधि महर्जनका लागि विशेष रह्यो । विशेष यसकारण कि सन् १९९९ को सागमा घरेलु मैदानमा उनी खेलाडी रहँदा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । नेपाललाई उपाधि दिलाउन महर्जनलगायत खेलाडी असफल भएका थिए ।
“घरेलु मैदानमा नै साग फुटबलको उपाधि जिताउन नसक्दा आफ्नो खेल जीवनमा देशका लागि केही कुरा गुमाएँ भन्ने भएको थियो । तर, त्यो उपलब्धि हासिल नगरे पनि फुटबलमा नै केही सफलता दिलाउन सकेँ भन्ने लागेको थियो,” महर्जनले भने ।
सन् १९९३ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका महर्जनले देशका लागि धेरै सफलतामा महत्वपूर्ण योगदान गरे । “नेपाली फुटबल टोलीमा जे जति गरेँ, त्यो एक जिम्मेवारीको रुपमा थियो,” उनले भने, “नेपाली फुटबलका लागि धेरैपटक जिम्मेवारी लिने मौका पाएँ । सबै जिम्मेवारीमा सफलता दिलाउने मेरो योजना थियो । कतिमा सफलता मिल्यो, कतिमा मिलेन । त्रिदेशीय फुटबलको उपाधि मेरो लागि केही विशेष थियो ।”
उनले खेलाडी र प्रशिक्षकको करियरमा हेर्दा यो उपाधि आफ्नो लागि महत्वपूर्ण भएको बताए । “यो उपाधि मेरो लागि महत्वपूर्ण हो । बंगलादेशलाई जित्दा आउने आनन्द बेग्लै हुन्छ । खेलाडी हुँदा मैले पूरा गर्न नसकेको काम प्रशिक्षक हुँदा पूरा गर्न सकेँ । यो मेरो लागि विशेष उपाधि हो । मेरो खेल जीवनको पनि महत्वपूर्ण,” महर्जनले भने ।
उपाधिसँगै नेपालले सात खेलदेखि लागेको गोलको खडेरी पनि महर्जनकै प्रशिक्षणमा तोड्न सफल भयो । नेपालले अन्तिमपटक विश्वकप छनोटअन्तर्गत चाइनिज ताईपेईविरुद्धको खेलमा दुई गोल गरेको थियो । त्यसयता नेपालले सात खेलमा गोल गर्न सकेको थिएन ।
त्रिदेशीय फुटबलको सुरुवाती दुई खेलमा नेपालले बराबरी खेल्दा उनी आलोचित भए । “खेलाडी छनोट र मेरो ड्रिम टिमको विषयलाई लिएर धेरैपटक आलोचना भयो । उक्त आलोचनालाई मैले खेपेँ पनि । तर, फाइलनमा नेपाललाई उपाधि जिताएसँगै आलोचना पनि समाप्त भयो,” महर्जनले भने । – बारह्खरी
प्रतिक्रिया