मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्द्रमा पनि समानान्तर कमिटी गठन हुन्छ : नेपाल

केन्द्रमा पनि समानान्तर कमिटी गठन हुन्छ : नेपाल


पोखरा– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आवश्यक परे केन्द्रमा पनि समानान्तर कमिटी गठन गरिने बताएका छन्।

कास्कीमा बिहीबार पार्टीको समानान्तर जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आवश्यक परे केन्द्रमा पनि समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका हुन्। 

एमालेभित्र आन्तरिक विवाद चुलिँदै गएको अवस्थामा नेपाल समूहले कास्कीबाट समानान्तर कमिटी गठन अभियान सुरु गरेको छ।

नेता नेपालले अर्का नेता वामदेव गौतम पनि आफ्नै पक्षमा रहेको भन्दै केपी ओलीको अतिवादविरुद्ध राजनीति र वैचारिक प्रशिक्षण चलाउने बताए। 

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि समानान्तर हिसाबले अगाडि बढेको नेकपा एमालेको माधव नेपाल–झलनाथ पक्षले पोखरामा समानान्तर जिल्ला कमिटी गठन गरेको हो। 

एमालेबाट ६ महिनाका लागि निलम्बित वरिष्ठ नेता नेपाल अर्का नेता सुरेन्द्र पाण्डेसहित समानान्तर जिल्ला कमिटी घोषणा गर्न बुधबार पोखरा पुगेका थिए। 

नवौं महाधिवेशनपछिको नेकपा एमालेको कास्की जिल्ला अध्यक्ष कृष्ण थापा छन्। कास्कीमा जिल्ला कमिटीदेखि सबै जनप्रतिनिधि संस्थापन पक्षमा छन् ।

कास्की लगायत गण्डकी प्रदेशमै ओलीको पकड बलियो छ। माधव नेपालले आफ्नो पकड कमजोर रहेकै ठाउँमा पुगेर समानान्तर जिल्ला कमिटी बनाएका हुन्।