मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक वरिष्ठ चिकीत्सक जसले आफ्नो एक जुग खप्तडमा बाबा बनेर बिताईदिए

एक वरिष्ठ चिकीत्सक जसले आफ्नो एक जुग खप्तडमा बाबा बनेर बिताईदिए

वृहत क्षेत्रको ज्ञान भएका एक नामी विद्वान विज्ञान र अंग्रेजीका पनि त्यतिकै ज्ञाता थिए


अछाम : सन् १९४० को दशकमा एक जना करिब ६० वर्षिय बृद्ध साधु भारतको पञ्जाव प्रान्तबाट पश्चिम नेपालको हालको खप्तड (बाजुरा, बझाङ्ग, अछाम र डोटी जिल्लाको बिचमा अवस्थित) क्षेत्रमा आई साधना गर्न थाले र कालान्तरमा उनै व्यक्ति ‘श्री १००८ परमहंश सचितानन्द सरस्वती’ अर्थात ‘खप्तड स्वामी’ र ‘खप्तड बाबा’ को नामबाट चर्चित हुन पुगे । यद्यपि, उनका अधिकांश पुस्तकहरु उर्दु भाषामा लेखिएका हुनाले कतिपय इतिहासकारहरु उनी पाकिस्तानबाट आएका हुन सक्ने अड्कल पनि काट्ने गर्छन ।

खप्तड स्वामीको जन्म र पारिवारीक पृष्ठभुमी बारे बिस्तृत विवरण सधैं रहस्य कै गर्भमा सिमित रह्यो । कतिपय विषयवस्तुहरु यस्ता थिए उनी सधैँ त्यसबाट पन्छिन खोज्थे । उनले आफ्नो उमेर र नाम कहिल्यै कसैलाई बताएनन् । स्वर्गिय राजा बिरेन्द्र जो विभिन्न पर्व र अवसरमा  स्वामीको सल्लाह र आशीर्वाद लिन खप्तड जाने गर्थे तर उनलाई समेत स्वामीले आफ्नो बारे कहिल्यै केही बताउन चाहेनन् । कतिपय व्यक्तिहरुसँगको संवादको आरम्भमै उनी “सबै सोध्नुहोस् तर मेरो उमेर नसोध्नुहोस्” भनेर भन्ने गर्थे ।

इतिहासकारहरुका अनुसार उनी लण्डनमा तालिमप्राप्त एक वरिष्ठ चिकीत्सक थिए । अस्पतालमा बिरामीको उपचार गर्दा गर्दै जीवन मृत्यू सम्बन्धी केही चमत्कारिक घटनाहरुबाट आश्चर्यचकित भएर सफताको उत्कर्ष बिन्दुमा पुगेको डाक्टरी पेशा त्यागी उनी साधु बन्न पुगे । एक दिन उनी कार्यरत अस्पतालमा मृत घोषित व्यक्ति पुनः जिवित भएको थियो जुन आधुनिक स्वास्थ्य विज्ञानको दृष्टीमा बिलकुल असम्भव थियो । त्यसै गरी एक अर्को घटनामा उनी एउटा बिरामी बालकको उपचार गर्दै थिए । जतिसक्दो बचाउने कोसिस गर्दा पनि उक्त बालक क्रमशः मृत्यूको मुखतिर उन्मुख भइरहेको थियो र उनको प्रयास निरर्थक सावित भयो । अन्ततः उक्त जम्मुकाश्मिरको शहरमा हिमाली जडिबुटीहरु र योगाको शक्ति लिएर एउटा साधु आई सोही बिरामी बालकलाई निको पारे ।तत् पश्चात, मानव ईच्छाशक्ति (विल पावर) र हिमाली जडिबुटीहरु आधुनिक स्वास्थ्य विज्ञान भन्दा कैयौं गुणा बढि शक्तिशाली हुन्छन् भन्ने कुरालाई महसुस गरी उनी वेद र उपनिषदको गहन अध्ययन गर्न थाले र अधिकांश समय धार्मिक गुरुहरुको संगतमा बिताउन थाले ।

उनले काश्मिरदेखि मेघालय हुदै हिमालय तर्फको यात्रा तय गरे । हिमालयको मनमोहक दृष्यले उनलाई मन्त्रमुग्ध बनायो । यात्रा गर्दै जांदा उनी पश्चिम नेपालको खप्तडको पठारमा आइपुगे । खप्तडको विलक्षण जादुमय सुन्दरताले उनलाई सम्मोहित पार्यो र उनले त्यही बस्ने निधो गरे । एउटा ओढार (गुफा) लाई कुटी बनाएर योग साधना संगसंगै जङ््गलमा रहेका प्राकृतिक, ऐतिहासिक र पुरातात्विक रहस्यहरुको खोजी तथा अनुसन्धान गर्न थाले । उत्तरवैदिक (ई.पू १५०० देखि ५०० सम्म) सभ्यताको उद्गम थलो खप्तड नै रहेको कुरा उनले पत्ता लगाए र खप्तड नै चमत्कारिक जडिबुटीहरुको अथाह भण्डार रहेको निष्कर्षमा पुगे । पश्चिमी इरानबाट हिमालयको बाटो हुँदै आएका नेप्टालाइट्सहरु (पछी उनीहरुलाई हेप्टाली खस भन्न थालियो) ले खप्तडको पठारमा आई सभ्यताको सुरुवात गरेको कुरा पनि उनले पत्ता लगाए ।

स्वामीका अनुसार ती मानिसहरु सूर्यको पुजा गर्थे र वैदिक देवता मरुत (जसलाई पछि मस्टो देवता भन्न थालियो) का भक्तहरु थिए । घना जंगलको बिच भागमा जमिन मूनि धेरै गहिराइमा ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरु गाडिएको अवस्थामा रहेको कुरा पनि उनले पत्ता लगाए । उनलाई भगवान शिवले पहिलो पटक योग साधनाको सुरुवात गरेको र भगवान शिव नै सांख्य योग दर्शनका पिता रहेको कुरा थाहा भयो ।

भगवान शिवले नै पार्वतीसँग बिहेको लागि पर्खिरहँदा खप्तडको फेदमा अवस्थित नेपालका चारधाम मध्येको एक अछाम जिल्ला अवस्थित वैद्यनाथधाममा बिरामीको उपचार गर्न पहिलो पटक जडिबुटीहरुको प्रयोग गरेका थिए भन्ने कुरा उनले पुराण पढेर थाहा पाए र आफुले पनि सोही उपचार पद्धती अनुसरण गरे । उनलाई सबैभन्दा धनी देवता कुबेरको धनको भण्डार बाजुरा जिल्लाको बडिमालिका भन्ने स्थानमा रहेको थाहा थियो तर सुन र अन्य बहुमूल्य धातुहरुको रुपमा रहेको उक्त सम्पत्ति उनका लागि अर्थहिन र मूल्यहिन थियो । तर सबै भन्दा सम्भावित कुरा त के हुन सक्छ भने उनले त्यस क्षेत्रमा भएका सुन, यूरेनियम, अभ्रक, अक्वामरिन जस्ता बहुमूल्य धातुहरुका खानीहरु पत्ता लगाएका थिए तर लोभि मानव प्रवृतिले ती खानीहरु उत्खनन् गर्दा उक्त क्षेत्रको पर्यावरणीय र स्वर्गिय सुन्दरतामा दुर्गामी असर पर्न सक्छ भन्ने उनमा ठूलो चिन्ता थियोे त्यसैले उनले कहिल्यै ती स्थानहरु कसैलाई बताउन चाहेनन् ।

केही जानकारहरुमा अनुसार त उनमा समयको चक्रलाई समेत उल्टो घुमाउन सक्ने क्षमता थियो र उनी आफ्नै उमेरलाई पनि उमेरविहीन  अर्थात कम (कलिलो) उमेरमा फर्काउन सक्थे जहाँ महाकाल देवता (भगवान शिव) को छायामुनि केबल उनको शरीर, आत्मा, मस्तिष्क र प्रकृति मात्रै हुने गर्थे । उनी कैयौँ दिनसम्म केही नखाई सवासन (मृत शरीर जस्तो योगाको आसन) मा सानो गुफा भित्रै बस्थे जहाँ कि दर्जनौँ माइल भन्दा नजिक मानव वस्ती थिएन । केवल मृग र चितुवा जस्ता जनावरहरु मात्रै उनका साथीहरु हुन्थे । हिउँदको समयमा त खप्तडलाई दश फिट भन्दा बाक्लो हिउँको पत्रले ढाकेको हुन्थ्यो ।

 एक दिन स्वामी केही मानिसहरुसँग जिपमा यात्रा गरिरहेका थिए । उनले जिपको बारेका जिज्ञासा व्यक्त गर्दै एक पछि अर्को प्रश्न ड्राइभरलाई सोधे । सँगै जिपमा सवार उनका एक जना अनुयायीले झिँझीदै “किन तपाइँ जस्तो विद्वानलाई जिपको बारेमा जान्नु प¥यो ?” भने । जवाफमा स्वामीले मुस्कुराउदै “जुनसुकै स्रोतबाट र जुनसुकै विषयवस्तुको बारेमा ज्ञान हासिल गरी राख्दा पनि कुनै हानी नोक्सानी हुदैन ” भने ।  उनी वृहत क्षेत्रको ज्ञान भएका एक नामी विद्वान थिए । विज्ञान र अंग्रेजीका पनि त्यतिकै ज्ञाता थिए । उनी छिमेकी जिल्लाहरु बाजुरा, बझाङ्ग, अछाम र डोटीबाट आएका बिरामी र अशक्त मानिसहरुलाई आवश्यकता अनुसार जडिबुटीहरुका साथसाथै आधुनिक पद्धतिको औषधोपचार गरेर निको पार्दिन्थे भने बदलामा ती मानिसहरु स्वामीलाई दही र खानेकुराहरु ल्याइदिन्थे । यदि हामी आधुनिक रसायनयुक्त खाद्यपदार्थको उपभोगले अस्वस्थ हुन गयौँ वा आधुनिक औषधिहरुको सेवनले रोग निको भएन भने हामीले आफ्नो शरीर, मस्तिष्क र आत्मालाई चिन्ने कोषिस गर्नु पर्छ र योगाको साथसाथै प्राकृतिक उपचार पद्धति अपनाउनु पर्छ भनेर उनी ती मानिसहरुलाई भन्ने गर्थे । उनले मानव मात्रको सेवा गरेनन्, एक पटक त उनले चितुवाको पञ्जामा बिझेको काँडा समेत झिकी औषधी लगाइदिएका थिए ।

स्वामीले करिब सय वर्षको उमेर पार गरिसके पछि राजा बिरेन्द्रले उनलाई कम्तिमा पनि एक जना सहयोगी हात त साथमा राख्नुहोस् भनेका थिए तर स्वामी भने जीवनको उत्तराद्र्धमा झन सांसारिक दुनियाबाट टाढिदै र एक्लिदै गएका थिए । उमेरले नेटो काट्दै जाँदा पनि उनको मुहारमा भने झन चमक र उर्जा देखिन्थ्यो । खप्तडको सुन्दरता र आध्यात्मिक वातावरणले उनलाई झन मोहित पार्दै गएको थियो । राजा बिरेन्द्रले स्वामीका लागि काठमाडौँको बुढानिलकण्ठमा सुविधासम्पन्न मन्दिर बनाइदिने र त्यहीँ बस्न भनी आग्रह गर्दा स्वामीले “खप्तड नै मेरो प्रिय ठाउँ हो र यसको बिकल्प छैन” भनेर टारेका थिए । उत्त घटना पछि राजा बिरेन्द्रले सेनाको एउटा टुकडी स्वामीको सहयोगार्थ खप्तडमा उनको आगमन भएको झण्डै चार दशक पछि अर्थात सन १९८४ (वि.सं.२०४३) मा खटाएका थिए । सेनाले स्वामीका लागि दैनिक एक माना दुधको व्यवस्था गर्ने गथ्र्यो ।

आफ्नो जीवनकालको झण्डै पचास वर्ष खप्तडमा बिताएका एक चर्चित डाक्टर, कुशल वैद्य तथा महान हिन्दु गुरु खप्तड स्वामीको करिब ११० वर्षको उमेरमा मे ९, १९९६ (वि. सं २०५२) का दिन निधन भयो । उनले खप्तडमा अति नै योजनाबद्ध र संयमित ढंगले आध्यात्मिक, आर्थिक पर्यटन प्रवद्र्धन गरिनु पर्ने कुरामा जोड दिन्थे । उनका ‘धर्म विज्ञान’, ‘स्वास्थ्य विज्ञान’, ‘योग विज्ञान’, ‘विचार विज्ञान’, ‘वेदान्त विज्ञान’, ‘म र मेरो कर्तव्य’, ‘नारीधर्म’, ‘पुरुषधर्म’ र ‘आत्मज्ञान’ जस्ता पुस्तकहरु प्रकाशित छन् ।

खप्तड राष्ट्रिय निकुञ्ज स्थापनार्थ स्वामीको अतुलनिय योगदान रहेको छ । खप्तड राष्ट्रिय निकुञ्जलाई उनकै नामबाट नामाकरण गरिएको भन्ने भनाई पनि छ । हाल पनि तिन वटा आश्रमहरु जस मध्ये एउटा उनको सयन कक्ष, अर्को वैठक कक्ष र उनका सहयोगीहरु आउँदा बस्ने अर्को कक्ष देख्न सकिन्छ । उनले प्रयोग गरेको खाट(वेड), लेखेका पुस्तकहरु, लगाएका कपडाहरु, स्लाइनका बोत्तलहरु, एन्टिबायोटिकका सिसीहरु, स्नान स्थल र सालिक पनि खप्तडमा देख्न सकिन्छ ।  आश्रमको दक्षिण पट्टि हेलिप्याड छ जहाँ कुनै समय काठमाण्डौबाट राजपरिवारका सदस्यहरु र अन्य प्रभावशाली व्यक्तिहरु बोकेर उडेको हेलिकप्टर ल्याण्ड हुने गथ्र्यो । हाल खप्तडस्थित नेपाली सेनाको ब्यारेकले ती सम्पूर्ण धार्मिक, एैतिहासिक र पुरातात्विक महत्वका वस्तुहरुको सुरक्षा गरिरहेको छ । घुमफिर, ध्यान, चिन्तन मनन् र योगा गर्नेहरुका साथसाथै प्रकृति प्रेमिहरुका लागि खप्तड राष्ट्रिय निकुञ्ज एक आदर्श गन्तव्य बन्न पुगेको छ । अझ भन्दा खुला संग्रालय बन्न पुगेको छ । – विकिपिडिया