मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रावलको प्रश्न– प्रधानमन्त्रीले लिम्पियाधुरा, लिपुलेक, कालापानी कता हालेछन् ?

रावलको प्रश्न– प्रधानमन्त्रीले लिम्पियाधुरा, लिपुलेक, कालापानी कता हालेछन् ?


काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी कता हालेछन ? भन्दै प्रश्न गरेका छन् । आइतबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिले वितरण गरेको पदकको तक्मामा नेपालको नक्सामा समेटिएको भूमि नराखिएको भन्दै आपत्ति जनाएका हुन् ।

“लिम्पियाधुरा, लिपुलेक, कालापानी कता पुर्‍याउनुभएछ प्रधानमन्त्रीले ? उहाँको गृह मन्त्रालयबाट स्पष्टीकरण आएको छ । स्पष्टीकरण सुन्दा दुःख पनि लागेको छ, आश्चर्य बढी लागेको छ । गृह मन्त्रालयले भन्छ, तक्मा दिने निर्णय पहिल्यै भएको थियो ।

सार्वभौमसत्ताको अभ्यास गर्ने जनप्रतिनिधिले एक मतले पारित गरेपछि पहिल्यै निर्णय भएकाले नराखिएको भनेर ढाँट्ने ? राष्ट्रहितविपरीत चिन्तन । कानुनी र राजनीतिक दृष्टिकोणबाट गृह मन्त्रालयको तर्क गलत छ,” उनले भने ।

आफ्नो भूमि समेटेर प्रतिनिधिसभाले पारित गरेपछि सच्याउनु पर्दैन ? भन्दै उनले प्रश्न गरे । लिपुलेक, लिम्पियाधुरा, कालापनी नेपालको भूमि होइन भनेर सामान्त गोयलसँग निर्णय गरेको भए आफूहरुलाई जानकारी नभएको उनको भनाइ थियो ।

नेता रावलले पार्टीमा कारबाही भएर आफ्नो पद जाने विषयमा चिन्ता नरहेको पनि बताए । एमाले अध्यक्ष ओलीले विधानविपरीत गरेको भन्दै पदबारे चिन्ता नलिन उनले आग्रह गरे ।

“पद कहाँ जान्छ ? के गर्छ ? भन्नेमा चिन्ता छैन । कसैले कसैको पद खान सक्दैन । हामी नेकपा एमालेमा नै छौँ,” उनले भने ।