मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुखद हुन सकोस् नयाँ वर्ष – २०७८

सुखद हुन सकोस् नयाँ वर्ष – २०७८


नयाँ वर्ष शान्ति, प्रगति र समृद्धिको वर्ष बनोस् ! 

नयाँ वर्ष २०७८ सुरु भएको छ । हाम्रा पाठक, शुभेच्छुक, विज्ञापन दाता तथा सहकर्मी सबैका लागि नयाँ वर्ष शान्ति, प्रगति र समृद्धिको वर्ष बनोस् भन्ने शुभकामना ! 

बितेको वर्ष २०७७ यथार्थमा दुःस्वप्न बन्न पुग्यो । कामना त सुख र शान्तिकै थियो तर २०७७ सामाजिक, राजनीतिक र आर्थिक सबै दृष्टिबाट देख्न नचाहेको सपना बन्यो । नेपाली समाजले पनि विश्व मानव समुदायसँगै कहिल्यै नभोगेको महाव्याधिको कहर भोग्नु परेको थियो ।

कोभिड-१९ नाम दिइएको भाइरसको सङ्क्रमणका कारण सिंगो संसार आक्रान्त भयो । लाखौं जनाले अकालमा जिन्दगी गुमाए ।सङ्क्रमण रोक्न दुनियाँभर अपनाइएको बन्दाबन्दीका कारण एक्काइसौं शताब्दीमा पनि मानिसहरू टोलछिमेक र घरघरमा थुनिए । विश्व अर्थतन्त्र नै लगभग थला पर्न पुग्यो । 

कोभिड-१९ को महाव्याधि २०७६ सालमै सुरु भए पनि २०७७ सुरु हुँदासम्म यसविरुद्ध खोपको विकास हुनसकेको थिएन । यसैगरी घरैबाट काम गर्ने र मुद्राविहीन कारोबारको प्रचलन पनि यति व्यापक भइसकेको थिएन । यसैले मानव समुदाय त्राहिमाम् भएको थियो ।

बितेको वर्षमा खोपको विकास र कार्य संस्कृतिको परिवर्तनले मानव जातिको जिजीविषा पुनः उजागर भएको छ । अर्थतन्त्रहरू जसोतसो उभिइसकेका छन् । मानव जातिले प्रकृतिसँग पौ‌ठेजोरी खेल्न खोज्न नहुने पाठ सिकेको छ गएको वर्ष । महाव्याधिको सकारात्मक पक्ष सायद यही हो ।

नेपालका हकमा पनि २०७७ निराशा लिएर आएको थियो । महाव्याधि पहिले सोचेजति भयावह त भएन  तैपनि सरकारी कुप्रबन्धका कारण जनताले भने अनावश्यक र धेरै हदसम्म अन्यायपूर्ण कहर सहनु परेको थियो ।  आर्थिक र सामाजिक क्षेत्रमा लागेको चोट निको भने हुने लक्षण देखिएको छ अर्को सङ्कट बेहोर्न परेन भने ।

राजनीतिकरूपमा गएको वर्ष झन् निराशाजनक रह्यो । सत्तारुढ दलभित्रका नेताहरूको किचलोको मूल्य राज्यका संस्था र जनताले चुकाउनु परेको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली संविधान, विधि, पद्धति र प्रक्रिया सबै भताभुङ्ग बनाउन उद्यत रहे ।

प्रतिनिधि सभाको असंवैधानिक विघटन लोकतन्त्रमाथि गरिएको घातक प्रहार थियो । सर्वोच्च अदालतले स‌सद् विघटनको निर्णय बदर गरेर नेपालको संवैधानिक इतिहासमा एकपटक फेरि विधिको शासन बलियो बनाउने भूमिका पूरा गरेको छ । यद्यपि, संसद्ले भने सत्ता र विपक्षका नेताको स्वार्थ र अहङ्कारको बन्दी बनेर निराश बनाएको छ ।

कोभिड-१९ को सङ्क्रमण फेरि बढ्दो छ । राज्यका निकायमाथि धेरै भर पर्न सकिने अवस्था छैन । तैपनि, २०७७ को सुरुका तुलनामा यस महाव्याधिका सम्बन्धमा मानव जातिले धेरै जानकारी पाएको छ । अब व्यक्तिले चाहने हो भने सावधानीका उपाय अपनाएर सङ्क्रमणबाट जोगिन सक्छ । 

भन्छन् ( ‘समय हैन हामी बितेका हुन्छौँ’ । हाम्रो बिताइ पनि सके सार्थक होस् नभए पनि व्यर्थ नहोस् । नयाँ वर्ष २०७८ को अवसरमा सबैलाई फेरि हार्दिक शुभकामना !