काठमाडौं । सर्वदलीय बैठकमा कोभिड-१९, उपनिर्वाचन र एमसीसीको विषयमा छलफल भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा यी तीन विषय अघि सारेका थिए ।
कांग्रेसले ती विषयमा आफ्नो धारणा स्पष्ट रुपमा राखेको उनले बताए । “कोभिडका बारेमा सरकार अझ गम्भिर हुनुपर्यो । लकडाउनतिर जानुभन्दा रोकथामतिर जानुपर्छ ।
कोभिडका लागि आइसोलेसन पनि आवश्यक मात्रामा बनाएर राख्नुपर्छ । लकडाउनै गरी हाल्ने कुरा राम्रो हुँदैन,” बैठकमा राखेको धारणबारे पौडेलले भने ।
कांग्रेसले उपसभामुख चयन, राष्ट्रिय सभा बैठकका विषयमा पनि धारणा राखेको उनले बताए । “उपनिर्वाचन पनि गर्नुपर्छ, उपसभामुखको निर्वाचन पनि किन रोकिएको छ ?, संसद्लाई बिजनेस किन दिइएको छैन ? राष्ट्रिय सभा बैठक किन बोलाइएन, संसद्लाई अपाङ्ग किन राखियो ?,” उनले भने ।
अहिले देशमा भइरहेको गतिरोधको निकास हुनुपर्ने पौडेलले बताए ।
प्रतिक्रिया