मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमबिएस कार्यक्रम थप गर्ने सम्बन्धमा त्रिविको टोलीद्वारा स्थलगत अध्ययन तथा अन्तरक्रिया

एमबिएस कार्यक्रम थप गर्ने सम्बन्धमा त्रिविको टोलीद्वारा स्थलगत अध्ययन तथा अन्तरक्रिया


अछाम – त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर डिल्लीराज शर्माले शिक्षाको गुणस्तर बढाउनु पर्नेमा जोड दिए छन् । अछाम बहुमुखी क्याम्पसमा एमबिएस कार्यक्रम थप गर्ने सम्बन्धमा सरोकारवालावीच भएको अन्तक्रियामा बोल्नुहुँदै डीन डाक्टर शर्माले क्याम्पसको संस्थागत विकास, भौतिक पूर्वाधार, प्रविधिको प्रयोग, नयाँ प्रविधि तथा शैक्षणीक कार्यमा अभ्यस्त रहनु पर्नेमा जोड दिए ।

अछाम बहुमुखी क्याम्पसको एमबीएस कार्यक्रम थप गर्ने सम्बन्धमा स्थलगत अध्ययन तथा सरोकारवालावीच भएको छलफलमा डाक्टर शर्माले क्याम्पसले गरिरहेको विकास उत्साहजनक भएको भन्दै प्राप्त कार्यक्रमलाई थप प्रभावकारी बनाउनु पर्नेमा समेत जोड दिए । कार्यक्रम थप मात्र गरेर नहुने भन्दै उनले युग सुहाउँदो र प्रतिष्पर्धी शिक्षाका लागि अध्यापकले बिशेष ध्यान दिनुपर्ने बताए ।

अछाम बहमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा डिन डाक्टर शर्माले आफुहरुको टोलीले क्याम्पसको समग्र अवस्थाबारे जानकारी लिई विश्वविद्यालयमा प्रतिवेदन पेश गर्ने र तत्पश्चात निर्णय हुने जानकारी दिए ।

शर्मा नेतृत्वको टोलीमा सहायक डीन दिनेशमणी घिमिरे, विश्वविद्यालयका बिशेषज्ञ सह प्राध्यापक डाक्टर मनोज कुमार चौधरी, सहप्राध्यापक जगत तिमल्सीना, शाखा अधिकृत बिमला घिमिरे गरी ५ जना रहेका छन् । उनीहरुले क्याम्पसको समग्र अवस्था, एमबिएस कार्यक्रमका लागि आवश्यक तयारी, आधार लगायतका कुराको विवरण संकलन गरेका छन् । त्रिविको टोली एमवीएस कार्यक्रम थप गर्न सकारात्मक रहेको आफुले पाएको सहायक क्याम्पस प्रमुख ध्रुव कुमार शाहीले बताए ।

कार्यक्रममा बोल्दै सञ्चालक समिति अध्यक्ष तथा मंगलसेन नगरप्रमुख बोहराले अछाम जनताको मेहनत, लगानी र दुःखले क्याम्पस अहिलेको अवस्थामा आएको भन्दै एमवीएस कार्यक्रम सञ्चालन गर्न आफु प्रतिबद्ध रहेको बताए । अहिले क्याम्पस केही हदसम्म क्याम्पसजस्तो भएको र यसका लागि आफुले अझैँ सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले क्याम्पसको विकास भएमा अछामका साथै छिमेकी जिल्लाका विद्यार्थी समेत आकर्षित हुने बताए । नगर उपप्रमुख सरिता उपाध्यायले पनि आफ्नो र नगरको तर्फबाट क्याम्पसको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सहायक क्याम्पस प्रमुख ध्रुव कुमार शाहीले सम्पूर्णलाई स्वागत गर्दै क्याम्पसको अवस्थाबारे जानकारी गराएका थिए । अहिले क्याम्पस, भौतिक, सूचना प्रविधि, शैक्षिक लगायतका क्षेत्रमा निकै सुधार भैरहेको भन्दै एमबीएस कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न आफुहरु तयार रहेको दृढता व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहरा, नेपाली कांग्रेसका सचिव नम बहादुर शाही, माओवादी केन्द्रका जिल्ला सदस्य शिब बोगटी, मंगलसैन वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामी, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष पुष्प बहादुर शाह लगायतले मन्तव्य राख्दै क्याम्पसको हालको प्रगति लोभलाग्दो रहेको र अझैँ थप विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष हरी प्रसाद ढुंगाना, नेपाल राष्ट्रिय शिक्षक संगठनका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष नर बहादुर रावल, षोडषा माविका प्रधानाध्यापक देबेन्द्र दुब्बे, शिक्षा विभाग प्रमुख मान बहादुर बुढा, प्रशाशकीय प्रमुख उदयराज ढुंगाना, विद्यार्थी सरस्वती केसी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

२०४८ सालमा स्थापना भएको अछाम बहुमुखी क्याम्पसमा हाल कक्षा ११, १२ तथा व्यवस्थापन र शिक्षा शास्त्र संकायमा अध्यापन हुन्छ । विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्तिको चरणमा रहेको अछाम बहुमुखी क्याम्पसमा हाल १ हजार २० जना विद्यार्थी रहेको जानकारी गराईएको थियो । कार्यक्रमको संचालन क्याम्पसका व्यवस्थापन विभागका प्रमुख नृप बहादुर चाडले गरेका थिए । साथै त्रिविको टोलीलाई सञ्चालक समिति अध्यक्ष तथा नगरप्रमुख बोहराले दोसल्ला ओढाई सम्मान गर्नुका साथै नयाँ बर्षको शुभकामना समेत दिएका थिए ।