काठमाडौं । सभामुख अग्नि प्रसाद सापकाेटाले आफूले कसैकाे दबाब र प्रभावमा काम नगरेकाे बताएका छन् । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रममा बाेल्दै उनले दबाब र प्रभावमा आफूले काम नगरेकाे र कहिल्यै पनि नगर्ने बताए ।
उनले प्रधानमन्त्रीतर्फ लक्षित गर्दै भन्नेले धेरै कुरा भनेपनि आफूले जवाफ नदिएकाे पनि बताए ।
अहिले भित्रभित्रै ठुलाे बहस भइरहेकाे भन्दै उनले प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउने संकल्प र प्रण गरेर काम गरिरहेकाे बताए ।
प्रधानमन्त्री केपी ओलीले सभामुख सापकाेटामाथि निरन्तर असन्तुष्टि जनाइरहँदा सभामुख सापकाेटा भने माैन देखिँदै आएका छन् ।
तर, उनले आइतबार महासंघकाे कार्यक्रममा भने प्रधानमन्त्रीलाई सांकेतिक जवाफ दिए । उनले प्रधानमन्त्रीसँग व्यक्तिगत टकराव नभई दृष्टिकोणकाे विषय भएकाे बताए ।
“व्यक्ति-व्यक्तिबीचकाे टक्कर हाे कि भनेर ? हाेइन टक्कर दृष्टिकोणमा आधारित छ । जनताले बनाएकाे संविधानकाे रक्षा र विकास गर्ने कुरासँग सम्बन्धित छ,” सापकाेटाले भने,”मैले धेरै कुरा व्यक्त गरेकाे छैन । देश र जनतालाई सम्झेर काम गरेकाे छु । मैले कसैकाे दबाब र प्रभावमा काम गरेकाे छैन, गर्दिन ।”
महासंघकाे २६ अाैं महाधिवशेनबाट विपुल पाेख्रेलकाे नेतृत्वमा नयाँ टिम निर्वाचित भएकाे थियाे । नवनिर्वाचित कार्यसमितिकाे आज पदभार हस्तान्तरण भएकाे हाे ।
प्रतिक्रिया