काठमाडौं – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधव नेपालको स्वार्थ र महत्त्वकांक्षाका कारण पार्टी विभाजित भएको आरोप लगाएका छन्।
‘विभाजित नभएको भए पनि यति धेरै शत्रुतापूर्ण सम्बन्ध बनाइसक्नु भएको थियो,’ एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा उनले भने, ‘मलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गर्ने, पार्टीकै नेताहरूविरुद्ध विषवमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमान्दार पंक्तिलाई बदनाम गराउने, समाप्त पार्ने हिसाबले लागे।’
अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेको उनको भनाइ छ। ‘माधव नेपाल, योगेश भट्टराईलगायतका नेताहरूसँग भेटघाट भयो। तर, साथीहरूमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति देखिँदैन,’ उनले भने, ‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन।’
उनले आफू कम्युनिष्ट पार्टी एकताबद्ध बनाउन रातोदिन खटेको बताए। अब कम्युनिष्ट पार्टी नयाँ उचाइ, सान र गौरवका साथ अगाडि बढ्ने भन्दै उनले भने, ‘यसको नेतृत्व एमालेले गर्नेछ।’
आजबाट एमालेको महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छ। बैठकका एजेन्डा स्थायी कमिटीको गठन, अनुशासनको कारबाही, कार्य विभाजन र समसायिक प्रस्ताव रहेका छन्।
प्रतिक्रिया