‘सरकारको गैर जिम्मेवार कार्यशैलीका कारण कोरोना संक्रमणले माहामारी रुप लिन सक्ने कांग्रेस अछामको ठहर’
अछाम : नेपाली कांग्रेस अछामले संघीय र प्रदेश सरकारहरुको गैर जिम्मेवार कार्यशैलीका कारण नेपालमा कोरोनाको संक्रमणले महामारीको रुप लिन सक्ने डरलाग्दो अवस्था आउने सक्ने औल्याएको छ । दुई तहका सरकारको अकर्मण्यताको सरकार जोड घटाउमा लाग्दा कोरोना रोकथाम तथा नियन्त्रण अभियान प्रभावित भईरहेको कांग्रेस अछामको ठहर छ ।
मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामले कोभिड – १९ विरुद्धको अभियानमा अछाम जिल्लाका माननीय सांसदहरुको निष्क्रियता गम्भीर चिन्ताको बिषय बनेको भन्दै यसको नियन्त्रणका लागि निर्वाचन क्षेत्रमा विनियोजित बजेटलाई रकमान्तर गरेर रकमको प्रवन्ध गर्न आग्रह गरेको छ ।
कोरोना संक्रमण बढेपछि भारतबाट फर्केका नागरिक तथा बाँके र कैलालीमा आवतजावत गर्नेहरुको पहिचान गरि आवश्यक परिक्षण, सुरक्षीत बसोबास, उचित उपचार र सुरक्षीत आवागमनको प्रवन्धका गर्न कांग्रेस अछामले विज्ञप्ती मार्फत सम्बन्धीत सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ ।
जिल्ला अस्पताल अछाममा कोभिड – १९ का संक्रमितको मृत्यु र बान्नीगढी जयगढ गाउँपालिकाको एक बिध्यालयका सोह्र जना बिध्यार्थीको पिसिआर परिक्षण पोजिटिभ देखीए संगै अछाममा उच्च सतर्कता अपाउनुपर्ने कांग्रेस अछामले विज्ञप्तीमा उल्लेख गरेको छ ।
अछाम संग प्रत्यक्ष सरोकार राख्ने भारतिय नाकासंग नजिक रहेका बाँके, कैलालीमा संक्रमण दर उकालो लागिरहेको र अछामका नागरिकको रोजगारीको प्रमुख गन्तव्य छिमेकी मुलुक भारतमा महामारीको रुपमा फैलिएको कोभिड – १९ कोरोनाको असर अछाममा देखिन सक्ने सम्भावना रहेको कांग्रेस अछामका सभापती भरत कुमार स्वाँर र सहसचिव तथा प्रवक्ता वेदप्रकाश तिमिल्सैनाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
भारतबाट स्वदेश फर्केका नागरिकको पिसिआर परिक्षण गरेर पोजिटिभ देखिएकालाई आइसोलेसन र अन्यलाई पनि मापदण्ड अनुसार क्वारेन्टाइनमा राख्ने ब्यवस्था गर्न र गाउँघरमा भेटिने शंकास्पद संक्रमितको एन्टिजेन परिक्षण गरी आवश्यक समन्वय गर्न स्थानीय प्रशासन, जिल्लाका सबै स्थानीय तहलाई कांग्रेस अछामले ध्यानाकर्षण गराएको छ ।
कोभिड – १९ कोरोना संक्रमित बिरामीको उपचारका लागि जिल्ला अस्पताल, बयालपाटा अस्पताल सहित जिल्लाका सबै पालिकामा अक्सिजन थेरापी सहितको बेडको ब्यवस्थापन गर्न आवश्यक रहेको भन्दै कांग्रेस अछामले स्थानीय प्रशासन, पालिकाहरुको समन्वयमा संघीय र सुदुरपश्चिम प्रदेश सरकारलाई यसको व्यावस्थापमा सहयोग गनृ जोडदार माग गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन अनिवार्य मास्क लगाउन, सावुन पानीले हातधुन, सेनिटाइजरको प्रयोग गर्न र दुई मिटरको भौतिक दुरि कायम गर्न, अत्यावश्यक बाहेक अरु समयमा घरबाहिर र भिडभाडमा नजान सबैलाई नेपाली कांग्रेस अछामले विज्ञप्ती मार्फत अपिल गरेको छ ।
कोरोना भाइरस विरुद्धको अभियानमा निरन्तर सक्रिय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तहका जनप्रतिनिधि, संचारकर्मी, एम्बुलेन्स चालक र सरसफाइकर्मी प्रति सम्मान गर्दै कांग्रेस अछाम कोरोना भाईरस नियन्त्रणको अभियानमा सधैँ साथमा रहने प्रतिबद्धता जनाएको छ । कांग्रेस अछामले विज्ञप्ती मार्फत कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउने प्रती श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित सबैको स्वास्थ्य लाभको कामना गरेको छ ।
विज्ञप्तीको पूर्णपाठ
प्रतिक्रिया