मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिनियाँ कम्पनीको भेरोसेल खोप लगाउने काम तत्काललाई स्थगित

चिनियाँ कम्पनीको भेरोसेल खोप लगाउने काम तत्काललाई स्थगित


दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम पनि रोकियो

काठमाडौं- सरकारले तत्कालका लागि चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने काम स्थगित गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयका लागि खोप लगाउने काम स्थगित गरेको हो।

यस्तै दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम पनि तत्कालका लागि रोकिएको छ।

परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोरोना संक्रमणको बढ्दो जोखिममा खोप लगाउनका लागि हुने भीडभाडका कारण तत्काललाई कोभिड खोप कार्यक्रम स्थगित गरेको जानकारी दिए।

उनले भने,‘कोरोनाको बढ्दो जोखिम तथा खोप केन्द्रमा भएको भीडका कारण थप जोखिम हुने देखियो। अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभर कोभिड विरुद्धको खोप कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छौँ।’

पछिल्लो समय कोभिडको खोप लगाउनका लागि खोप केन्द्र भएको भीडका कारण संक्रमणको जोखिम बढाएको भन्दै आलोचना समेत भइरहेको थियो।

डा शर्माले आलोचना भइरहेको भएपनि त्यो समय बन्द गरिहाल्ने अवस्था नभएकाले बिहीबार (भोलि) देखि मात्र स्थगित गर्ने निर्णय गरेको बताए।

उनले अन्य नियमित खोप कार्यक्रम भने यथावत् रुपमा सञ्चालन हुने  बताए। संक्रमणको बढ्दो क्रमलाई मध्यनजर गर्दै भोलिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। १५ दिनका लागि लागु हुने गरी जारी यो निषेधाज्ञा संक्रमणको जोखिम हेरी समयावधी बढ्न सक्ने समेत बताइएको छ।

मन्त्रालयको उक्त निर्णयपछि स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप लगाउने काम बिहीबारदेखि रोकिने जानकारी पनि दिएको छ।

आज मात्र नेपालमा ४ हजार ८९७ जना संक्रमिम भएका छन् भने १७ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगको छ।

No description available.