नृत्य गर्ने कलाकार भन्नेबित्तिकै हाम्रो दिमागमा सबलांगको चित्र घुम्न थाल्छ। अपांगता भएका व्यक्तिले पनि सबलांगजस्तै नाच्न सक्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर, नेपालमा कतिपय त्यस्ता साहसी नृत्यांगना छन्, जसले एउटै खुट्टाले नृत्य गर्दै संसार घुमिसकेका छन्।
एउटा खुट्टाले नाच्ने ती साहसिक नृत्यांगना सहरमा ‘वानलेग डान्सर’ का रूपमा चर्चित छन्। उनीहरू अनेक सबलांग मोडलसँगै स्टेजमा प्रस्तुति दिइरहेका छन्। एउटै खुट्टाको भरमा नृत्य गर्दै मेला महोत्सव धाइरहेका छन्। उनीहरू त्यहाँसम्म सजिलै पुगेका भने हैनन्। विभिन्न हन्डर–ठक्कर खाँदै अपमान पचाउँदै सबैको प्रिय बन्न पुगेका हुन्। मञ्चमा दर्शकको ‘वान्स मोर’ बटुल्न उनीहरूले जीवनका निकै कठिन घुम्ती पार गरेका छन्। नेपालकै पहिलो वानलेग डान्सर रोमा न्यौपाने भन्छिन्, ‘हामी नाच्न सक्छौं भन्दा सुरुमा कसैले पत्याएनन्।’
मञ्चले पत्याएन
२२ वर्षीया वानलेग डान्सर अन्जना गुरुङ १२ वर्षअघि पोखराको एउटा कार्यक्रममा एउटै खुट्टाले नृत्य गरिरहेकी थिइन्। दर्शकदीर्घाबाट हुटिङ आयो, ‘अरे! एउटै खुट्टाले यस्तो डान्स?’ हो, त्यही दिनबाट अञ्जनाको जीवनले कोल्टे फेर्यो। त्यसअघि उनी नृत्य त गर्न चाहन्थिन् तर कसैले पत्याउँदैनथे। जब अञ्जनाले छमछमी नाचेर देखाइन् मानिस चकित भए। एउटा मात्र होइन, लगातार तीनवटा गीतमा नाच्दा उनले दर्शकबाट निकै तारिफ पाइन्।

अन्तिममा कसैले उनको छेउमा बैसाखी ल्याइदिएका थिए। बैसाखीको सहारामा मञ्चबाट झरेकी उनी भीडमै हराइन्। तर, आयोजकले उनलाई कुनै पारिश्रमिक दिएन। तैपनि उनी खुसी थिइन्। त्यो क्षण सम्झिँदै उनी भन्छिन्, ‘त्यो स्टेज पाउन मैले कम्ता भनसुन गर्नुपरेन।’ अहिले अन्जना प्रोफेसनल डान्सर बनिसकेकी छिन्।
चितवनकी सीता सुवेदी (२९) पनि वानलेग डान्सर हुन्। १२ वर्षको उमेरमा ‘बोन म्यारो क्यान्सर’ को कारण खुट्टा गुमाउनु परेको थियोउनले। उनका अभिभावक छोरीको भविष्य बर्बाद भयो भनेर निराश भए। सीताले भविष्यको फराकिलो बाटो खोज्न छाडिनन्।
उनी जसरी हुन्छ, डान्सर बन्न चाहन्थिन्। सीता भन्छिन्, ‘सुरुसुरुमा डान्समा करियर बन्छ कि बन्दैन निकै सोचें।’ नाच्ने कुरा गर्दा अभिभावकले हप्काएको दिन सम्झँदै उनी भन्छिन्, ‘कला क्षेत्रमा लाग्न मेरो गोडाले साथ दिएन। तर, ममा हिम्मत घटेन।’
सानैदेखि स्कुलका सांगीतिक कार्यक्रममा सहभागी हुँदै आएकी सीताले नेपाल टेलिभिजनबाट आउने रियालिटी सो ‘छमछमी’ को चौथो सिजनमा भाग लिएकी थिइन्। उनले कत्थक नृत्य गरेकी थिइन्। तर, निर्णायकले दुवै खुट्टा हुनेले मात्रै कत्थक डान्स गर्न सक्न भनेपछि उनी बाहिरिइन्। भन्छिन्, ‘त्यो क्षण म साह्रै निराश भएँ।’
सीतासँगै ‘छमछमी’मा चौथो सिजनमा भाग लिने अवसर पाएकी थिइन् मीना पुन (३३)ले। दाङ, घोराहीकी मीनाले आफू ६ महिना हुँदा नै खुट्टा गुमाएकी थिइन्।

रेडियोमा गीत सुनेर नाच्न सिकेकी मीनाले ६ कक्षामा पुग्दा ‘सुपारी चाम्रो, म त के राम्रो…’ बोलको गीतमा स्कुलमा नाचेर सबैलाई चकित पारेकी थिइन्। पछि उनी ‘छमछमी’को चौथो सिजनमा पनि भाग लिन पुगिन्। त्यही मञ्चले उनलाई कोहलपुरबाट काठमाडौंसम्म ल्यायो। काठमाडौंमा उनले ‘तिर्खा लाग्यो पानी खाएँ…’ बोलको गीतमा नृत्य गरी सबैबाट तारिफ बटुलेकी थिइन्। पछि उनी ‘छमछमी’ को चौथो श्रेणीसम्म पुगिन्। ‘छमछमी’मा पाएको प्लेटफर्मले उनलाई सांगीतिक मञ्च उक्लन सघायो। भन्छिन्, ‘छमछमीले मलाई देशभरि चिनायो।’
०००
०६४ सालको एक बिहान। सुनसरीस्थित बूढीखोलाको पुलमाथि नीलम ढुंगाना साथीसँगै हिँडिरहेकी थिइन्। त्यही बेला उनलाई ट्रकले ठक्कर दियो। साथीको ज्यान गयो। उनी बल्लतल्ल बाँचिन् । तर, सधैंका लागि देब्रे खुट्टा गुमाइन्। डान्सर बन्ने निलमको सपना ट्रकले कुल्चन सकेन। उनले हिम्मत हारिनन् । भन्छिन्, ‘अपांग हुँदा पनि मनमा नाचको स्टेप तरंगित भइरहन्थ्यो।’ नेपाल अपांग महासंघमा सदस्य बनिन्। अपांग दिवसमा नाच्दा–नाच्दै उनी वानलेग डान्सर बनिन्।
बस दुर्घटनामा खुट्टा गुमाएकी रश्मी खरेल पनि वानलेग डान्सर हुन्। घरमै नृत्य सिक्दासिक्दै उनले ०६० सालमा राष्ट्रिय सभागृहको एक कार्यक्रममा नाच्ने अवसर पाइन्। ‘गैरीखेतको सिरै हान्यो…’ बोलको गीतमा नृत्य गरेपछि उनको प्रशंसा भयो। हाल उनी अमेरिकामा छिन्।

इटहरीकी रोमा न्यौपाने नेपालकै पहिलो वान लेग डान्सर हुन्। उनी आठ वर्षको हुँदा दुर्घटनामा परेर एउटा खुट्टा गुमाइन्। उनले रेडियोमा बज्ने गीतमा मात्र होइन, ब्ल्याक एन्ड ह्वाइट टीभी हेर्दै नृत्य सिक्न थालिन्। त्यही सिकाइले उनलाई ०५६ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानसम्म पुर्याइदियो। त्यहाँ नृत्य गरेर उनले सबैलाई चकित पारिन्।
प्रिया विश्वकर्मा (१८) ले ०७२ वैशाख १२ को विनाशकारी भूकम्पमा देब्रे खुट्टा गुमाइन्। स्कुलको कार्यक्रममा उनले नाच्ने योजना सुनाइन्। उनका साथी अचम्मित भए। तर, उनले नाचेर देखाइन् । ‘ठमेल बजार…’ बोलको गीतमा नाचेपछि साथीहरू अवाक भए।
भन्छिन्, ‘युट्युबमा रोमा दिदी र नीलम दिदीको डान्स हेरेर खुब नाच्थें। त्यही सिकाइले मलाई वानलेग डान्सर बनायो।’
अब पत्याउँछन् वानलेग डान्सरलाई
अन्ततः यी सात चेलीहरू वानलेग डान्सर बनिछाडे। उनीहरू भन्छन्, ‘अवसर पाए हामी पनि सक्छौं।’ कत्थक डान्समा भविष्य बनाउन दिनरात लागिपरेकी सीता अहिले पनि विभिन्न मञ्चमा आफ्नो सोलो प्रस्तुति दिइरहेकी छिन्। दैनिक सबलांग साथीहरूसँग उनी घुँघुँरु बाँधेर अभ्यास गरिरहेकी हुन्छिन्।
‘अहिलेसम्म यति दिनुस् भनेर मागेको छैन,’ नीलम भन्छिन्। कार्यक्रममा सकेसम्म आफैंले अवसर माग्नुपर्ने दिन पनि थिए नीलमका। तर, अहिले उनलाई आयोजक नै सम्झन्छन्। रोमाले सुरुमा धेरै मञ्चमा सित्तैंमा नाचिन्। तर अहिले उनी एउटा कार्यक्रमको एक लाखसम्म लिन्छिन्। विदेशमा हुने कार्यक्रमको एक लाख ८० हजारसम्म लिँदै आएको उनी बताउँछिन्। उनी २५ देश पुगिसकेकी छिन्। भन्छिन्, ‘अहिले डिमान्ड गर्न सक्ने भएकी छु।’

नीलम पनि विदेश गइरहन्छिन्। उनी अस्टे«लिया, बेलायत, मलेसिया, हङकङ, इन्डिया पुगेकी छिन्। भन्छिन्, ‘अहिले बाँच्न गाह्रो छैन।’ नीलमको जीवनमा आधारित फिल्म पनि बन्दै छ। उनी आफ्नै कमाइले छोरीलाई पढाउँदै छिन् र आफू पनि एमबीए पढिरहेकी छन्। संघर्षको उतारचढावबीच यी सात वानलेग डान्सर सहरमा हुने सांगीतिक कार्यक्रममा सहभागी भइरहेका भेटिन्छन्।
‘हामीसँग एउटा मात्रै अंग नभएको हो, पूरै जिन्दगी सकिएको होइन’, सीता भन्छिन्। पद्मकन्या क्याम्पसबाट नृत्यमै स्नातक गरिरहेकी सीता डान्सबाटै समाजलाई योगदान दिने सपनामा छिन्। यी सात बहिनी मानसिकता अपांग हुनेलाई चुनौती दिन्छन्। भन्छन्, ‘हामीलाई दया होइन, अवसर चाहियो। हामी पनि सक्छौं।’





















प्रतिक्रिया