मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालविवाह अन्त्य गर्न अछामका सरोकारवालाहरुद्धारा प्रतिबद्धता

बालविवाह अन्त्य गर्न अछामका सरोकारवालाहरुद्धारा प्रतिबद्धता



अछाम । बालविवाह मुक्त जिल्लाका लागि अभियानका साथ अघि बढ्ने बारे अछामका सरोकारवाला निकायले प्रतिबद्धता जाहेर गरेका छन् ।

जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरको अध्यक्षतामा भएको बृहत छलफलमा बालविवाहलाई शून्यमा झार्ने रणनितिका साथ स्थानिय सरकार, अधिकारकर्मी, प्रशासन, प्रहरी र विकास साझेदार संस्थाले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बालविवाह अन्त्यका लागि रेडियो सोसाइटी एफएम र रेडियो जनप्रिय एफएमको अगुवाइमा वल्डभिजन इन्टरनेशनल, आस्था नेपाल र जिल्ला स्थित अन्य एफएम रेडियोहरु सँगको साझेदारीमा स्थानिय सरकारलाई जवाफदेहि बनाउन सुरु हुन लागेको बाल कचहरी नामक कार्यक्रमको बृहत छलफलमा सहभागि जनप्रतिधिले समेत तालिम, गोष्ठी र अन्तरक्रिया गरेर मात्र केहि नुहने भन्दै समुदायमै पुगेर बालविवाह विरुद्ध लाग्ने प्रतिवद्धता जनाएका छन् ।

जिल्लाको कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले प्रत्येक समुदायमा पुगेर बालबालिका, अभिभावक र सरोकारवालालाई सचेत पारिने बताए । त्यसका लागि नगरका सबै वडामा बाल कचहरी सञ्चालन गर्न बजेटको व्यबस्था गर्ने नगर प्रमुख ढकालले प्रतिवद्धता जनाए ।

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बालविवाह रोक्न कानुनी रुपमा सबै खाले सहयोग गर्ने बताए । उनले उमेर नपुग्दै विवाह गर्न नपाइने भन्दै बालविवाह रोक्न जिल्ला बाल अधिकार समिति गठन गरेर त्यस मार्पत सक्रियाता देखाउने बताए ।

प्रमुख जिल्ला अधिकारी लम्सालले समिति गठनको तयारी थाल्न सामाजिक विकास कार्यालय प्रमुख डम्बर बहादुर रावललाई निर्देशन समेत दिए ।

प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले टोलैपिच्छे बालविवाहका घटना भएपनि उजुरीको अवस्था भने शुन्य रहेको बताए । बालविवाह मात्रै नभएर लागुऔसध दुव्र्यसनीमा पनि बालबालिकाकौ बढी संलग्नता देखिएको उनको भनाइ छ ।

कानुनका जानकार अधिवक्ता पुष्पराज शर्माका अनुसार अछाममा उमेर नपुग्दै हुने विवाहले विकराल रुप लिइरहेको छ । शर्माले बालविवाहको यस्तो डरलाग्दो अवस्थामा पनि सरकार चुकिरहेको बताए । संविधानले बालबालिकाको बारेमा सर्वोत्तम हितबारे सोचेको भएपनि चेतनाको अवस्था दयनिय रहेको उनको भनाई छ ।

आस्था नेपालका अध्यक्ष निर्मला रावलका अनुसार बाल कचहरी मार्फत जिल्लाका चार स्थानिय तहका १९ वटा वडामा समुदायमै पुगेर चेतना बिस्तार गर्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु हुन लागेको हो ।

आस्था नेपालका जिल्ला संयोजक गणेशप्रसाद बोहरा र रेडियो सोसाइटी एफएमका प्रमुख कार्यकारी निर्देशक ध्रुव बीसीले कार्यक्रमको परियोजनाले गर्ने काम र कार्यक्रमको संरचना बारे प्रस्तुति गर्नु भएको कार्यक्रममा अनुसन्धान अधिकृत दिलबहादुर चौधरी, जिल्ला समन्वय समितिका सदस्य द्धारिका प्रसाद उपाध्याय, पत्रकार महासंघका उपाध्यक्ष पवित्रा खड्का, रेडियो जनप्रीयका कार्यकारी निर्देशक तपेन्द्र कुँवर लगायतको उपस्थिति रहेको थियो ।