मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक अभाव झेल्दै कमलबजार पिसिआर प्रयोगशाला

आर्थिक अभाव झेल्दै कमलबजार पिसिआर प्रयोगशाला

सहयोगका लागि सबै पालिकासंग अपिल


अछाम । अछाम जिल्लाको कमलबजार नगरपालिकामा संचालन भएको पिसिआर प्रयोगशालामा आर्थिक अभाव देखिएको छ । प्रयोगशाखा संचालनका लागि बजेटको उचि व्यावस्थापन हुन नसक्दा संचालनमा कठिनाई भईरहेको प्रयोगशालाले जनाएको छ ।

कमलबजार नगरपालिकाको पहल तथा लगानी र अन्य स्थानिय तहको सहयोगमा संचालन भएको प्रयोगशालाका लागि अर्को भरपर्दो बजेटको श्रोत नहुदाँ दैनिक पिसिआर परिक्षण गर्न समेत कठिनाई भईरहेको कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्क बिष्टले बताए ।

सुरुमा केहि स्थानिय तहबाट बजेट प्राप्त भएपनि पछिल्लो समयमा बजेट नआउदा एक्लै कमलबजार नगरपालिकाकले धान्न कठिनाई भएको अधिकृत बिष्टको भनाई छ । प्रयोगशाला स्थापना भएको ८ महिना जति भयो हामीले आफ्नै नगरपालिकाको श्रोतमा प्रयोगशाला नियमित संचालन गर्यौँ तर अहिले आर्थिक अभाव देखिएको उनले बताए ।

प्रयोगशाला स्थापना देखि नै त्यहाँ स्वाव दिन आउने कुनै पनि बिरामी संग शुल्क नलिएर निशुल्क रुपमा कोरोना भाईरसको परिक्षण गर्दै आईरहेको छ । जिल्लाका अन्य स्थानिय तहहरुबाट घोषणा गरिएकै रकम नआउदाँ पनि झन् समस्या भएको नगरपालिकाका उपप्रमुख भमुसिरण बजगाईले बताईन् ।

हामीले जिल्लाका सबै तहबाट प्रयोगशालाका लागि बजेट आउछ भन्ने सोचेर सबै परिक्षण निशुल्क गर्यौँ तर अहिले भने अनुरुप बजेट नआउदाँ समस्या भयो उनले भनिन् । हरेक सरकारी पिसिआर परिक्षण प्रयोगशालामा कोरोना परिक्षण गर्दा १ हजार शुल्क लिने प्रावधान छ तर कमलबजारमा सबै निशुल्क गरेको उनको भनाई छ ।

समयमै बजेटको व्यावस्था नभए प्रयोगशाला बन्द गर्नु पर्ने अवस्था समेत आउन सक्ने उनको भनाई छ । सो अवस्था आउन नदिन र प्रयोगशालालाई नियमित संचालनमा राख्न नगरपालिकाले जिल्लाका सबै स्थानिय तहसंग आर्थिक सहयोगको माग गरेको छ ।

पछिल्लो समयमा नयाँ भेरियण्टको कोरोना संक्रमण फैलिएको र यसको रोकथाम तथा नियन्त्रण गर्न पिसिआर परिक्षण मात्रै एक भरपर्दो माध्यम भएकाले प्रयोगशालाको नियमित संचालनका लागि अािर्थक सहयोग गर्न आग्रह गरिएको छ ।

प्रयोगशालाले हाल सम्म ४ हजार ५ सय ९० जनाको पिसिआर परिक्षण गरेको छ भने जसमा ६ सय ४४ जनाको कोरोना पुष्टी भएको थियो ।