मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुन प्रदेशमा कति आइसियु र भेन्टिलेटर? कति संक्रमित उपचाररत ?

कुन प्रदेशमा कति आइसियु र भेन्टिलेटर? कति संक्रमित उपचाररत ?


तथ्यांकमा ७७२ आइसियु र ३९५ भेन्टिलेटर खाली! तर संक्रमितले पाउँदैनन्

काठमाडौं – केही दिनअघि डा अनुप बास्तोलाले लेखेका थिए : ‘टेकु अस्पताल भरिसक्यो। थप बिरामी राख्ने संभावना न्यून छ। अब वार्डबाट आइसियुमा बिरामी सार्ने स्थिति छैन। रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई आइसियु र भेन्टिलेटरका लागि दिनमा कयौँ पटक फोन आउँछ। तर अस्पतालमा आइसियु र भेन्टिलेटर सहजै पाउन सकिने अवस्था छैन। बढ्दो बिरामीको चाप अस्पतालले थेगी नसक्नु छ। 

उनी भन्छन्, ‘मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ। अधिकांश फोन आइसियु र भेन्टिलेटरको खोजीमा आउँछन्।’ आइतबार साँझ पनि अस्पतालमा शय्या खाली छैनन्। शुक्रराज अस्पतालमा मात्र होइन।

कोरोनाको उपचार हुने देशभरका अस्पतालहरुको शय्या अहिले भरिभराउ छन्। सजिलैसँग आइसियु र भेन्टिलेटर पाउन सकिँदैन। शय्या नपाएरै कतिपय संक्रमितको मृत्यु भएका खबर बाहिर आइरहेको छ।

आइसियु र भेन्टिलेटरका लागि घण्टौंसम्म कुरिरहेका बिरामीहरु अस्पतालमा धेरै भेटिन्छन्। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्ने हो भने देशमा आइसियु र भेन्टिलेटरको कुनै अभाव देखिँदैन। 

मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा पनि देशभर आइसियु र भेन्टिलेटरको खाली रहेको देखाउँछ। मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर १ हजार २ सय ४९ आइसियु र ५२६ भेन्टिलेटर छ। जसमध्ये ४७७ आइसियु र १३१ भेन्टिलेटरमा संक्रमितको उपचार भइरहेको छ। 

मन्त्रालयकै तथ्यांक अनुसार अझै पनि ७७२ आइसियु र ३९५ भेन्टिलेटर खाली देखिन्छ। त्यसो भए संक्रमित भर्ना नभएका ती आइसियु र भेन्टिलेटर काहाँ छन् त?

यही प्रश्न हामीले स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीलाई सोध्यौँ। हाम्रो प्रश्नमा उनको जवाफ थियो, ‘यो सबै कोभिडका लागि छुट्याइएको बेड होइन। देशभर रहेका आइसियु र भेन्टिलेटरको संख्या हो।’

काठमाडौं उपत्यकाका अधिकांश अस्पतालहरु बिरामीले भरिएपनि उपत्यका बाहिरका अस्पतालमा अवस्था यस्तो नरहेको उनी बताउँछन्। शय्याको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको उनले बताए। 

खाली भएका शय्या कहाँ कति छ भन्ने विषयमा प्रदेशका सामाजिक विकास मन्त्रालयसँग यकिन जानकारी हुने उनले जानकारी दिए।

उनले भने, ‘हामीले पनि यहाँ राख्छौं। यो हामीले गर्नेभन्दा पनि यसको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश स्तरीय सामाजिक विकास मन्त्रालयको हो।’ – स्वास्थ्यखबर

कुन प्रदेशमा कति आइसियु र भेन्टिलेटर? कति संक्रमित उपचाररत?
प्रदेश १

बिरामी – ५४ आइसियु, १४ भेन्टिलेटर
शय्या – १५९ आइसियु, ७० भेन्टिलेटर
खाली – १०५ आइसियु, ५६ भेन्टिलेटर

प्रदेश २
बिरामी – २४ आइसियु, २ भेन्टिलेटर
शय्या – ५० आइसियु, २५ भेन्टिलेटर
खाली – २६ आइसियु, २३ भेन्टिलेटर

बागमती प्रदेश
बिरामी – २५४ आइसियु, ७७ भेन्टिलेटर
शय्या – ५९१ आइसियु, २६५ भेन्टिलेटर
खाली – ३३७ आइसियु, १८८ भेन्टिलेटर

गण्डकी प्रदेश 
बिरामी – ५ आइसियु, १ भेन्टिलेटर
शय्या – २४१ आइसियु, ६७ भेन्टिलेटर
खाली – २३६ आइसियु, ६६ भेन्टिलेटर

लुम्बिनी प्रदेश
बिरामी – ७७ आइसियु, २१ भेन्टिलेटर
शय्या – ११९ आइसियु, ६१ भेन्टिलेटर
खाली – ३९ आइसियु, ४० भेन्टिलेटर

कर्णाली प्रदेश
बिरामी – ३३ आइसियु, २७ भेन्टिलेटर
शय्या – ४९ आइसियु, १७ भेन्टिलेटर
खाली – १६ आइसियु, १० भेन्टिलेटर

सुदूरपश्चिम प्रदेश
बिरामी – ३० आइसियु, ९ भेन्टिलेटर
शय्या – ४० आइसियु, २१ भेन्टिलेटर
खाली – १० आइसियु, १२ भेन्टिलेटर

No photo description available.