धनगढी- सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मंगलबारमृत्यु भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका तीन, कञ्चनपुर, बझाङ र बर्दियाका एक-एक कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-५ की ६० वर्षीय महिला, वडा नम्बर १३ का २२ वर्षीय पुरुष र वडा नम्बर ७ का ७१ वर्षीय पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको हो।
यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–७ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष, बर्दियाको उतानपुर गाउँपालिका–२ का ३० वर्षीय पुरुषको पनि मंगलबार नै मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार हाल अस्पतालमा ५० जना कोरोना संक्रमितको उपचार भइरहेको छ। यीमध्ये तीन जनाको भेन्टिलेटर, ९ जनाको आइसियू र ३३ जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको छ।
मंगलबार १४ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएको, एक जना थप उपचारका लागि काठमाडौं रिफर भएको उनले जानकारी दिए।
मंगलबार १२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्च भएका छन्। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३७४ जनाको नमूना जाँच गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया