काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन्।
बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पुगेका प्रधानमन्त्री ओलीसहितका नेताहरुलाई कांग्रेस नेताहरुले विश्वासको मत दिन नसकिने जवाफ दिएका हुन्।
ओलीले यही वैशाख २७ गते विश्वासको मत लिन संसदको विशेष अधिवेशन बोलाएका छन्।
कांग्रेस नेताहरुले वर्तमान सरकारले लोकतान्त्रिक चरित्र नदेखाएको, लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरुलाई कमजोर बनाउने काम गरेको भन्दै यही अवस्थामा सरकारलाई विश्वासको मत दिन नसकिने जवाफ दिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।
बैठकमा ओलीलगायतका एमाले नेताहरुले लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरु बचाउनका लागि सहकार्यको प्रस्ताव राखेको तर अहिले सरकारले लोकतान्त्रिक चरित्र नदेखाएकाले सहकार्य गर्न नसकिने कुरा स्पष्ट रुपमा राखिएको कांग्रेस सहमहामन्त्री महतले बताए।
बैठकम आफूहरुले कोरोना महामारी नियन्त्रणका लागि सरकारले चाल्नुपर्ने उपयुक्त कदमका लागि ध्यानाकर्षण गराएको पनि महतले बताए। साथै संसद छलेर सरकारले विभिन्न अध्यादेशहरु ल्याएको विषयमा पनि आफूहरुले गम्भीरताका साथ कुरा राखेको उनले बताए।
महतले आफूहरुले गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा सत्ताको दुरुपयोग भएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए। उनले अहिले सरकारले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न नसकेको भन्दै लोकतन्त्रको रक्षाका लागि भविस्यमा सहकार्य हुन सक्ने कुरा पनि स्पष्ट पारे।
कांग्रेस सभापति देउवाको निवासमा भएकाे दुई दलका शीर्ष नेताहरुको छलफलमा एमालेका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए।
कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहामन्त्री डा. प्रकाशशरण महत सहभागी भएका थिए।
प्रतिक्रिया