मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तरिक्षमा विश्वकै पहिलो ‘स्पेस होटल’ ! जान तयार हुनुहुन्छ ?

अन्तरिक्षमा विश्वकै पहिलो ‘स्पेस होटल’ ! जान तयार हुनुहुन्छ ?


बीबीसी । अरोरा स्टेसनले अन्तिरक्षमा, दुनियाँकै पहिलो होटल बनाउने तयारी गरिरहेको छ । यस सम्बन्धी आधिकारिक घोषणा क्यालिफोर्निया स्थित गत अप्रिलको स्पेस २.० कन्फरेन्समा गरिएको थियो । तर ताराहरुका साथ पृथ्वी बाहिर बिदा मनाउने कुरा कत्तिको सम्भव छ ?

यो निर्णयले भ्रमणको दुनियाँलाई नै नयाँ युगमा पुर्याउने अपेक्षा गरिएको छ । यसमा एउटा निजी विमान जत्रो आकारको संरचना पृथ्वी घुम्ने पथमा, अन्तरिक्षमा निर्माण गरिने भनिएको छ । यसरी ग्राहकहरुले पृथ्वीको सतहबाट सयौँ माइलको उचाइमा रहेर रोचक दृश्यहरुको मज्जा लिन पाउनेछन्, ग्रहहरु अवलोकन गर्न पाउनेछन् भने दक्षिण र उत्तरी प्रकाश पनि देख्न सक्नेछन् । 

तर यो भ्रमण साचेजति सस्तो भने हुनेछैन । अरोरा स्टेसनले सन् २०२२ सम्ममा वायुमण्डलको पथमा आफूलाई स्थापित गराउने बताएको छ । यसको मूल्य ९५ लाख डलर प्रति व्यक्तिदेखि सुरु हुने बताइएको छ । कम्पनीका अनुसार ग्राहकहरुको बुकिङ सात महिना अगाडिदेखि गराइनेछ । अरोरा स्टेसन सञ्चालन गर्ने फर्म, ओरिअन स्पानका प्रमुख कार्यकारी, फ्रयांक बन्जर भन्छन्, “हाम्रो उद्देश्य भनेको मानिसहरुलाई प्रोफेसनल अन्तरिक्षयात्रीको जीवन कस्तो हुन्छ भन्ने अनुभव दिलाउनु हो । तर हाम्रो अनुमानमा ग्राहकहरु झ्यालबाट बाहिर हेर्न चाहनेछन्, आफूले चिनेका मान्छेहरुलाई फोन गर्न चाहनेछन् र बोर भएको अवस्थाका लागि हामीसँग ‘होलोडेक’ नामक भर्चुअल रियालिटीको व्यवस्था हुनेछ । यस मार्फत हामीले चाहेमा अन्तरिक्षमा उड्न, चन्द्रमासम्म जान र गल्फ खेल्न समेत सक्नेछौँ । ”

यस प्रक्रियामा यात्रुहरुले नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेसन, आएसएसका वैज्ञानिक सरह नियमहरु अपनाउनुपर्ने हुन्छ । त्यसमा जसरी नै अरोरामा पनि दुई स्टाफ सहित चार ग्राहकले विशेष किसिमले डिजाइन गरिएको स्लिपिङ ब्यागमा सुत्नुपर्ने हुन्छ, खानेकुराहरु फ्रिज गरिएको र सुकाइएको हुन्छ अनि भ्रमण अगाडि प्रत्येकले पूर्ण स्वास्थ्य परीक्षण गाउनुपर्ने हुन्छ  
पृथ्वी र ताराहरुको दृश्य हेर्ने बाहेक अरोराले मानिसहरुलाई सुक्ष्म गुरुत्वाकर्षण सम्बन्धी अन्य अनुभवहरु पनि दिलाउने अपेक्षा गरिएको छ । जस्तै खाद्य वस्तु उमार्ने जुन आइएसएसका वैज्ञानिकले पनि अहिले गरिरहेका छन् । तर यसमा फरक के हुनेछ भने बिरुवालाई हालिने पानी आफ्नै पिशाबलाई प्रोसेस गरि निकाल्नुको सट्टा प्रत्येक ग्राहकसँग पृथ्वीबाट छुट्टै निर्यात गरिनेछ । 
विज्ञान समुदायका सबैले यसलाई मानवताको अपरिहार्य, अर्को युगमा प्रवेशका रुपमा हेरिरहेका छन् । किनकी यसले वास्तवमै आधुनिकीकरणलाई अर्को चरणमा पुर्याउनेछ । तर अर्कोतर्फ मिडियामा चर्चा भएजति सजिलो नहुँदा कतिपय विज्ञहरुले चाहिँ सावधानी अपनाउनमा जोड दिएका हुन् । 

स्वीट्जरल्यान्डस्थित युचिभर्सिटी अफ सेन्ट गेलेनकी अनुसन्धानकर्ता क्रिस्टियन लेसर भन्छिन्, “अरोरा स्टेसन एकदमै राम्रो ग्याजेट हो । तर यो वास्तवमै स्थपित हुनेछ या छैन भन्ने त्यतिबेलै थाहा हुनेछ । अहिले केही निश्चित भन्न सकिँदैन । ” 

यसैमा थप्दै अन्तरिक्ष पर्यटन सम्बन्धी सञ्चालन विश्वकै एक मात्र कक्षा, ‘एम्ब्री–रिडल एरोनोटिकल युनिभर्सिटीका’ रोबर्ट भन्छन्, “यो क्षणमा अन्तरिक्ष पर्यटन भनेको वास्तविकता, भ्रम र सायन्स फिक्सनको मिलावट बनेको छ जसले हामीलाई इच्छा र वास्तविकाबीचको भिन्नता चिन्न कठिन बनाइदिएको छ । ”

तरपनि दुवैले यस कुरामा सहमति जनाएका छन् कि ‘स्पेस टुरिजम’ अर्थात अन्तरिक्ष पर्यटनको सुरुवात २००१ मा भएको थियो जब अमेरिकी नागरिक डेनिस टिटोले रुसी स्पेस एजेन्सीलाई २ करोड डलर तिरेर सात दिनको आइएसएस भ्रमणमा गएका थिए । यस्तोमा विभिन्न देशहरुले अन्तरिक्ष पर्यटन उद्योगको भविष्यका लागि ढोका खुलाइसकेका छन् । अमेरिकामा मात्र हाल १० वटा व्यवसायिक स्पेसपोर्टहरु रहेका छन् । 

तरपनि स्पेस पर्यटनका फर्महरुले कतिसम्मको सेवा प्रदान गर्न सक्लान् भनेर भविष्यमै थाहा हुने रोबर्ट र लेइसर बताए । साथै यसको निर्धारण सार्वजानिक सुरक्षा व्यवस्था र इन्जिनियरिङको गुणस्तरले पनि गर्नेछ । 

बन्जरले अरोरा स्टेसनको नयाँ प्रविधि, सहज प्रणाली र सानो क्षेत्रफलले यसलाई आइएसएस जत्तिकै सुरक्षित बनाउने बताए तरपनि यसलाई प्रभावकारी रुपमा स्थपित नगराउन्जेल आफू पूर्ण सुनिश्चित हुन नसक्ने उनको भनाइ छ । 

अर्को ठूलो प्रश्न भनेको चाहिँ अरोरा स्टेसन कहाँबाट लन्च हुनेछ र आफ्ना ग्राहकलाई कताबाट लिनेछ अनि उनीहरु पृथ्वीको सतहमा फर्किएपछि कता छाडिदिनेछ । 

तर अन्तरिक्ष उद्योग निराशाले भरिएको क्षेत्र पनि मानिन्छ । जहाँ निर्धारित समयमा काम पूरा हुने सम्भावना कम हुन्छ । जस्तै भर्जिन ग्यालेक्टिकले गत डिसेम्बरमा सफलतापूर्वक अन्तरिक्ष पुगि फर्केर आयो जुन यसले निर्धारण गरेको मिति भन्दा सात वर्ष पछि पूरा भएको छ ।

त्यस्तै एलन मस्कको स्पेसएक्स र जेफ बेजोसको ब्लु ओरिजिनले अझै तिनका साधन परीक्षण गरिरहेका छन् । यता एक्सकोर एरोस्पेसले त २०१७ मा कंगाल भएको घोषणा गरेको थियो । यसरी धेरै तयारी र परीक्षणको आवश्यकताले अन्तरिक्षको काम जटिल बन्न पुग्दा भनेको समयमा सम्पन्न गर्न सकिँदैन । 

त्यस्तै स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउने कुरा पनि सहज हुनेछैन । जस्तै अरोरा स्टेसनमा यात्रा गर्न चाहनेहरु कसैमा ‘क्लस्ट्रोफोबिया’ छ भने उनीहरुले बुकिङ नगर्दा हुन्छ किनकी ठाउँ निकै साँघुरो हुनेछ र झ्याल खोल्न मिल्नेछैन । त्यस्तै सबै सरसामान सहित हाम्रो शरीर भित्रका तरल पदार्थहरु पनि कम गुरुत्वाकरर्णका कारण माथि आउनेछन् जसकारण ग्राहकहरु वाकवाकी लाग्ने जस्ता अप्रिय अनुभवका लागि पनि तयार हुनुपर्ने हुन्छ । 

यता लामो समय कम गुरुत्वाकर्षण भएको वातावरणमा रहनुले हड्डी कमजोर बनाउन सक्छ भने आँखा र हेर्ने क्षमतालाई प्रभाव पार्न सक्छ । खुसीको कुरा सुक्ष्म गुरुत्वाकर्षणले महिनावारीमा भने कुनै गम्भीर प्रभाव पार्नेछैन । तर सिमित पानी अनि स्यानिटरीका सामानले जटिल अवस्था उत्पन्न गराउन सक्छ । त्यस्तै काइनेटिक्सका कारण नासाले सबै अन्तरिक्षयात्रीहरुलाई यौन सम्पर्कमा निषेध गराएको छ जसले सो भ्रमणबाट रोम्यान्स पनि हटाइदिनेछ । 

यो भन्दा चिन्ताजनक अर्को कुरा के हुनेछ भने, यस अन्र्तगत जेनेटिक क्षति पुग्न सक्ने सम्भावना पनि हुन्छ । किनकी अन्तरिक्ष यानहरु पूर्ण रुपमा ‘कस्मिक रेडिएसन’ अर्थात विकिरण प्रतिरोधक हुँदैनन् । यस्तोमा विगतका धेरै अन्तरिक्षयात्रीहरुले आफ्नो अगाडि अधिक उज्यालो प्रकाशको किरण देख्ने गरेको रिपोर्ट गरेका थिए । अनुसन्धानकर्ताहरुका अनुसार कस्मिक विकिरणले हाम्रो आँखाको अप्टिक नर्भ या दिमागको ‘भिजुअल कोर्टेक्स’ मा प्रहार गर्नाले त्यस्तो भएको हो । 

रोबर्टले चेतावनीपूर्ण शैलीमा बताए, “हामीले कुनै पनि अन्तरिक्ष मिसन, त्यसमा पनि विशेषगरी व्यवसायिकलाई ‘गरेर हेरौँ न’ भन्ने आधारमा अघि बढाउन मिल्दैन । यसका लागि शत् प्रतिशत सुरक्षित यान सञ्चालन, वातावरण मैत्री र आर्थिक रुपमा पनि लाभदायक हुन आवश्यक पर्नेछ । ”  तर लेसरका अनुसार भने अन्तरिक्ष पर्यटन एक हिसाबले प्राकृतिक खोज नै हो । 

उनले भने, “यदि हामी तीस वर्ष अगाडिको कुरा गर्ने हो भने, त्यस समयमा अन्टारटिका असम्भव थियो । तर आज मानिसहरु सजिलै त्यहाँ गइरहेका छन् । यसरी अहिले हामीले नयाँ ढोकाहरु खोल्दै गर्दा अन्तरिक्ष पनि कुनै समय मानव समुदायका लागि पहुँच युक्त बन्न सक्नेछ । ”