काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशकाे राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा विश्वासको मत लिन नसक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुनुले कैयाैँ संशय उब्जाएको उनले बताए ।
शुक्रवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोपको दोस्राे डोज लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पाैडेलले देशकाे राजनीति रहस्यमय बाटोमा अघि बढेको र सयाैँ संशय उब्जाएको बताए ।
नेता पाैडेललेभने, ‘झन् रहस्यमय बाटोतिर जाँदै छ । धेरै संशयका कुराहरू छन् । पहिलो कुरो त संसद्लाई फाल्ने प्रयत्न अझै पनि जारी छ । त्यो कुरा कसरी समाधान हुन्छ । संसद्ले पूरा आयु बाँच्न पाउँछ कि पाउँदैन । संविधानले बाँच्न पाउँछ कि पाउँदैन । नागरिकले बाँच्न पाउँछ कि पाउँदैन । यस्तो कोरोना छ । यो कोरोनाको बीचमा लगेर फेरि तमासा हुन थाल्यो भने फेरि नागरिक नै बाँच्ने कुरा आउँछ । त्यसकारण नागरिक बाँच्ने कुराको पनि चिन्ता छ ।’
गएको सोमवार प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि हिजो बेलुकी ९ बजेसम्मको समय दिएकि थिइन । तीन दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।
प्रतिक्रिया