काठमाडौं– बाँकेका पाँच राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओली र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको संरक्षणमा भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको आरोप लगाएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल पक्षीय एमाले, उपेन्द्र यादव पक्षीय जसपा र जनमोर्चाले यस्तो आरोप लगाएका हुन्।
सत्ता उन्मादमा अस्पतालमा गुण्डागर्दी गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। विज्ञप्तिमा नेपाली कांग्रेसका सचिव तप्त पौडेल, माओवादी केन्द्रका अध्यक्ष आईपी खरेल, एमालेका सचिव रत्न खत्री, जसपाका अध्यक्ष कमरुद्दिन राई र जनमोर्चाका उपाध्यक्ष जगदीश ढकालको हस्ताक्षर छ।
‘ओली सरकार र लुम्बिनीका मुख्यमन्त्रीको संरक्षणमा रहेका एमाले ओली गुटका प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायतले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
संयुक्त विज्ञप्तिमा यस्ता अराजक सत्ताउन्माद गुण्डागर्दीको भर्त्सना गरिएको छ। ‘यस्ता अराजक कुतत्त्वलाई कडा कारबाहीको माग गर्दछौं र कोरोना संक्रमणबाट संक्रमित बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन अनुरोधका साथै स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दछौं,’ उनीहरुले भनेका छन्।
बिहीबार साँझ भेरी अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि रावतको समूहले अस्पतालको वार्डमा प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थिए। उनीहरुको आक्रमणबाट जोगिन केही नर्सहरू दुई तलामाथिबाट हामफालेका थिए। आक्रमणकारी रावतले प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्रीको संरक्षण भएको भन्दै सर्वत्र विरोध गरिएको छ।
प्रतिक्रिया