मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर घट्दै कोरोना संक्रमण, यस्तो छ तथ्यांक

देशभर घट्दै कोरोना संक्रमण, यस्तो छ तथ्यांक


काठमाडौं । पछिल्लो साता नेपालमा कोभिड–१९ संक्रमणको दर घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । जेठको पहिलो साता स्थिर रहेको संक्रमितको संख्या दोस्रो साता क्रमशः ओरालो लागेको छ ।

दैनिक रुपमा कोभिड संक्रमणमुक्त हुनेको संख्या भने बढ्दै गएको देखिन्छ । जेठ १४ गते कोभिड महामारीको दोस्रो लहरभरकै सबैभन्दा धेरै एकैदिन नौ हजार ८४१ जना संक्रमणमुक्त भएका थिए ।

विशेषगरी काठमाडौं उपत्यकामा थपिने संक्रमितको संख्या कम हुँदै गएको छ भने उपत्यकाबाहिर पनि केही समयअघिसम्म ‘हटस्पट’को रुपमा रहेका जिल्लाहरुमा संक्रमित कम हुँदै गएको मन्त्रालयको तथ्यांक छ ।

यस्तो छ घट्दो तथ्यांक 
जेठ १५ गतेसम्मको तथ्यांकानुसार नेपालमा पहिलो र दोस्रो लहर गरी अहिलेसम्म ३० लाख ३१ हजार ३८३ जनाको पीसीआर परीक्षण गरिएको छ । कुल पाँच लाख ५३ हजार ४२२ जना संक्रमित भएका छन् भने अहिले सक्रिय संक्रमितको संख्या एक लाख ११ हजार ५०९ रहेको छ ।

त्यस्तै, निको हुनेको संख्या चार लाख ३४ हजार ७५० पुगेको छ भने सात हजार १६३ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

जेठ महिनाका १५ दिनमा एक लाख १३ हजार ७६४ जना संक्रमित थपिए भने एक लाख सात हजार ९७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

यी हुन् संक्रमण घट्दै गएका स्थान
कोरोना संक्रमणको मुख्य हटस्पटको रुपमा रहेको काठमाडौं उपत्यकामा संक्रमितको संख्या ओरालो लाग्ने क्रममा छ । वैशाख पहिलो साता उपत्यकाका तीन जिल्लामा गरी तीन हजारको हाराहारीमा दैनिक संक्रमित थपिने गरेकोमा दोस्रो सातायता यो संख्या एकदेखि दुई हजार ७०० सम्म रहेको छ ।

जेठ १२ गते काठमाडौं उपत्यकामा कोभिडको दोस्रो लहर उच्च भएयताकै सबैभन्दा कम एक हजार ४९३ जना संक्रमित थपिए । जेठ १५ गतेसम्म उपत्यकामा सक्रिय संक्रमितको संख्या २७ हजार ८० रहेको छ ।

उपत्यकाबाहिर हटस्पटको रुपमा रहेका रुपन्देही, बाँके, मोरङ, कैलालीलगायत जिल्लामा दैनिक थपिने संक्रमितको संख्या २०० भन्दा कम हुन थालेको छ । डोल्पा, हुम्ला, बाजुरालगायत सात जिल्लामा सक्रिय संक्रमितको संख्या ५० भन्दा कम तथा नौवटा जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

काठमाडौं उपत्यकामा दैनिक परीक्षणको तथ्यांक नै छैन 
काठमाडौं उपत्यकाका तीन जिल्लामा दैनिक थपिने संक्रमितको संख्या कम हुँदै गएको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरे पनि दैनिक कति परीक्षण भइरहेको छ भन्ने तथ्यांक कुनै निकायले राखेको देखिँदैन । वाग्मती प्रदेशमा ४७ वटा प्रयोगशालाबाट जेठ ९ गतेयता दैनिक ११ हजारको हाराहारीमा नमुना परीक्षण हुँदै आएको छ । जेठ १५ गते भने वाग्मतीमा सात हजार १५ वटा मात्रै नमुना परीक्षण भएका छन् । ४७ मध्ये ३५ वटा प्रयोगशालाबाट उपत्यकाका तीन जिल्लाको नमुना परीक्षण गरिन्छ ।

उपत्यकाभित्र महानगरपालिका र नगरपालिकाहरुले आफ्नै नेतृत्वमा संक्रमितको खोजी र परीक्षण गर्ने गरेका छन् । नगरपालिकाहरुले दैनिक परीक्षणको तथ्यांक पठाउने गरे पनि जिल्लाभरिको एकीकृत तथ्यांक भने राख्ने नगरिएको भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार बताउँछन् ।

ललितपुरमा पनि दैनिक परीक्षणको एकीकृत तथ्यांक राखिएको छैन । बरु, जिल्ला स्वास्थ्य कार्यलयले पठाएको तथ्यांक मन्त्रालयसँग मेल नखाएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका एक अधिकारीले बताए । “कहिले अरु जिल्लाको तथ्यांक पनि हाम्रोमा राखेर पठाइन्छ, कहिले हामीले पठाएको तथ्यांक नजोडी सार्वजनिक गरिन्छ । हामी यो तथ्यांक म्याच गर्ने प्रयास गर्दै छौँ,” ती अधिकारीले भने ।