मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रकृतिको सुन्दर वरदान रामाराेशन सँग गहिरो प्रेम… 

प्रकृतिको सुन्दर वरदान रामाराेशन सँग गहिरो प्रेम… 

रामाराेशनका रहर लाग्दा दृश्य हरू कहिल्यै नबिर्सिने गरी यो मनमा अजर अमर छन् ।  


अछाम : बाह्र बण्ड अठार खण्ड ले प्रसिद्ध ठाउँ हो अछामको रामाराेशन ।
बाह्र बण्ड, अठार खण्ड भन्नाले यो क्षेत्रमा बाह्र वटा ताल र अठार वटा ठुलठुला चउर छन्। प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। प्रकृतिको अनुपम उपहार पाएको रामाराेशन क्षेत्र स्वदेशी तथा थुप्रै विदेशीहरू को पहिलो पर्यटकीय गन्तव्यको रोजाइ बन्दै गएको छ । 

समुन्द्री सतहबाट २,५४६ मिटर उचाइमा प्राकृतिक वरदानको रूपमा रहेको रामारोशन ताल कैलाश खोलाको मुहानको रूपमा रहेको छ । सुन्दर भूमि रामाराेशनमा पुग्ने जो कोही पर्यटक स्वर्गीय आनन्दको अनुभूति गरेको देख्न पाइन्छ ।

सुदूरको कुनामा रहेर पनि दूर दूर बाट आउने आन्तरिक तथा बाह्य पर्यटक सँग प्राकृतिक सुन्दरताको अभूत मोहनी लगाएको छ रामाराेशन क्षेत्रले । विभिन्न थरीका लालीगुराँस, पहाडको खोचमा शान्त सँग बसेका कञ्चन तालहरू,समथर पाटनका दलदलमा उभि रहेका भीषण चट्टान, विभिन्न जैविक प्राणीहरूले अलौकिक सुन्दरता सँग गर्ने स्नेही स्पर्शले प्राय सबै पर्यटकको मन चङ्गा झैँ हुन्छ । 

रामाराेशन सँग गहिरो प्रेम सम्बन्ध छ मेरो पनि । चाहे रामाराेशन क्षेत्रको संस्कृति सँग होस,चाहे यहाँको सभ्यता सँग होस्,पाहुनालाई स्वागत गर्ने संस्कार सँग किन नहोस् यस क्षेत्र सँग बेला बेलाको स्पर्शले मन लाेभिरहन्छ । 

यस क्षेत्रको परिचय यहाँको स्थानीय उत्पादनले थप सुन्दरता झल्किन्छ । स्थानीय श्रोत साधन र हस्तकलाको सीप बाट यहाँ बनेका डोका,डाला,च्याङ्ग्रा लगायतका स्थानीय बस्तु सँग त अपार स्नेह जोडिएको छ । 

यस क्षेत्रको हावापानीले होस, जलजंगलले होस्, सुन्दर लालीगुराँसले होस्,कोइलीको मधुर सङ्गीतको ध्वनिले होस् या प्रकृति जस्तै: सुन्दर जैविक प्राणीले किन नहोस् बेला बेला बेलाइरहन्छन् । 

यहाँका रहर लाग्दा जमिनका फाँटहरू, मनमोहक तालहरू, अनेक थरीका फूलहरू, तालमा पौडिरहेका जलहाँसहरु, राष्ट्रिय पन्छी डाँफे, मुनाल, चराचुरुङ्गी र अन्य दुर्लभ वन्यजन्तुहरू कस्तुरी मृग तथा अन्य विभिन्न जनावरहरू को आग्रहमा पछिल्लो एक वर्ष यता चार पटक यस क्षेत्र सँग स्पर्श गरेको छु । 

यहाँ पुग्ने धेरै पर्यटकहरूले यस क्षेत्रको थुप्रै उपमा दिएका छन् ।कसैले यसलाई प्रकृतिकी रानी भन्दछन् भने कसैले यसलाई प्रकृतिको स्वर्ग पनि भन्दछन् । प्रकृतिका लागि स्वर्ग बाट आएको वरदानका रूपमा मैले यस क्षेत्र लाई बुझेको छु ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय रामारोशन क्षेत्र भित्रका ठुलठुला ढुङ्गाहरू लाई सुरक्षार्थ महसुस गरी गुफा भित्र रात कटाएका अविस्मरणीय क्षण हरू अहिले पनि मानसपटलमा छन् । 

जिंगले ताल माथि बाेटिङ् गर्दा को अनुभूति त बयान गरेर पुग्दै,पुग्दैन । रोशन मैदान र किनिमिनी मैदान काे ऐतिहासिक रहस्य त झन् बुझी नसक्नु छ । त्यसैले यस क्षेत्र सँग मेरो गहिरो प्रेम अजर अमर छ । 

रामाराेशन क्षेत्रको प्रचारप्रसार भरपुर भएको छ, हुने जति भएको छ , सक्ने जति गरिएकै छ । तर यस क्षेत्र लाई थप व्यवस्थित बनाउन सम्बन्धित निकायले सोच्नु पर्ने देखिन्छ । 

भौगोलिक विकटता भित्र वरदान पाएको यस क्षेत्र सम्म सडक बाटोको मात्रै स्तरोन्नति गरिदिने हो भने अहिलेको भन्दा दोब्बरले पर्यटकहरू भित्रिन्छन् । 

तीनै तहका सरकारले यस क्षेत्रको व्यवस्थापन र विकासका लागि कटिबद्ध हुने हो भने रामाराेशनमा विश्वभरि बाट पर्यटकको ओइरो लाग्ने देखिन्छ । 

रामारोशन निकै सुन्दर छ । गुमनाम स्वर्ग । केही व्यवस्थापन गर्नुपर्छ । जस्तो – होटेल, सुरक्षा व्यवस्था ,सुरक्षित पैदल मार्ग,गाइड लगायत….


रामारोसन ताल अन्तर्गतका बाह्र वण्डहरु
१) जिगाले रोशन                              ७) माथिल्लो धउने

२) बाटुल्ला रोशन                             ८) गाग्रे ताल

३) लामीदह रोशन                            ९) डाैठेखाल ताल (बाउलेगडा)

४) लिस्से डाली रोशन                       १०) दल्याना

५) ताउले ताल रोशन                        ११) रामे ताल

६) तल्लो धउने                                  १२) गेराह ताल

रामारोसन ताल अन्तर्गतका अठार खण्डहरू
१) किनिमिनी खण्ड                         ११) बागफल गोरेकोट खण्ड

२) रोसन टाउका खण्ड                    १२) ददाडी पिनालेखी खण्ड

३) राेसन जिगाले खण्ड                     १३) सालिमकोट कागे बर्जु खण्ड

४) राेसन बागफाल खण्ड                  १४) चिर्किट खालापोखडर खण्ड

५) रामे रोशन खण्ड                          १५) नेटाकोट साकोट खण्ड

६) दल्यान रामे खण्ड                        १६) रामे रगाडे खण्ड

७) पातल दल्यान खण्ड                     १७) किनिमिनी सुन्दरे खण्ड

८) गेराह जैदेखोला खण्ड                   १८) पिनालेखी टोडके खण्ड

९) जिउने पातल खण्ड

१०) चिल्फु गाग्रा खण्ड

रामारोशन क्षेत्रमा रहेका प्रमुख मैदानहरू
१) रोशन मैदान                                  ६) दनाडी मैदान

२) किनिमिनी मैदान                           ७) भिउमोरा मैदान

३) रामै मैदान                                      ८) चिल्फु मैदान

४) रंगाडे मैदान                                   ९) गादो पाड्ने मैदान

५) सुइडेनी गडा मैदान

रामारोशनमा पाइने अमूल्य ढुङ्गाहरू
१. काइनेटिक (हरियो र निलो)          ४. सेतो चिल्की                  ७. चुनढुंगा

२. कालो चिल्की                              ५. कालो ग्रिफ पत्थर

३. गेरु                                              ६. तोरे (नुनिलो)

रामारोशन क्षेत्रमा पाइने जडिबुटीहरु
रामारोशन क्षेत्रमा क्यान्सर रोगको औषधी बन्ने लौठ सल्ला प्रशस्त पाइनुका साथै सयौं थरीका महत्वपुर्ण तथा मुल्यवान जडिबुटीहरु पाइन्छन् । तल्लो समथर भागदेखि चाकाडाँडा सम्म विभिन्न जडिबुटीहरु त्यहाँ पाइन्छन् । जस मध्ये केही जडिबुटीहरु निम्नानुसार छन् ।

१) लौठ सल्ला (ठुलो रुख)  २) कुरिल्लो  ३) सतुवा  ४) सुगन्धवाल  ५) दालचिनी

६) कटुकी  ७) हत्तजडी  ८) पदमचाल्नु  ९) अत्तिसी  १०) बायोजडी

११) पुर्नयो  १२) सेलपहाडी १३)  मजिठो  १४) मयाजडी  १५) तितो 

१६) हातपसारो  १७) पाँचऔले १८)  निर्बिसी  १९) सिलाजित २०) बाँजखोटो

२१) छतारे २२) गनेजडो २३) बीसमारो २४) बजो २५) बड्डेमुलो

२६) बुजो २७) बिख २८) गदाल्नु